© २०२३
सल्यान, १९ साउन ।
विद्यालय सुधार र शैक्षिक गुणस्तर वृद्धिका लागि सल्यानमा समीक्षासँगै आगामी योजनाका बारे छलफल गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा शिक्षा क्षेत्र सुधारका लागि बृहत छलफल, अन्तत्र्रिmया र योजना प्रस्तुत भएको हो ।
चालु आर्थिक वर्षको पहिलो प्रधानाध्यापक बैठकमा छत्रेश्वरी गाउँपालिकाको सातवटै वडामा रहेका विद्यालयको अवस्था र सञ्चालन भएका शैक्षिक गतिविधिको बारे शुक्रबार प्रस्तुतीकरण गरिएको शिक्षा शाखाले जानकारी दिएको छ । सामुदायिक र संस्थागत गरेर हाल ४३ वटा विद्यालय संचालनमा रहेको छत्रेश्वरीमा सबै विद्यालयले “विद्यालय सुधार र विकास योजना” निर्माण गरेर गुणस्तर वृद्धिका लागि अघि बढेको शिक्षा शाखा प्रमुख केशर बहादुर वलीले जानकारी दिए । धेरै जसो विद्यालयले योजना बनाइसकेको र बाँकी विद्यालयलाई एक हप्ता भित्र योजना बनाउन गाउँपालिकाले निर्देशन दिएको छ ।
बैठकमा सम्बन्धित वडाका नेतृत्वकर्ता विद्यालयले आ–आफ्नो वडामा रहेका विद्यालयका शैक्षिक गतिविधिबारे अवगत गराएका थिए । वडा नम्बर १ को तर्फबाट भानुभक्त मावि दमाचौरका प्रधानाध्यापक खुमानन्द केसी, वडा नम्बर २ को तर्फबाट जनता मावि बुरासेका प्रधानाध्यापक लालसिंह वलीले प्रस्तुतीकरण गर्दै विगतको तुलनामा सिकाइ उपलब्धि वृद्धि भैरहेको पाइएको र एक शिक्षक एक ल्यापटपको व्यवस्थापनसंगै शिक्षकलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन कार्यक्रम संचालनको योजना सुनाएका थिए ।
यस्तै वडा नम्बर ३ को तर्फबाट जानकी मावि दोहलीका प्रधानाध्यापक उत्तर कुमार केसी, वडा नम्बर ४ को तर्फबाट कृष्ण मावि पोखरीडांडाका प्रधानाध्यापक युवराज केसी, वडा नम्बर ५ को तर्फबाट त्रिभुवन जन मावि लेखचोरपानीका प्रधानाध्यापक घनश्याम वली, ६ को तर्फबाट शारदा मावि शंखमुलका प्रधानाध्यापक जित बहादुर भण्डारी र ७ को तर्फबाट नवदुर्गा मावि जिताथानका प्रधानाध्यापक कमल बस्नेतले विद्यालयका शैक्षिक गतिविधि प्रस्तुत गरेका थिए ।
प्रअहरुले प्रस्तुत गरेको गतिविधि अनुसार कतिपय विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा रहेको पाइएको छ भने विद्यालयहरुले शैक्षिक अवस्था सुधारका लागि नियमित रुपमा शिक्षक–कर्मचारी बैठक बस्ने गरेको छ । पालिका प्रमुख तथा शिक्षा शाखाले विद्यार्थी अभिभावक संग प्रत्यक्ष साक्षात्कार गर्नुपर्ने सुझाव बैठकमा दिइएको थियो । कतिपय बिद्यालयमा पालैपालो शिक्षकहरुले विद्यालयका गतिविधिका बारे साप्ताहिक प्रतिवेदन तयार गरी हरेक शुक्रबार पेश गर्ने कामको सुरुवात गरेका छन् भने केही विद्यालयमा शिक्षकको नियमितताको लागि लगबुक भर्ने गरिएको बैठकमा प्रधानाध्यापकहरुले अवगत गराए । हरेक शिक्षक कक्षा कोठामा कतिबजे आएको र कुन समयमा गएको भनेर विद्यार्थीले नै लगबुक भर्ने गरेका छन् ।
बैठकमा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले विद्यालय शिक्षाको व्यवस्थापनमा प्रधानाध्यापकको महत्वपूर्ण भूमिका हुने बताए । शिक्षा क्षेत्र अति संवेदनशील रहेको भन्दै उनले यो क्षेत्रको सुधार र विकासको लागि शिक्षक, अभिभावक तथा सरोकारवाला पक्षसंग हातेमालो गर्दै अघि बढ्ने बताए । यस्तै प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले प्रधानाध्यापक कुशल र असल प्रशासक बन्नुपर्नेमा जोड दिदै शैक्षिक गुणस्तर अभिवृद्धि हुने कृयाकलापमा केन्द्रित रही कार्यक्रम निर्माण गर्नुपर्ने बताए । बैठकमा ३९ वटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको गाउँपालिकाका शिक्षा प्रास शिवसिंह पुनले जानकारी दिए ।