© २०२३
बुटवल,१ साउन । लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव चेक बाउन्स भएपछि पक्राउ परेका छन् ।
पूर्व भूमि व्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका(१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए ।
बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए ।
पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएर भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेपछि जसपाले उनलाई कारबाही गरेको थियो । त्यसपछि गत निर्वाचनको बेला एमाले प्रवेश गरेर प्रदेश सभामा प्रतिस्पर्धा गरे पनि उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।