© २०२३
‘दुई सन्तान ईश्वरका वरदान’ नाराको जमानामा ठाइँलो सन्तान न जन्मिन्छन अहिले न त ठाइँला दाइ जस्ता सोझा, ईमान्दार, सहयोगी र मिहिनेती मान्छे नै भेटिन्छन् । त्यसैले रुरुक्षेत्र गाउँपालिका ग्वादीका केटाकेटीदेखि बुढापाकाहरु भन्छन कहाँ पाई ‘ठाइँला दाइ’।
000
‘यो जमाना भए जन्मन कहाँ पाउनु, त्यो जमाना थियो र जन्मिएँ ।’
आठ भाइ मध्येका छैठौं भाइ अर्थात ठाइँला भाइ प्रेमनिधि ज्ञवालीले भने अहिले संसार देखेको छु सबैको माया पाएको छु ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. २ ग्वादीका प्रेमनिधी ज्ञवाली उमेरले ६४ बर्ष पुगे तरपनि उनको जोश, जाँगर र खटाइ पटाइ तन्नेरीको भन्दा कम छैन । उनले जाँगर छाडे ग्वादी गाउँका बासिन्दाले पानी खान पाउँदैनन् । गाउँमा मर्दापर्दा हुने सहयोगमा एक हिस्सा कमी हुन्छ । कसैको घरमा अप्ठ्यारो पर्दा हाजिर हुने उनको बानीले उनीसँग गाउँ हाँस्छ, नाँच्छ अनि दुःख पर्दा रुन्छ पनि ।
र उनलाई बोली फुट्नेदेखि गाउँभरिका व्यक्तिले ‘ठाइँला दाइ’ भनि चिन्छन अनि बोलाउँछन् ।
त्यो ‘ठाइँला दाइ’ भन्ने शब्दमा बाजे, बा, दाई, भाई सबै नाता सम्बन्ध जोडिन्छ अनि गाउँघरको माया–ममता ।
उनलाई ठाइँला दाइ भनेर बोलाउँदा न त उनले अप्ठ्यारो मान्छन न त बोलाउनेहरुले नै । ठाइँला दाइ सम्बोधनले गर्दा गाउँका धेरैजसोलाई त उनको नाम प्रेमनिधी ज्ञवाली हो भन्ने जानकारी नै छैन ।
प्रेमनिधी बुवा होमनाथ ज्ञवाली र आमा पूर्णकला ज्ञवालीका ठाइँला छोरा हुन् । पूर्णकला होमनाथकी कान्छी श्रीमती हुन् । उनीबाट ५ छोरा र ५ छोरी जन्मेका हुन भने जेठी आमा देवीकला ज्ञवालीको तर्फबाट तीन छोरा र एक छोरी छन् । ती सबै गर्दा होमनाथका आठ भाइ र छ बहिनी गरी १४ सन्तान हुन ।
भाइहरुतर्फ जेठा दामोदर ज्ञवाली, माइला गोविन्द ज्ञवाली, साइला बालगोविन्द ज्ञवाली, काइँला कृष्ण ज्ञवाली, राइला रुकमाङ्गत ज्ञवाली, ठाइँला प्रेमनिधी ज्ञवाली, कान्छा रामचन्द्र ज्ञवाली र कान्छा लक्ष्मण ज्ञवाली हुन् । त्यसमध्ये गोविन्द, कृष्ण र लक्ष्मण जेठीतर्फका हुन भने अरु कान्छीतर्फका सन्तान हुन् । आठ भाइमध्ये गोविन्द, रुकमाङ्गत र रामचन्द्र ज्ञवालीको मृत्यु भइसकेको छ । जेठा दामोदर ज्ञवालीको बुटवल झरेर भाईहरुको रेखदेख गरेपछि अरु सबै भाइहरुको बसाई बुटवलतर्फ छ ।
छ बहिनी छोरीहरुतर्फ जेठी राधा, माइली कमला, साइली लक्ष्मी, काइली हरिकला, राइली लक्ष्मी र कान्छी दिवा ज्ञवाली हुन् । दिदीबहिनीमध्ये एक बहिनी जेठीतर्फकी हुन भने पाँच बहिनी कान्छितर्फका हुन् ।
