© 2026
केही दिनअघि भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले एक कार्यक्रममा अब नेपालमा भारतविरोधी राष्ट्रवादको अन्त्य हुनुपर्ने आशय व्यक्त गरे । उनको यो अभिव्यक्तिले नेपाली राजनीतिमा ठूलै तरङ्ग पैदा ग¥यो । विशेषतः भारतविरोधी राष्ट्रवादलाई राजनीतिको भरपर्दो अस्त्र बनाएर आफ्नो राजनीतिक अस्तित्व जोगाउँदै आएका कतिपय व्यक्ति र समूहमा यसले अस्वाभाविक छटपटी पैदा ग¥यो ।
कसैले यसलाई राष्ट्रिय स्वाधीनतामाथिको प्रहारका रूपमा व्याख्या गरे त कसैले नेपाललाई भारतको प्रभावमा सुम्पिने पूर्वतयारीका रूपमा समेत चित्रण गरे । कतिपयले त देश नै भारतलाई बेचेर आउने भए भन्नेसम्मका टिप्पणी गर्न भ्याए । आखिर स्वर्णिम वाग्लेले त्यस्तो के भने, जसले यति धेरै राजनीतिक कम्पन पैदा ग¥यो ? के भारतसँग सहकार्य र सम्बन्ध सुधारको कुरा उठाउनु राष्ट्रघात हो ? अथवा दशकौँदेखि राजनीतिक लाभका लागि प्रयोग हुँदै आएको भारतविरोधी राष्ट्रवादको व्यापारमाथि प्रश्न उठ्नु नै कतिपयका लागि असह्य भएको हो ?
यस विषयलाई भावनात्मक उत्तेजनाबाट होइन, नेपालको राजनीतिक इतिहास, आफ्नै अनुभव र वर्तमान राष्ट्रिय आवश्यकताका आधारमा विश्लेषण गर्नु आवश्यक छ । म पनि केही समय आफ्नै व्यक्तिगत भ्रमणमा रहेकाले तत्काल यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्न सकिनँ । तर बहस अझै न सेलाएकाले यस सन्दर्भमा आफ्ना केही अनुभव र विचार प्रस्तुत गर्ने जमर्को गरेको छु ।
अर्थमन्त्रीको भनाईको तात्पर्य ?
वि.सं. २०४८ को निर्वाचनपछि बनेको सरकार र त्यसपछिको राजनीतिक वातावरण मेरो पुस्ताका मानिसले राम्रैसँग अनुभव गरेका छौँ । अझ अर्घाखाँची जिल्लामा हुर्किएका हामीले त्यस समयको राजनीतिक ताप अन्य कतिपय जिल्लाका मानिसले भन्दा नजिकबाट महसुस गर्ने अवसर पायौँ भन्ने लाग्छ । त्यतिबेला हाम्रो जिल्लामा महिनामा दुई–तीन दिनजसो आन्दोलन, नाराबाजी र विरोधका कार्यक्रम भइरहन्थे ।सांस्कृतिक कार्यक्रमसमेत प्रायः सरकारविरोधी राजनीतिक भावनाबाट अभिप्रेरित हुन्थे ।
नेकपा मसालको प्रभाव र उपस्थिति उल्लेख्य भएकाले जीवन शर्मा लगायत कलाकारका क्रान्तिकारी गीतले गाउँबस्ती र जिल्लाका सार्वजनिक स्थलहरू गुञ्जायमान भइरहन्थे । राजनीतिक चेतना र आन्दोलनको प्रभाव बाल्यकालमै देख्ने, सुन्ने र अनुभव गर्ने अवसर हामीलाई प्राप्त भएको थियो । वि.सं. २०४८ पछि बनेको गिरिजाप्रसाद कोइरालाको सरकारमा हाम्रै जिल्लाका नेता ढुण्डिराज शास्त्रीसमेत मन्त्री हुनुहुन्थ्यो । त्यसै समय वसिर मियाँको गोली लागेर मृत्यु भएपछि अर्घाखाँचीको राजनीतिक वातावरण झन् तनावपूर्ण बनेको थियो ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अर्घाखाँची आउँदासमेत जनताहरू नै आपसमा भिड्ने अवस्थासिर्जना भएको थियो । त्यतिबेला लाग्ने एउटा चर्चित नारा अझै मेरो स्मृतिमा ताजै छ – ‘तालुखुइले गिरिजा, भारततिर छिरिजा !’ मट्टितेलको मूल्यमा पच्चीस पैसावृद्धि हुँदा पनि सरकारको विरोधसँगै भारतविरुद्ध नाराबाजी हुने गर्दथ्यो । सरकारका हरेकअसफलता र जनताका असन्तुष्टिलाई भारतसँग जोडेर प्रस्तुत गर्ने राजनीतिक संस्कार त्यतिबेलै विकसित भइरहेको थियो । हामी केटाकेटीलाई त्यसको गहिरो राजनीतिक अर्थ थाहा थिएन । हातमा राँको बोकेर आन्दोलनमा सहभागी हुनु र नाराबाजीको रमाइलो अनुभव गर्नु नै हाम्रा लागि ठूलो कुरा हुन्थ्यो ।
अतः नेपाली कांग्रेससँग सम्बन्धित राजनीतिक परिवेशमा हुर्किएका र पछि स्वयं नेपाली कांग्रेसको राजनीति गरेकाअर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको राजनीतिक इतिहास र भारतविरोधी राष्ट्रवादको अभ्यास नबुझीकनै यत्तिकै बोलेका हुन् भन्नु हास्यास्पद हुन्छ । बरु उनले लामो समयदेखि नेपाली राजनीतिमा जरा गाडेर बसेको एउटा प्रवृत्तिमाथि प्रश्न उठाएका हुन् भन्ने बुझ्नु उचित हुन्छ ।
राष्ट्रवादको नाममा राजनीतिक व्यापार
नेपालमा भारतविरोधी राष्ट्रवादको विस्तार हुनुका पछाडि ऐतिहासिक, राजनीतिक र भौगोलिक कारणहरू छन् । नेपाल र भारतबीच सीमा विवाद छन् । कतिपय सन्धि–सम्झौतामा असमानताका प्रश्न उठेका छन् । पारवहन, व्यापार र राजनीतिक सम्बन्धमा पनि विभिन्न समयमा असमझदारी पैदा भएका छन् ।
विशेषतः वि.सं. २०४५÷४६ र २०७२ सालका नाकाबन्दीजन्य परिस्थितिले नेपाली जनमानसमा भारतप्रति अविश्वास र असन्तुष्टि बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् । यी वास्तविकतालाई अस्वीकार गर्न सकिँदैन । तर समस्या त्यहाँबाट सुरु भयो, जहाँ वास्तविक समस्याको समाधान खोज्नुपर्ने राजनीतिले त्यसैलाई आफ्नो स्थायी कमाइको साधन बनायो । सीमा विवाद समाधान गर्ने कूटनीतिक पहलभन्दा त्यसको राजनीतिक प्रचार बढी महत्वपूर्ण ठानियो । पानी, जलस्रोत र विकास परियोजना सम्बन्धी सम्झौताका वास्तविक पक्ष केलाउनुको सट्टा भारतले नेपालको पानी सित्तैँमा लग्यो भन्ने भाष्य निर्माण गरियो । जनतालाई तथ्य बुझाउने भन्दा उत्तेजित बनाउने काम भयो । भारतसँगको हरेक सम्बन्धलाई शङ्काको दृष्टिले हेर्न सिकाइयो र भारतविरुद्ध चर्को स्वरमा बोल्न सक्नुलाई राष्ट्रभक्तिको प्रमाणपत्र बनाइयो ।
