© २०२३
आवश्यक भौतिक पूर्वाधारहरू नभएपनि बाक्ला वस्तीहरूलाई नगरपालिका घोषणा गर्ने लहर पछिल्ला समयमा चलेकोले नेपालमा शहरी क्षेत्रको संख्या ह्वात्तै बढेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा २९३ वटा नगरपालिकाहरूमा देशको ६३.१९ प्रतिशत जनसंख्या बसोबास गरेको छ । जनसंख्याकै कुरा गर्दा अहिले नेपालको नगरपालिकामा बस्ने जनसंख्या एसियाको शहरी जनसंख्या (४६%) भन्दा धेरै अर्थात चीनको शहरी जनसंख्या (६३.५६%) कै हाराहारीमा पुगेको छ । भौतिक श्रोतसाधन नभएको क्षेत्रलाई नगरपालिकाहरू घोषणा गर्ने र योजनाविहिन ढंगले वस्तीहरू निर्माण हुदै शहर बन्ने काम नेपालमा भैरहेकोले नेपालका शहरहरू अव्यवस्थित कंक्रिटको जंगलमा परिणत भैरहेका छन् । नेपालका साना ठूला कुनैपनि शहरहरू योजनावद्ध नगर हैनन् । घरहरू भरिदै जाँदा वस्तीहरू बाक्लिएर बनेका क्षेत्रहरू नै अहिलेका शहरहरू भएकोले नेपालमा शहरीकरण निकै अव्यवस्थित किसिमको छ । अव्यवस्थित शहरीकरणको चपेटामा परेर खेतीयोग्य जमिन मात्र विनास भएको छैन, शहर भित्रका खुल्ला ठाउँ, खोला, नदी तालतलैया र नहर÷कुलोका डिलहरू समेत हराएका छन् । खुला ठाउँ नराखी घर बनाउने र सार्वजनिक जमिनहरू मास्ने प्रवृति शहरमा बढ्दै गएकोले शहरमा बोट विरुवाहरूको संख्या निरन्तर घटिरहेको मात्र छैन सडक निर्माण र विद्युतीकरणले गर्दा शहरको हरियाली लोप भैरहेको छ । शहरहरूमा रुख विरुवाहरू मासिदै जाँदा शहरी सुन्दरतामा ह्रास आएको मात्र छैन पर्यावरणीय असन्तुलन समेत सिर्जना भएको देखिन्छ । शहरी वायु प्रदुषणमा वृद्धि, भूमिगत जल संचितीमा कमी , शहरी पशुपालकलाई घाँसको अभाव जस्ता समस्याहरू प्रत्यक्ष रूपमा देखिएका छन् । शहरमा पुराना रुखहरू मासिने र नयाँ रुखहरू हुर्काउन कसैले चासो नदिँदा चरा चुरुङ्गीहरूको वासस्थान विनास हुदै जाँदा शहरमा चराहरूको चिरविर सुनिन छोडेको छ । शहरमा शितलता र सुन्दरता प्रदान गरिरहेका चौपारीहरू नासिदै जाँदा धार्मिक र साँस्कृतिक परम्परा जोगाउन समस्या भैरहेको छ । शहरमा रुख विरुवाहरू हराउँदै जाँदा वन पैदावारको लागि शहर छेउछाउका वनहरूमा अत्यधिक चाप बढेको छ । देशको शहरीकरण प्रक्रियामा यस्ता समस्याहरू देखिएकोले शहरहरू अस्वस्थ र कुरूप बन्दै गएका छन् ।
