Butwal Today

शान्ति सुरक्षा प्रभावकारी बनाऊ

१८ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

नेपालीको घर आँगनबाट दसैं विदा भैसकेको छ । दसैंको विदाईपछि तिहारको रौनक सुरु हुँदैछ । तर, जब चाडपर्व आउँछन, रूपन्देहीका विभिन्न स्थानमा चोरी, डकैती र लूटपाटका घटना बढेको सार्वजनिक भएका छन । यो हरेक बर्षको नियमितता जस्तै वनेको छ । दसैंको विदाई भैसकेको र दिपावलीको रौनक सुरु हुने तरखर भैरहेको बेला यस प्रकारका घटना पुनः दोहोरिने संभावना छ ।

चोरी तथा लुटपाटमा संलग्नहरूले यस्तै चाडपर्व र अनुकूल समयको सदुपयोग गर्दछन् । तसर्थ आम नागरिकले यो समयमा बढी होसियारी अपनाउनु जरुरी छ । दसैंको बेला रूपन्देहीका विभिन्न स्थानमा चोरी र लूटपाटका घटना भएका छन् । यस प्रकारका घटनाले स्थानीय बासिन्दालाई त्रसित बनाएको मात्रहोइन, घर छोडेर हिँडनुपनि अर्काे समस्या र अपराध हो भन्ने भान हुँदैछ । यसैगरी रूपन्ेदहीका साथै देशका विभिन्न स्थानमा हत्या, डकैती र लूटपाटका घटनामा बृद्धि भएको छ ।

पछिल्लोपटक देशका विभिन्न स्थानमा असुरक्षाको महसुस भैरहेको छ । रूपन्देहीको मर्चवारमा भएको महिला हत्याको घटनाले पीडित परिवारमाथि डूलो बज्रपात परेको छ । प्रहरी प्रशासनले जाहेरी लिनसमेत नमानेको पीडित परिवारले गुनासो गरेका छन् । यो घटनाले के देखाउँछ भने पहुँच नभएकाहरू प्रहरी प्रशासनको सेवाबाट समेत बञ्चित हुनुपर्ने अवस्था छ ।

राज्यका कुनैपनि निकाय प्रभावकारी हुन सकिरहेको छैन । त्यसमाथि देशका जुनकुनै स्थानमा पनि चोरी, लूटपाट र डकैतीका घटना भएको सुन्नमा आईरहेको छ । पटक पटक हुने यस प्रकारका घटनाले शान्ति सुरक्षामाथि पुनः प्रश्न उत्पन्न भएको छ । सरकारले सुरक्षा व्यवस्था प्रभावकारी वनाएको वताएपनि यो आपराधीक श्रृंखला बढिरहेको छ । यस्ता घटनाले राजधानीमात्र होइन बाहिरको सुरक्षा अवस्थापनि कमजोर रहेको प्रष्ट भएको छ ।

बालेन नेतृत्वको सरकारले देशको सुरक्षा व्यवस्था मजबुत रहेको दावी गर्दै आएको छ । प्रहरी प्रशासनले अपराधका जुनकुनै घटनामा संलग्न दोषी जो भएपनि पक्राउ गरि कारवाही गर्नुपर्दछ । यस्ता घटनाले निश्चित रूपमा प्रहरी प्रशासनमाथि चुनौति थपिने गर्दछ । आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन फेरिपनि प्रहरी प्रशासन गंभीर हुनु जरुरी छ । चोरी, लुटपाट, हत्या र हिंसाका घटना बढ्ने यस्तै समयमा हो । अतः दसैं र दिपावली जस्ता चाडपर्वको बेला प्रहरी प्रशासन बढी सचेत हुनु जरुरी छ । अर्कोतर्फ मुलुकमा राजनैतिक अस्थीरता छ ।

सरकार दुई तिहाईको भएपनि अस्थीर छ । आगामी दिनमा यस्ता आपराधीक प्रवृत्ति हावी हुन नदिन सरकारले ठोस रणनीति वनाउनु जरुरी छ । बेथिती बढ्दै गर्दा नेपाली जनताले धैर्य देखाएकै छन । यसको प्रशंसा गर्नैपर्दछ । तर जनताको यो धैर्यतालाई सरकारले कमजोरी ठान्ने कोसिस गर्नुहुँदैन । तसर्थ अव ढिलाई नगरि देशका विभिन्न स्थानमा भैरहेको यावत अपराधजन्य घटनाक्रमलाई नियन्त्रण गर्न जरुरी छ ।

सिमान्तकृत तथा पहुँच नभएकाहरू मारिँदापनि उनका परिवारले घटनाको सथ्यतथ्य जानकारी नपाउनु कस्तो बिडम्वना हो ? दोषी अपराधी कारवाहीको दायरामा आउनु त परेको कुरा, रहस्यमय मृत्युको छानबिनसम्म नहुनु गंभीर चिन्ताको बिषय हो । यसको फेहरिस्त लामो हुनसक्छ । निर्मला पन्त हत्यादेखि पछिल्लो रूपन्देरी मर्चवारको घटनाले पनि यही देखाएको छ । तसर्थ प्रहरी प्रशासनले नेपालीहरूको अर्को ठूलो चाड दिपावली नजिक आईसकेकोले शान्ति सुरक्षाको सवालमा सकृयता अझै बढोस् । दशैमा जस्तोगरी दिपावलीमा चोरी र लुटपाटका घटनाको पुनराबृत्ति नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?