ठाइँला दाईको बाबा होमनाथ ज्ञवालीसम्म १४ सन्तान भएकोमा उनीसम्म आउँदा ४ सन्तानमा झरेको छ भने उनको छोराछोरीको पुस्तामा पुग्दा बढीमा तीन र कममा एक सन्तानसम्म झरेको छ । ठाइँला दाइको दुई छोरा र दुई छोरी हुन् । जेठा छोरा दिवाकर ज्ञवालीका दुई छोरा, कान्छा छोरा महेन्द्र ज्ञवालीका एक छोरी, जेठी छोरी सरिताको दुइ छोरी, एक छोरा र कान्छी छोरी यमुनाको एक छोरा एक छोरी जन्मिइसकेका छन् ।
ग्वादी गाउँका एक सय घरपरिवारले बम्घाको पानी खानेपानीको रुपमा प्रयोग गर्ने गर्दछन् । उक्त पानीको रेखदेख गर्ने काम २३ बर्षदेखि ठाइँला दाइले नै गर्दै आएका छन् । त्यसबापत उनको पारिश्रमिक चार हजार रहेको छ । त्यसअघि उक्त पानी १५० घरपरिवारले पानी खाँदै आएका थिए । २३ बर्षअघि मासिक ५ रुपियाँ तिर्दै आएका घरले अहिले ४० रुपियाँ तिर्ने गरेका छन् । त्यतिबेला उनको मासिक पारिश्रमिक ७५० रहेको थियो । पारिश्रमिक भन्दापनि सामाजिक काम भएको हुँदा जिम्मेवारी लिएको उनको भनाइ छ ।
ठाइँला दाइ सात बर्षदेखि गाउँको घरमा एक्लै बस्दै आएका छन् । छोराहरुको परिवार बुटवलमा बस्दै आएका छन् । उता (बुटवल) गएर नि के गर्नु मलाई यतै रमाईलो छ ठाइँला दाइ भन्छन्, यही (ग्वादी) को जस्तो समाज, हावापानी र खानपान त्यहाँ कहाँ पाउनु ।
गाउँमा रहेका भएपनि ठाइँला दाइको घरमा शहरको भन्दा कम सुबिधा छैन । उनी बस्नका लागि आफ्नै छोराहरु मात्रै होइन दाइ भाइ र भतिजहरुको पहलमा ग्वादीमा सुबिधासम्पन्न घर बनेको छ । ग्याँसबाट खाना पाक्छ, चर्पी घरभित्रै छ, वाईफाई जोडिएको छ, दैलोमै खानेपानीको धारा झर्छ । दुहुनो भैसी छ, कराहीभरी दुध हुन्छ ।
चाडपर्व र बिदाका दिनमा भने उनको घर पनि भरिन्छ ।
छोरा छोरीमात्रै होइन दाजुभाइ र भतिजा भतिजीहरु छुट्टी मनाउन ग्वादीको घरमा पुग्छन । ठाइँला दाइलाई रमाईलो गराई नियास्रोको रिचार्ज गर्छन अनि फर्कन्छन् ।
कामबाटै पसिना बगाउने गरेका ठाइँला दाईमा स्वास्थ्यको कुनै समस्या छैन् । त्यसैले उनले अस्पतालको औषधी कहिल्यै खाएनन् र खाँदैनन् । खाली बस्दिनँ, काम गर्छु, पसिना बगाउँछु अरुले के के भयो भनेर भन्छन् मकै भटमास झै औषधी खान्छन तर मैले अहिलेसम्म खान परेको छैन, ठाइँला दाइले हाँस्दै थपे ।
दुई सन्तान ईश्वरका वरदान नाराको जमानामा ठाइँलो सन्तान न जन्मिन्छन अहिले न त ठाइँला दाइ जस्ता सोझा, ईमान्दार, सहयोगी र मिहिनेती मान्छे नै भेटिन्छन् । त्यसैले होला रुरुक्षेत्र गाउँपालिका ग्वादीका केटाकेटीदेखि बुढापाकाहरु भन्छन कहाँ पाई ‘ठाइँला दाइ ।’