अहिले विश्वभरी शहरहरूमा देखिएको हरियाली अभाव हटाउन र शहरहरूलाई सुन्दर, स्वच्छ र जीवित राख्नको लागि शहरी वन विकासलाई मुख्य उपाय मान्ने गरिन्छ । विश्वमा १५ औं शताब्दीतिरै ग्रीक, इजिप्ट, चीन, पर्सिया, रोम जस्ता ठाउँका शहरमा राजा–महाराजाले शहरी बगैंचा निर्माण गरिसकेका थिए । नेपालमा राणाहरूले विदेशको सिको गर्दै काठमाण्डौ उपत्यकाका केहि सडक छेउछाउ रुख रोप्नुका साथै विभिन्न ठाउँबाट विरुवा संकलन गर्न लगाएर आफ्नो दरवारमा बगैचाहरू बनाएको इतिहास पाइन्छ । राणा प्रधानमन्त्री जंगबहादुरले बाटो छेउछाउका रुख काट्नेलाई ४ रूपैया जरिवाना गर्ने कानुनी ब्यवस्था समेत गरेका थिए (मुलुकी ऐन, रुख काट्न्याको महल नं.२) । उपत्यकालाई हराभरा बनाउने केही योजनाहरू ल्याइएपनि शहरी हरियालीलाई संरक्षण र प्रवद्र्धन गर्ने कार्यक्रमहरू लामो समयसम्म आएको पाइदैन । नगरपालिकाहरूको फैलावटसंगै नेपालका विभिन्न भू–भागमा रहेका नगरपालिकाहरूले सडक छेउछाउ वृक्षारोपण गर्न शुरु गरेपनि शहरी हरियाली संरक्षण र उपयोगमा चासो दिएको देखिदैन् ।
शहरी वन विकासलाई नीतिगत रूपमै ब्यवस्थित ढंगले संचालन गर्नको लागि वन तथा भू–संरक्षण मन्त्रालयले चैत्र २०७२ मा शहरी वन विकास कार्यविधि निर्देशिका, २०७२ को मस्यौदा तयार गरेको थियो । यो निर्देशिकाले शहरी वनलाई निजी शहरी वन, सामूहिक शहरी वन, संस्थागत शहरी वन, स्थानिय निकायद्वारा व्यवस्थित शहरी वन गरी चार किसिमबाट बर्गीकरण गरेको थियो । यो निर्देशका अनुसार शहरी वन लगाउन शहरी क्षेत्रभित्र वा आसपासमा रहेको व्यक्ति वा सरकारी तथा गैरसरकारी कम्पनी वा संघ संस्थाको हकभोग भएको खाली जग्गा, सार्वजनिक खुला चौर, पर्ती जग्गा, नदी, खोलानालाको किनार, सडक किनारा, पोखरी तथा ताल तलैयाको किनार, सांस्कृतिक तथा धार्मिक क्षेत्र एवं खेल मैदान वरिपरि रहेको खाली जमिन उपयोग गर्न सकिने उल्लेख थियो ।
वन नीति २०७५ मा शहरी वन विकास र प्रवद्र्धनको लागि राज्यले सहयोग गर्ने कुरा उल्लेख छ । त्यसैगरी वन ऐन २०७६ को दफा ३८ तथा लुम्बिनी प्रदेशको वन ऐन २०७८ को दफा ७३ मा स्थानीय तहले आफ्नो क्षेत्र भित्रको शहरी क्षेत्र तथा वस्तीभित्र रहेका सार्वजनिक सडक तथा पार्क जस्ता स्थानहरूमा आफैले वा कुनै संघ सस्था वा नीजि क्षेत्रसंगको साझेदारीमा सहरी वनको विकास तथा व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ उपदफा २ मा स्थानीय क्षेत्रको हरियाली प्रवद्र्धन गर्ने अधिकार र जिम्मेवारी पालिकालाई प्रदान गरिएको छ । यी बाहेक संघीय सरकार र प्रदेश सरकारका नीति कार्यक्रम र वार्षिक बजेट बक्तव्यमा समेत शहरी हरियाली प्रवद्र्धन, सार्वजनिक जग्गामा वृक्षारोपण, सहर सौन्दर्यीकरण, सडक हरियाली लगायतका शिर्षकमा शहरी वनलाई प्रवद्र्धन गर्ने कार्यक्रमहरू आइरहेका छन् । हरियाली कम भएका पालिकामा हरियाली प्रवद्र्धन गर्नको लागि नेपाल सरकारले शहरी वन विकास कार्यक्रम सन्चालन कार्यविधि २०७७ ल्याएको छ । यो कार्यविधिले पालिकाहरूले नेपाल सरकारसंगको साझेदारीमा शहरी वन विकास गर्न चाहेमा नेपाल सरकारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने ब्यवस्था गरेको छ ।