यसरी राष्ट्रवादको परिभाषा नै विकृत हुँदै गयो । देशको अर्थतन्त्र बलियो बनाउने, राष्ट्रिय उत्पादन बढाउने, नागरिकलाई रोजगारी दिने र राष्ट्रिय स्वाभिमान स्थापित गर्नेभन्दा छिमेकीलाई गाली गर्ने राजनीतिक क्षमताले बढी प्रशंसा पाउन थाल्यो । परिणामतः भारतविरोधी भाषण गर्ने नेता राष्ट्रवादी र भारतसँग सहकार्यको कुरा गर्ने व्यक्ति राष्ट्रघाती कहलिने विडम्बनापूर्ण परिस्थिति निर्माण भयो ।
भारतविरोधी भाष्य
नेपालको माओवादी आन्दोलनको राजनीतिक इतिहासमा पनि भारतविरोधी भाष्यको प्रयोगलाई अलग राखेर हेर्न सकिँदैन । भारतविरुद्ध चर्का नारा लगाएर नेपाली जनताको भावनालाई आकर्षित गर्ने राजनीतिक अभ्यास एकातिर चलिरह्यो भने अर्कोतिर माओवादी नेतृत्वले भारतमै आश्रय लिएर आफ्ना राजनीतिक गतिविधि सञ्चालन ग¥यो । अन्ततः वि.सं. २०६२ मङ्सिरमा दिल्लीमा भएको बाह्रबुँदे समझदारी नेपालको राजनीतिक परिवर्तनको महत्त्वपूर्ण आधार बन्यो ।
यहाँ भारतसँग सहकार्य गर्नु गलत थियो कि भन्ने प्रश्न होइन । प्रश्न त भारतविरोधी नारा लगाएर जनतालाई उत्तेजित पार्ने र राजनीतिक आवश्यकता पर्दा त्यही भारतको सहयोगमा आफ्नो राजनीतिक लक्ष्य हासिलगर्नेदोहोरो चरित्रको हो ।जनतासामु एउटा अनुहार र राजनीतिक स्वार्थ पूरा गर्नुपर्ने ठाउँमा अर्को अनुहार प्रस्तुतगर्ने यस्तो प्रवृत्तिले राष्ट्रवादलाई राजनीतिक इमानदारीभन्दा सत्तारोहणको साधन बनायो ।
पछिल्लो समयमा केपी शर्मा ओलीको राजनीतिमा पनि भारतविरोधी राष्ट्रवादको प्रभावकारी प्रयोग देखियो । विशेषतः नाकाबन्दीको समयमा लिएको अडानले उनलाई व्यापक राजनीतिक लोकप्रियता दिलायो । तर त्यसपछिका कतिपय अभिव्यक्तिमा पनि भारत विरोधी भावनालाई राजनीतिक लाभको विषय बनाइएको देखियो ।
भगवान् श्रीरामको जन्मभूमि अयोध्यासम्बन्धी स्थापित धार्मिक तथा ऐतिहासिक मान्यतालाई चुनौती दिँदै वास्तविक रामजन्मभूमि नेपालकै ठोरीमा रहेको अभिव्यक्ति दिनु त्यसको एउटा उदाहरण हो । हजारौँ वर्षदेखि श्रद्धा र आस्थासँग जोडिएको विषयलाई पर्याप्त ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणबिना राजनीतिक दाबीका रूपमा प्रस्तुत गर्नुले नेपाली र भारतीय दुवै समाजका रामभक्तलाई आश्चर्यचकित बनाएको थियो । धार्मिक आस्थालाई समेत राजनीतिक लोकप्रियता हासिलगर्नेअस्त्र बनाउनु कति उचित थियो भन्ने प्रश्न आज पनि विचारणीय छ ।
आफूलाई भौतिकवादी कम्युनिस्ट दर्शनको अनुयायी बताउने नेतृत्वबाट यस्ता धार्मिक विषयमा गरिएका अभिव्यक्तिले केही समयजनतालाई भ्रमित बनाए पनि त्यसले नेपालको धार्मिक, सांस्कृतिक र कूटनीतिक हितलाई कतियोगदान पु¥यायो भन्ने मूल्याङ्कन हुनैपर्छ ।दशकौँसम्म छिमेकीसँगको शत्रुताले के हामीलाई फाइदा पु¥यायो त भन्ने कुराको मूल्याङ्कन गर्नैपर्दछ ।
भारत विरोधी कि सनातन संस्कृति विरोधी ?
