© २०२३
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ ड्राइभरटोलकी ३६ बर्षिया पुष्पा टण्डनको रहस्यमय मृत्यु प्रकरणले अहिले तिलोत्तमामात्रै होइन आम नेपालीको गंभीर ध्यानाकर्षण भएको छ । हरेक बर्ष तिलोत्तमामा महिलाहरूको रहस्यमय मृत्यु र हत्याका घटना सार्वजनिक भैरहेका छन । यस प्रकारका घटनाले महिलाहरू असुरक्षित छन भन्ने पुष्टी गरेको छ ।
पुष्पा रूपन्देहीको रुद्रपुर जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएपछि सत्यतथ्य खोज्न परिवारजनले माग गरेका छन् । यस प्रकारको मृत्यु प्रकरण र हत्याका समाचार सुन्दा अप्रिय र पत्याउनै गाह्रो पर्छ तर यस्ता कर्तुत गर्नेहरू कति निडर होलान ? या उनीहरूमा मानवीय समवदेना छैन होला ? निश्चितरूपमा यी प्रश्नहरू अहिले सवैको मनमा उत्पन्न भएको छ । पुष्पाको हत्या हो वा आत्महत्या भन्नेबारे प्रष्ट भइसकेको छैन । छिमेकी महिलाहरू उनको हत्या हुनुपर्ने उनको त्यस्तो स्वभाव नै नरहेको सुनाउँछन । अर्कोतर्फ उनले आफै आत्महत्या गरेको कुरामा कसैले विश्वास नै गर्ने अवस्था छैन । घटनापछि घरपरिवार तथा छिमेकी आन्दोलित भएका छन् । पुष्पाको घरमा संगै बस्दै आएकी मृतक टण्डनकी भतिजी रन्जना टण्डनले छिमेकी रन्जीत भुसाललाई फुपू दिदी पुष्पाले पैसा सापटी दिएकै कारण उनको ज्यान गएको दाबी गरेकी छिन । भुसालले पैसा सापटी लिएर बेवास्ता गरेको तर उनकी श्रीमतीले आफ्नो श्रीमान्सँग अनैतिक सम्बन्ध राखेको भन्दै झगडा गर्दै आएको अवस्थामा यो घटना सुनियोजित छ भन्ने बिषयमा कुनै शंका रहेन ।
रन्जनाका अनुसार एक बर्षअघि टण्डनले १७ लाख रूपौयाँ रन्जीतलाई सापटी दिएकी थिइन । रन्जीतले उक्त रकम फर्काएका थिएनन् । रन्जीतकी श्रीमती लक्ष्मी भुसाल (पोखरेल) ले मृतक टण्डन आफ्नो श्रीमान्संग अनैतिक सम्बन्धमा रहेको भनी केही दिनदेखि पुष्पालाई तनाव दिंदै आएको रन्जनाको अभिव्यक्तिले पैसाकै कारण पुष्पाको हत्या भएको हुनसक्ने प्रबल संभावना छ । लक्ष्मी भुसालले पटक पटक ज्यान मार्ने धम्की दिनुका पछिको कारण के हो ? यसको पनि निष्पक्ष छानवीन जरूरी छ । पुष्पाका श्रीमान् केशव कार्कीेले मंगलबार प्रहरी समक्ष किटानी जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा चारजनालाई पक्राउ गरेको छ । जेहोस प्रहरीले घटनाको निष्पक्ष छानबीन गरि सत्यतथ्य छिटो सार्वजनिक गरोस् । तिलोत्तमामै यस प्रकारका घटना दोहोरिनुले आम तिलोत्तमाबासी महिलाहरूलाई निकै चिन्ता थपेको छ । महिलाहरूले घटनाको छानबिन गर्न माग गर्दै प्रत्येक दिनजसो प्रदर्शन गरिरहेका छन । महिलामाथि मात्र यस प्रकारका जघन्य घटना भैरहनु २१ औं शताब्दीको विश्व समाजका लागि राम्रो बिषय होइन । महिलामाथिका यस प्रकारका त्रासदीका घटना छँदैछन, त्यसमाथि बलात्कार र अपहरणका घटना धेरै बढेका छन् । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरी जन्माएको निहुँमा, आफ्नो श्रीमानद्वारा बहुविवाह गरी यातना दिनेलगायत बोक्सीको नाउँमा महिलालाई थप प्रताडित गर्ने काम समाजका अगुवा भनाउँदाहरूबाट नै हुने गरेको पाइएको छ । महिलामाथि हुने यस प्रकारका श्रृंखलाबद्ध घटनाप्रति नागरिक समाजको चासो पुग्नु जरूरी छ ।
पुष्पा मृत्यु प्रकरणमा स्थानीय जनताले घटनाको छिटो छानबिन गरी दोषीलाई कडा कारवाही गर्न दबाब दिने सवालमा ढिलासुस्ती गर्नु हुँदैन । किनभने प्रहरीले सुरूमा जाहेरी लिन समेत नमानेको अवस्थामा कतै यो प्रकरणलाई सामसुम पार्ने प्रयास पनि हुनसक्छ । तसर्थ जसरी अहिले दिनहँु महिलाहरूले दवावमूलक प्रदर्शन गरिरहेका छन, त्यसले निरन्तरता पाउनुपर्दछ । कुनैपनि नाममा पुष्पा मृत्यु प्रकरणको छानबिनलाई बंग्याउने वा नजरअन्दाज गर्ने प्रयास किमांर्थ हुनुहुँदैन । पुष्पामात्र होइन, तिलोत्तमामा यसअघि भएका घटनामा ज्यान गुमाएका सवै हाम्रै चेलीबेटी हुन । तसर्थ यो घटनाको सत्यतथ्य छिटो सार्वजनिक होस् । मृत्यु, हत्या वा हिंसाका घटनाले आम नागरिकलाई बिक्षिप्त तुल्याउनु स्वाभाविक हो । तसर्थ पुष्पा मृत्यु प्रकरण सवैलाई बिझ्नुपर्दछ । घटनाको वास्तविकता बाहिर ल्याउन सवैको दबाब र जोडबल आवश्यक छ । घटनाका पछि जो कसैको हात भएपनि कानुनी कठघरामा उभ्याउनै पर्दछ । यसमा प्रहरी प्रशासनको भूमिका महŒवपूर्ण हुन्छ । यो घटनाको वास्तविकता छिटो सार्वजनिक गर्नेतर्फ प्रहरी प्रशासनको ध्यानाकर्षण होस् ।