© 2026
चन्द्रौटा ।
कुनै समय धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेका छन् । पहेँलपुर बनेको बारीमा कतै फूल मुस्कुराइरहेका छन् त कतै नयाँ कोपिला लाग्दैछन् । बिहानदेखि साँझसम्म फूलको स्याहार, टिपाइ र माला उन्ने काममा व्यस्त देखिन्छन्, नारायण अर्याल । तिहार र विवाहको मौसम सुरु भएसँगै उनलाई यतिबेला एकछिन फुर्सद छैन ।
जिल्लाको बाणगंगा नगरपालिका–३ भक्तौलीका अर्यालका लागि पाँच कट्ठा जमिन अहिले फूलको बगैँचा मात्र होइन, मेहनत र सम्भावनाको आधार बनेको छ । फूल टिप्ने, माला उन्ने र तयार भएका माला बजार पु¥याउने उनको दैनिकी बनेको छ । बिक्रीका लागि तयार भएका माला आवश्यकताअनुसार कोल्ड स्टोरमा भण्डारणसमेत गर्ने गरेको उनले बताए ।
५ वर्षअघि परम्परागत धान खेती छाडेर फूल खेती सुरु गरेका अर्यालले यात्रा भने एउटा रहरबाट सुरु गरेका थिए । तिहारका बेला नेपालमा भारतबाट ठूलो परिमाणमा फूल आयात हुने गरेको समाचारले उनको ध्यान तानेको उनले सुनाए । अर्यालका अनुसार आफ्नै देशमा उत्पादन गर्न सकिने फूलसमेत विदेशबाट ल्याउनुपर्ने अवस्थाले उनलाई आफ्नै जमिनमा फूल खेती गर्ने सोच जन्मायो । “फूल खेती गर्ने रहर पहिलेदेखि नै थियो । नेपालमा भारतबाट फूल आयात हुने समाचार पढेपछि फूल खेतीतर्फ आकर्षण बढ्यो । आफ्नै ठाउँमा फूल उत्पादन गर्न सकिन्छ भन्ने लागेर सुरु गरेको हुँ,” उनी आफ्नो व्यावसायिक यात्राको सुरुवात सम्झन्छन् ।
सुरुमा रहरले थालेको खेतीलाई उनले विस्तारै व्यावसायिक रूप दिए । परम्परागत खेतीभन्दा फरक सम्भावना खोज्ने क्रममा सयपत्री उनको रोजाइ बनेको जनाए । अहिले त्यही खेतीले अर्यालको बारीको स्वरूप मात्र बदलेको छैन, दैनिकी र काम गर्ने शैलीसमेत परिवर्तन गरिदिएको छ ।
यस वर्ष उनले पाँच कट्ठा जमिनमा मेरी गोल्ड ५५५ जातका तीन हजार सयपत्रीका बेर्ना रोपेका छन् । प्रतिगोटा १८ रूपैयाँका दरले खरिद गरिएका बेर्ना साउनको अन्तिम सातातिर रोपिएको थियो । करिब ३ महिनाको हेरचाहपछि कात्तिकको पहिलो सातादेखि फूल फुल्न थालेका हुन् । बारीमा सबै फूल एकैपटक फुल्दैनन् । कतिपय फूल टिप्न तयार हुन्छन् भने कतिपय कोपिलाकै अवस्थामा हुन्छन् । त्यसैले दुई दिनको अन्तरमा फूल टिप्ने गरिएको उनको भनाइ छ । टिपिएका फूललाई जम्मा गरेर माला उन्ने गरिन्छ । बजारको मागअनुसार माला तयार पारेर बिक्रीका लागि पठाउने उनको योजना छ ।
तिहार फूलको व्यापारका लागि मुख्य सिजन हो । त्यससँगै विवाहको मौसम सुरु भएकाले सयपत्रीको माग पनि बढेको छ । घर सजावट, पूजाआजा तथा विभिन्न समारोहमा सयपत्रीको प्रयोग हुने भएकाले यसको बजार खोज्न धेरै कठिनाइ नहुने उनको जिकिर छ । धान फल्ने खेतमा अहिले सयपत्री फुलेका छन् । हिजो अन्न उत्पादन हुने त्यही जमिनबाट आज फूल र माला बजार पुगिरहेका छन् । पाँच वर्षअघि मनमा पलाएको एउटा रहरले अहिले उनको बारीलाई पहेँलपुर बनाएको छ ।