नेपालको राजनीतिमा भारतविरोधी राष्ट्रवादको एउटा अर्कोवैचारिक पक्ष पनि विचारणीय छ । भारतमा कुन राजनीतिक शक्ति सत्तामा छ भन्ने कुराले नेपालका कतिपय राजनीतिक दल र समूहको भारतप्रतिको दृष्टिकोण प्रभावित भएको देखिन्छ । भारतमा कांग्रेस नेतृत्वको सरकार वा वामपन्थी विचारधाराका नेताहरूको प्रभाव रहँदा नेपालका कतिपय वामपन्थी दल र नेताहरूले भारतसँग सहज सम्बन्ध कायम गरेको देखिन्छ ।
तर भारतमा हिन्दू सांस्कृतिक पहिचान र सनातन परम्पराको पक्षधर राजनीतिक शक्तिको उदय भएपछि नेपालमा भारतविरोधी राष्ट्रवादको स्वर फेरि चर्किन थालेको अनुभव गर्न सकिन्छ ।यसले एउटा गम्भीर प्रश्न के जन्माउँछ भने नेपालका कतिपय राजनीतिक समूह वास्तवमै भारतको विरोध गरिरहेका छन् कि भारतमा विकसित हुँदै गएको सनातन सांस्कृतिक चेतना र हिन्दू पहिचानको राजनीतिक अभिव्यक्तिको विरोध गरिरहेका छन् ?
भारतमा सोनिया गान्धी, राहुल गान्धी र सीताराम येचुरीजस्ता नेताहरूको राजनीतिक प्रभाव रहेको समयमानेपालका कतिपय राजनीतिक शक्तिले भारतसँग सहज सम्बन्ध राखे । तर त्यहाँ हिन्दू सांस्कृतिक पहिचानको वकालत गर्ने राजनीतिक शक्ति सत्तामा आएपछि नेपालमा भारतविरोधी राष्ट्रियताको स्वर चर्किनु संयोग मात्र हो कि यसभित्र कुनै वैचारिक आग्रह पनि छ ? यो प्रश्नको उत्तर खोज्नु आवश्यक छ ।
भारतको वर्तमान सरकार नेपालकालागि स्वतः लाभदायक नै छ भन्ने निष्कर्ष निकाल्नु पनि उचित नहोला । कुनै पनि सरकारको मूल्याङ्कन उसको व्यवहार, नीति र नेपालप्रतिको दृष्टिकोणका आधारमा हुनुपर्छ । तर भारतमा आफ्नो वैचारिक निकटताको शक्ति सत्तामा हुँदा मित्रता र फरक विचारको शक्ति सत्तामा हुँदा शत्रुता देखाउने प्रवृत्ति भने राजनीतिक दोहोरोपनको उदाहरण मात्र नभएर योजनाबद्ध तरिकाले पौरस्त्य सभ्यतामास्न ल्याइएको राजनीतिको सूक्ष्म कारण पनि हो ।
राष्ट्रिय हितमा सहकार्य
नेपाल र भारतबीचको सम्बन्धकेवलदुई देशका सरकारबीचको कूटनीतिक सम्बन्ध होइन । यो ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्धको विस्तृत आधारमा उभिएको छ । लाखौँ नेपालीको रोजगारी, व्यापार, शिक्षा, स्वास्थ्योपचार र दैनिक जीवन भारतसँग जोडिएको छ । खुला सीमाका कारण दुवै देशका नागरिकबीच पारिवारिक र सामाजिक सम्बन्धसमेत स्थापित छन् ।
हामीलाई आवश्यक पर्दा भारतकै बजार, वस्तु, सेवा र पूर्वाधार उपयोग गर्ने अनि राजनीतिक स्वार्थ पूरा गर्नुपर्ने समयमा उसैलाई गाली गर्ने प्रवृत्ति आफैँमा विरोधाभासपूर्ण छ । छिमेकीसँगको सम्बन्धलाई पारस्परिक लाभ, सम्मान र विश्वासका आधारमा विकास गर्नुपर्नेमा त्यसलाई राजनीतिक व्यापारको विषय बनाउनु उचित होइन । यसको अर्थ भारतका सबै नीति र व्यवहार सही छन् भन्ने होइन । नेपालको सीमा, सार्वभौमिकता र राष्ट्रिय हितमा आँच आउने कुनै पनि विषयमा दृढतापूर्वक आवाज उठाउनुपर्छ ।