अहिले धेरै शहरी क्षेत्रमा सडक किनारमा विरुवा हुर्काउने लहर चलेको भएपनि कुन ठाउँमा कस्तो रुख लगाउने भन्ने कुरामा ध्यान दिएको पाइदैन् । वन मन्त्रालयले हावापानी र भौगोलिक वनावटको आधारमा पहाडी शहरको लागि ८२ प्रजाति र तराईका लागि ५० प्रजातिका वनस्पतिहरू शहरी वनको लागि उपयुक्त हुने सिफारिस गरेको छ । शहरमा रुख हुर्काउँदा शहरी सुन्दरता र वातावरणीय स्वच्छताको रक्षा हुने र मानवीय आवश्यकता समेत परिपुर्तिमा सहयोग हुने खालका रुखहरूलाई प्राथमिकता दिनु आवश्यक छ । सडक किनारमा शोभा र शितलता दिने विरुवाहरू तथा चौर, पार्क, विद्यालय परिसर र अन्य सार्वजनिक स्थलमा फलफ्रूल र लामो समयसम्म टिक्ने सदावहार वनस्पतिहरू रोप्नु उचित मानिन्छ । शहरभित्र रहेका कुलो, नहरको डिल तथा नदी किनारमा काष्ठ प्रजातिका रुखहरू हुर्काउन सकेमा दिर्घकालीन हरियाली कायम हुनुको साथै घाँसपात र काठ दाउराको आपूर्तिलाई सहज बनाउन सकिन्छ । वनकै रूप दिनको लागि रुख रोप्ने स्थानको अभाव भएकाहरूले घरको छतमा गमलाका विरुवाहरू रोपेमा पनि शहरलाई हरियालीयुक्त बनाउन मद्दत पुग्छ । हरियाली मानव जीवनको आधार हो । अहिले शहरहरू कुरूप, प्रदुषित र अस्वस्थ देखिनुको एउटा प्रमुख कारण शहरमा बोटविरुवा कम हुनु हो । शहरहरू कंक्रिटको जंगल बनिरहँदा शहरी सुन्दरता र दैनिक जीवनमा समेत नकारात्मक असर परिरहेको छ । शहरलाई मानव बसोबासयोग्य बनाउने र शहरलाई जीवन दिनको लागि शहरमा हरियाली फर्काउनु आवश्यक भैसकेको छ । नयाँ शहरहरूमा अझै खाली स्थानहरू भएको शहरी वन विकास निर्देशिका अनुसार शहरी वन बनाउन सकिन्छ । पुराना शहरहरूमा शहरी वन बनाउन सम्भव नभएपनि सडक किनारा, व्यक्तिगत आवास क्षेत्र र सार्वजनिक स्थलहरूमा रुखहरू हुर्काएर शहरमा हरियाली ल्याउन सकिन्छ । शहरी पूर्वाधार निर्माण गर्दा अनिवार्य रूपमा हरित पेटी (ग्रिन बेल्ट) राख्नुपर्ने र घर निर्माण गर्दा घर अगाडी केही जमिन खुला छोडेर कम्तिमा दुईवटा विरुवा रोप्नु पर्ने व्यवस्था गर्ने र अहिले भैरहेका चौपारी र पुराना रुख विरुवाहरू जोगाउने कार्य गर्ने हो भने सबै शहरहरूलाई स्वच्छ र हराभरा राख्न सकिनेछ ।