© २०२३
‘स्थानीय सरकारसँग विद्यार्थी’ कार्यक्रम अन्तर्गत वडा कार्यालयमा पुगेर कानून समूहका विद्यार्थीले कर्मचारी र सेवाग्राहीसँग सिक्ने सिकाउँने अभ्यास गरिरहेका छन् । विद्यार्थीलाई कानूनको व्यवहारिक ज्ञान, अनुभव दिन र समाजसँग चिनाउने उद्देश्यले पाँच बर्षदेखि विद्यालयले यो कार्यक्रम गर्दै आएको छ ।
ममता अधिकारी पाल्पाको माथागढी गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा हप्तादिनदेखि कर्मचारी र सेवाग्राहीसँगै छिन् । वडाले दिने सेवावारे सरकार र जनताको कुरा बुझ्ने र सहयोग गर्न उनी त्यहाँ पुगेकी हुन् । हप्तादिनको अनुभवमा उनले पढाई र गराईमा निकै भिन्नता पाएको बताइन ।
सन्तोषचन्द बरुण पनि रुपन्देहीको मर्चवारी गाउँपालिकाका वडा नं. १ को वडा कार्यालयमा भेटिन्छन् । वडा कार्यालयमा हप्तादिन रहदा स्थानीय सरकारको सेवा प्रवाहको बारेमा जानकारी मिलेको उनले बताए ।
ममता र सन्तोष मात्रै होइन सेजल खड्का क्षेत्री पनि रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नं. ४ मा पढाईलाई अभ्यासमा ढाल्दैछिन् (हेर्नुस् तस्वीर) । उनीजस्तै कालिका मानवज्ञान माध्यमिक विद्यालय, बुटवलको कक्षा १२ का ११५ जना विद्यार्थीहरु अहिले ‘स्थानीय सरकारसँग विद्यार्थी’ कार्यक्रम अन्तर्गत वडा कार्यालयमा पुगेर कानून समुहको कक्षा १२ मा पढ्ने विद्यार्थीले सिक्दै सिकाउँदै गरिरहेका छन् । विद्यार्थीलाई कानूनको व्यवहारिक ज्ञान र अनुभव दिलाउने उद्देश्यले पाँच बर्षदेखि विद्यालयले यो फरक खालको कार्यक्रम गर्दै आएको छ ।
विद्यालयका अनुसार अहिले रुपन्देहीको बुटवल उपमहानगरपालिकाको १ देखि १४ वटा, तिलोत्तमा नगरपालिकाको १ देखि १२ वडा, देवदहको तीन वटा वडाहरु, त्यसैगरी ओमसतिया, सैनामैना, गैडहवा, मायादेवी, मर्चवारी र लुम्बिनी साँस्कृतिक नगरपालिकामा विद्यार्थीहरु पुगेका छन् । त्यसैगरी नवलपरासी पश्चिमको सुनवल, बर्दघाट, पालिनन्दन पूर्वी नवलपरासीको हुप्सेकोट, पाल्पाको तानसेन, बगनासकाली, पूर्वखोला, माथागढी गुल्मीको चन्द्रकोट, धुर्कोट, अर्घाखाँचीको शितगंगा, भूमिकास्थान, सन्धिखर्क, पाणिनी, छत्रदेव, कपिलवस्तुको सुद्धोधन, कपिलवस्तु नगरपालिका र वडासम्म पुगेका छन् । त्यसैगरी प्यूठान, सुर्खेत, कैलाली, बाँके लगायतका जिल्लाका केही स्थानीय तहसम्म पुगि विद्यार्थीले काम गरिरहेका छन् ।
कालिकाले सरकारले के सेवा दिन्छ ? कसरी सेवा दिन्छ ? भन्ने बिषयमा अनुभव लिनका लागि विद्यार्थीलाई सरकारसँग पठाउने गरेको हो । वडा कार्यालयमा दुई हप्तासम्म उनीहरुले वडा कार्यालयको सेवा प्रवाह, लिखत तयार गर्ने तरिका, मेलमिलाप समितिले गर्ने काम, योजना तर्जुमा लगायतको बिषयमा सँगसँगै काम गर्ने गर्दछन् । यसलाई विद्यालयले व्यवहारिक कानूनी अभ्यास भनेर भन्ने गरेको छ ।
