Butwal Today

पर्व उही, फेरियो गाउँको रौनक

१८ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

पाल्पा ।
तिहार नजिकिँदै गर्दा तानसेन नगरपालिका – पिपलडाँडाका गजिन्द्रबहादुर चिदीलाई गाउँको पुरानो रौनकले झस्काउँछ । तिहार सुरु हुनुअघि नै गाउँको बीचमा रहेको बरको रुखमा पिङ हाल्न सुरु हुन्थ्यो । खर काटेर ल्याउने, केही दिन सुकाउने र गाउँका सबै मिलेर खर बटार्दै पिङ बनाउने चलन थियो । पिङ तयार भएपछि बालबालिकादेखि वृद्धवृद्धासम्मको जमघट हुन्थ्यो । गाउँमा चहलपहल बढ्थ्यो ।

टाढा रहेका परिवारसमेत दसैँतिहारमा गाउँ फर्कन्थे । बाहिर रहेका छोराछोरी र नातिनातिना लिएर आउनेको लर्कोले गाउँका बाटा भरिन्थे । अहिले भने ती दृश्य सम्झनामा मात्रै सीमित हुन थालेका छन् ।

“पहिले तिहार आउनुअघि नै पिङ बनाउन गाउँले जम्मा हुन्थे । खर काट्नेदेखि पिङ हाल्नेसम्म सबै काम मिलेर गरिन्थ्यो । गाउँमा बाक्लो बस्ती थियो, पर्वमा बाहिर गएका पनि फर्कन्थे । अहिले त्यो रमाइलोपन हराएको दशकौँ भइसक्यो,” चिदी भन्छन् ।

तिहारको अर्को महत्वपूर्ण पक्ष थियो दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता । भाइटीकाका लागि टाढाटाढाबाट दाजुभाइ घर फर्कने र दिदीबहिनीले स्वागत गर्ने परम्परा थियो । टीका लगाएपछि दिइने सगुन रोटी बनाउन एक साताअघिदेखि नै घरमा तयारी सुरु हुन्थ्यो । राति अबेर वा बिहानै उठेर पिठो कुट्ने, दाल पिस्ने र विभिन्न परिकार बनाउने चलन थियो ।

तर, अहिले घरपरिवारको संरचना र जीवनशैली फेरिँदै जाँदा ती परम्परा पनि हराउँदै गएको माथागढी गाउँपालिका–ओलेसकी टीकाकुमारी आले बताउँछिन् ।

“समय उही हो, मानिस पनि उही हुन् तर परिवेश बदलियो । पहिले दसैँतिहार आउनुअघि नै घरमा छुट्टै चहलपहल हुन्थ्यो । रोटी बनाउने, पाहुना आउने र आफन्त भेटघाट गर्ने क्रम चल्थ्यो । अहिले पहिलेको जस्तो रौनक छैन,” उनी भन्छिन् ।

माथागढी गाउँपालिका–कसेनीका डिलबहादुर दर्लामीका अनुसार पहिले गाउँमा तिहार सामूहिक रूपमा मनाउने चलन थियो । पर्व आउनुअघि नै घरघरमा रोटी बनाउने तयारी हुन्थ्यो । पुरुषहरू पिङ बनाउने र तास खेल्ने गर्थे भने बालबालिका तथा युवायुवती देउसीभैलो खेल्न गाउँगाउँ पुग्थे ।

देउसीभैलोबाट संकलित रकम सामाजिक काममा खर्च गर्ने र कहिलेकाहीँ सामूहिक वनभोज जाने चलनसमेत थियो । त्यसले मनोरञ्जनसँगै गाउँमा आपसी सहयोग र एकताको भावना बलियो बनाउँथ्यो । “पहिले देउसीभैलोबाट उठेको रकम सामाजिक काममा लगाउने चलन थियो ।

कहिलेकाहीँ त्यही रकम जम्मा गरेर वनभोज पनि जान्थ्यौँ । अहिले पुराना रीतिरिवाज हराउँदै गए । ती दिन अहिले सम्झनामा मात्रै बाँकी छन्,” दर्लामी भन्छन् ।

गाउँमा सडक, सञ्चार, शिक्षा र स्वास्थ्यका सुविधा विस्तार भएका छन् । तर, विकाससँगै गाउँको जनसंख्या भने घट्दै गएको छ । रोजगारी, शिक्षा र सुविधाको खोजीमा युवापुस्ता सहर तथा विदेशतर्फ गएपछि गाउँमा वृद्धवृद्धा र सीमित परिवार मात्रै बाँकी छन् । कुनै समय पर्वका बेला भरिभराउ हुने गाउँ अहिले सुनसान बन्न थालेका छन् ।

