Butwal Today

अवरुद्ध रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फीरुपमा सञ्चालनमा

१८ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

गुल्मी । पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ । जिल्लाको सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदो सहित ठूलो चट्टान खसेपछि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो ।

सडकमा ठूलो चट्टान खसेका कारण एक्साभेटर र ब्रेकरको सहायताले तत्कालका लागि उक्त चट्टानको केहीभाग फुटाए यातायात सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।

अवरुद्ध सडक सुचारु गर्न सडक डिभिजन कार्यालय र सत्यवती गाउँपालिकाले आज दिनभर निरन्तर प्रयास गरेका थिए । सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेका अनुसार पहिरो गएको स्थानमा जेसिभी र ब्रेकर परिचालन गरी चट्टान फुटालेपछि एकतर्फी रुपमा भए पनि सडक सुचारु गरिएको बताए ।

गुल्मीको रुद्रबेणी हुँदै बाग्लुङको बुर्तिवाङ जोड्ने उक्त सडक यस क्षेत्रको अति व्यस्त सडक अन्तर्गत पर्दछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?