विद्यालयले दुई हप्ता वडा कार्यालय, प्रहरीसँग विद्यार्थी कार्यक्रममा नेपाल प्रहरीसँग एक हप्ता, प्रकृतिसँग विद्यार्थी कार्यक्रममा सामुदायिक वनसँग २ दिन र समुदायसँग भन्ने अर्को फिल्डमा एक दिन क्लबसँग, १ दिन आमा समुहसँग र एक दिन विद्यालयसँग काम गर्ने गर्दछन् । लैगिंक हिंसा विरुद्दको १६ दिने अभियानको समयमा विद्यालयमा पुगेर लैगिंक हिंसाको सचेतना दिने गर्दछन् ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयमा २०७३ सालदेखि कक्षा ११ र १२ मा कानून समुहको पठन पाठन हुदै आएको छ । विद्यालयको कक्षा १२ मा ११५ जना अध्ययनरत छन् भने कक्षा ११ एक सय विद्यार्थी छन् । विद्यालयमा लुम्बिनी प्रदेशका साथै हुम्ला, जुम्ला, कालिकोट, बझाङ, बाजुरा, धनुषा, कैलाली लगायत ४० भन्दा बढी जिल्लाका विद्यार्थी अध्ययनरत रहेको विद्यालयको कानून समुहका संयोजक युवराज कंडेलले जानकारी दिए । संयोजक कंडेलका अनुसार विद्यालयका अनुसार कानून समुहको कक्षा १२ मा विभिन्न फिल्ड कार्यका लागि ५० नम्बर छुट्टाइएको छ । त्यसबापत विद्यार्थीहरु स्थानीय सरकार, प्रहरी, वन कार्यालय, क्लब, आमा समुह र विद्यालयसम्म पुग्नु पर्दछ ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले स्थानीय सरकार र समुदायसम्म विद्यार्थीलाई पठाएर सिकाउँदा सिकाइ सैद्धान्तिक भन्दा बढी प्रभावकारी भएको पाएको अनुभव सुनाए । उनले फिल्ड कार्यबाट विद्यार्थीमा कानूनी पक्षको कार्यान्वयन र सामाजिक पक्षको सिकाइ गरी मुख्य दुई वटा पक्षमा सिकाइ भएको उनले बताए । उनका अनुसार विद्यालयले कानून समुहमा अध्ययरत कक्षा ११ र कक्षा १२ का विद्यार्थीलाई अभिमुखीकरण गरि फिल्ड कार्यमा पठाउने गरेको छ । कालिका मानवज्ञानका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले शुरुका बर्षदेखि नै विद्यालयले कानून बिषयमा प्रयोगात्मक पक्षलाई जोड दिएको बताए । यसले एकातिर विद्यार्थीको व्यवहारिक सीप लिनमा सहयोग पुगेको र अर्कोतिर कालिकाको कानून समुहतर्फ विद्यार्थीको चाप बढिरहेको उनले बताए ।
तिलोत्तमा नगरपालिका वडा २ का वडाअध्यक्ष दधिराम गौतमले कालिकाकाबाट ५ जना विद्यार्थी कार्यालयमा आएको जानकारी दिए । उनका अनुसार विद्यार्थीले लेखापढी, कानूनी, नागरिकताको फारम भरिदिने, निवेदनहरु लेखिदिने, सहजीकरण गरिदिने काम गरिरहेका छन् । ‘पढेर पनि निवेदन लेख्न नसक्ने अवस्थाका विद्यार्थीहरु देखेको छु,’ उनले भने–‘मैले यसबाट व्यावहारिक ज्ञान पाइरहेको ठानेको छु ।‘ विद्यार्थीकालको यो अभ्यासले विद्यार्थीलाई पछि जागिरमा जाँदा वा आफैले काम गर्दा आत्मबल बढ्ने उनले बताए ।