सीमा विवादको समाधान तथ्य, प्रमाण र कूटनीतिक पहलबाट खोजिनुपर्छ । राष्ट्रिय हितसँग सम्झौता गर्नुहुँदैन । तर विरोध र वैरभाव, कूटनीति र उत्तेजना तथा राष्ट्रिय स्वाभिमान र अन्ध राष्ट्रवादबीचको भिन्नता पनि बुझ्नुपर्छ । भारतसँग मात्र होइन, चीन र विश्वका अन्य मित्रराष्ट्रसँग पनि नेपालको सम्बन्ध राष्ट्रिय हितका आधारमा विकसित हुनुपर्छ । कुनै देशसँगको मित्रता अर्कोदेशप्रतिको शत्रुतामा आधारित हुनुहुँदैन । हामीलाई छिमेकीसँग अनावश्यक तनाव होइन, सम्मानजनक सम्बन्ध र त्यसबाट प्राप्त हुने विकासका अवसर चाहिएका छन् ।
अब राष्ट्रवादको परिभाषा बदल्नुपर्छ
स्वर्णिम वाग्लेको अभिव्यक्तिले पैदा गरेको राजनीतिक छटपटी वास्तवमा दशकौँदेखि चलिरहेको एउटा राजनीतिक व्यापारमाथि परेको प्रश्नको प्रतिक्रिया हो । भारतविरोधी भाषण गरेर जनतालाई उत्तेजित पार्ने, आफ्ना असफलता लुकाउने र सत्ताको भ¥याङ चढ्ने प्रवृत्तिले देशलाई कहाँ पु¥यायो भन्ने समीक्षा अब हुनैपर्छ । राष्ट्रवाद भनेको अरू देशलाई गाली गर्नु होइन, आफ्नै देशलाई सक्षम बनाउनु हो ।
भारतविरोधी नारा लगाएर उद्योगधन्दा खुल्दैनन्, रोजगारी सिर्जना हुँदैन, युवाको विदेश पलायन रोकिन्न र नागरिकको जीवनस्तर उकासिँदैन ।देशको विकासका लागि उत्पादन, लगानी, प्रविधि, बजार र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक हुन्छ । त्यसैले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै छिमेकी तथा मित्रराष्ट्रसँग सहकार्य गर्न सक्नु नै परिपक्व राष्ट्रवाद हो । हामीलाई भारतविरोधी राष्ट्रवादको व्यापार गर्ने नेता होइन, नेपाललाई समृद्ध बनाउने नेतृत्व चाहिएको छ । देशको विकास नगर्ने, जनतालाई रोजगारी दिन नसक्ने, युवालाई विदेशिन बाध्य पार्ने र आफ्ना कमजोरी छिमेकी राष्ट्रमाथि थोपरेर उम्किने राजनीतिक संस्कारको अन्त्य हुनुपर्छ ।नेपालमा भारतविरोधि राष्ट्रियता यथार्थ रूपमा नै रहेको देखिएकाले यसलाई अन्त्य गरी आफु समृद्ध हुने तर्फ लाग्नुपर्छ । हामीले भारतसँग मात्र होइन, संसारका सबै राष्ट्रसँग सम्बन्ध सुधार्दै आफ्नै क्षमता र सामथ्र्य बढाउनुपर्छ ।
भारतसँग प्रतिस्पर्धा गर्न सक्ने अर्थतन्त्र निर्माण गर्नु, आफ्ना नागरिकलाई स्वदेशमै अवसर प्रदान गर्नु र राष्ट्रिय स्वाभिमानलाई व्यवहारमा स्थापितगर्नु नै साँचो राष्ट्रभक्ति हो । त्यसैले अब नेपाली राष्ट्रवादको आधार विरोधहोइन, विकास हुनुपर्छ । अरूलाई होच्याएर होइन, आफू सक्षम बनेर राष्ट्रको स्वाभिमान उँचो बनाउनुपर्छ । भारत वा अन्य देशलाई गाली गरेर होइन, नेपाललाई बनाएर राष्ट्रवादी बन्ने समय आइसकेको छ ।