“पहिले एक छाक पेटभरि खान नपाए पनि गाउँमा मानिसको कमी थिएन । पर्व आउँदा सबैका घरमा अन्नपातको जोहो हुन्थ्यो । अहिले गाउँमा सडक, सञ्चार, शिक्षा र स्वास्थ्य पुगेको छ, तर मानिस छैनन् । गाउँमा कसैलाई दुःख पर्दा साथ दिने छिमेकीसमेत पाउन मुस्किल हुन थालेको छ,” स्थानीयहरू भन्छन् ।

तिहारसँग जोडिएको देउसीभैलो र मौलिक बाजागाजाको संस्कृति पनि क्रमशः कमजोर बन्दै गएको छ । माथागढी गाउँपालिका–डाँडाडुमका ईश्वर नेपाली पहिले पञ्चेबाजा बजाएर रातभरि भैलो खेल्ने गरेको सम्झन्छन् । पञ्चेबाजा र मादलका तालमा गाउँगाउँ पुगेर भैलो खेल्दा मनोरञ्जनसँगै आम्दानीसमेत हुने गरेको उनको अनुभव छ ।

“पहिले पञ्चेबाजा र मादल बजाउँदै रातभरि भैलो खेल्थ्यौँ । त्यसबाट पैसा पनि संकलन हुन्थ्यो । अहिले पञ्चेबाजा र मादलको ठाउँमा बुफर र डिजेमा विदेशी गीत बज्न थालेका छन् । हाम्रा मौलिक बाजा र धुन हराउँदै गएका छन्,” नेपाली भन्छन् ।

तिहारमा घरआँगनमा फूल रोप्ने परम्परासमेत कमजोर बनेको छ । वर्षायामदेखि नै सयपत्री, मखमलीलगायत तिहारमा प्रयोग हुने फूल रोप्ने र पर्वका बेला घरआँगन फूलले सजाउने चलन थियो । अहिले बजारमा पाइने तयारी माला र कृत्रिम सजावटको प्रयोग बढ्दै गएको छ ।

त्यसैगरी काग पूजा, कुकुर पूजा, गाई पूजा, गोवर्धन पूजा, तोरण बाट्ने र घरमा बाँध्ने जस्ता परम्परागत संस्कार पनि कतिपय गाउँमा सीमित हुँदै गएका छन् । पर्वको धार्मिक र सांस्कृतिक महत्वभन्दा देखासिकी, बजारमुखी उपभोग र आधुनिक मनोरञ्जनले बढी ठाउँ लिन थालेको स्थानीयको अनुभव छ ।

पर्वका संस्कृति केवल पूजा, टीका र खानपिनमा सीमित हुँदैनन् । ती संस्कृतिले परिवार, आफन्त र समुदायलाई जोड्ने काम गर्छन् । पिङ हाल्ने, देउसीभैलो खेल्ने, पञ्चेबाजा बजाउने, सामूहिक रूपमा परिकार बनाउने र गाउँलेबीच सहयोग आदानप्रदान गर्ने अभ्यास सामाजिक सम्बन्धका आधार पनि थिए ।

तर, बसाइँसराइ, युवापुस्ताको विदेश पलायन, संयुक्त परिवारको विघटन र बदलिँदो जीवनशैलीले यस्ता सामूहिक अभ्यासलाई कमजोर बनाएको छ । पुस्तान्तरण हुन नसक्दा कतिपय मौलिक संस्कृति नयाँ पुस्ताका लागि अपरिचित बन्दै गएका छन् ।
गाउँमा भौतिक पूर्वाधार थपिँदै गए पनि त्यससँगै सामाजिक र सांस्कृतिक जीवनमा आएको परिवर्तनले नयाँ प्रश्नसमेत खडा गरेको छ । गाउँमा सडक पुगेका छन्, सुविधा पुगेका छन् तर ती सुविधा उपभोग गर्ने र पर्वको सामूहिक रौनक जोगाउने मानिसको संख्या घट्दै गएको छ ।

पुरानो पुस्ताका लागि पिङ, पञ्चेबाजा, देउसीभैलो र घरआँगनमा फुलेका तिहारे फूल केवल विगतका सम्झना मात्र होइनन्, गाउँको सामूहिक जीवनका पहिचान पनि हुन् । ती परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न नसकिएमा पर्वको मौलिकता पनि पुस्तासँगै हराउँदै जाने चिन्ता स्थानीयमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?