Butwal Today

एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २६ मंसिर ।

नेकपा एमालेको ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन समारोहमा तीन लाखभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने गरी तयारी भएको एमालेले जनाएको छ । भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले भने, “मञ्चस्थलमा तीन लाख बढी नेता तथा कार्यकर्ता आउनुहुनेछ । भक्तपुरबाट मात्र २० हजारभन्दा बढी सहभागिता हुने अपेक्षा छ ।”

एमालेले चौरमा १५ हजारको हाराहारीमा कुर्सी राख्ने योजना बनाएको छ । अध्यक्ष देउजाका अनुसार उद्घाटन प्रविधिमैत्री हुने र मञ्च निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उनले भने, “साँझसम्ममा मञ्च तयार हुन्छ ।”

एमाले पोलिटब्युरो सदस्य तथा मञ्च व्यवस्थापन संयोजक बिनोद श्रेष्ठका अनुसार उद्घाटनमा अहिलेसम्म १० वटा महाधिवेशन भएका कारण वरिपरि १० वटा झण्डा र बीचमा ११औँ महाधिवेशनको झण्डा राखिने तयारी भइरहेको छ । ११औँ झण्डाको झण्डोत्तोलनसँगै इलेक्ट्रिक दियो बालेर उद्घाटन गरिने योजना रहेको भए पनि यसबारे थप निर्णय आज बेलुकासम्म गरिने जानकारी उनले दिए ।

महाधिवेशनमा सर्वसाधारणको सवारीमा समस्या नहोस् भनेर पार्किङ व्यवस्थापन गरिएको छ । कार्यक्रममा आएका गाडीहरू जगते र राधेराधेमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

शनिबार बिहान ११ बजे उद्घाटनका लागि नेता तथा कार्यकर्ता सल्लाघारी पुग्नेछन् । दिउँसो ४ बजेभित्र उद्घाटन सत्रको सबै काम सम्पन्न गर्ने योजना एमालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?