© 2026
काठमान्डौ, २६ मंसिर ।
पूर्वराजा ज्ञानेन्द्र शाहको ‘भान्जा’ भएको दाबी गर्दै ठगी गर्दै आएका अनुप कुमार सिंहलाई प्रहरीले पुनः पक्राउ गरेको छ । ठगी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई झापाको धुलाबारीबाट पक्राउ गरी काठमाडौं ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
काठमाडौं–२७ असन घर भई ललितपुरमा बस्दै आएका सिंह भारत भाग्ने तयारीमा रहेको अवस्थामा पक्राउ परेका हुन् । उनीसँगै दोलखा घर भएका उनका सहयोगी लड्डु श्रेष्ठ पनि नियन्त्रणमा लिइएका छन् ।
सिंहले बेलायतमा पूर्व राजपरिवारको लगानीमा ‘ड्रिमल्याण्ड’ नामक होटल सञ्चालनमा आउन लागेको भन्दै सिन्धुलीको घ्याङलेकका ५० भन्दा बढी सर्वसाधारणलाई ठगेको आरोप छ । मनोज कुमार नाम प्रयोग गर्ने उनी यसअघि पनि ठगी मुद्दामा पक्राउ परेका थिए र २०८१ चैत १ गते जेल चलान भएका थिए । जेलबाट छुटेपछि उनले पुनः ठगी गतिविधि सुरु गरेको अनुसन्धानबाट खुलेको एसपी आचार्यले बताए ।
अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले दुवै जनामाथि अनुसन्धान सुरु गरेको छ । आफू हिमानी ट्रस्टसँग पनि आबद्ध रहेको भनेर परिचय दिने सिंहविरुद्ध हालसम्म ४२ जना पीडितले उजुरी दर्ता गराएका छन् । सिंह र उनलाई सहयोग गर्ने श्रेष्ठले सँगै मिलेर करिब ४ करोड रुपैयाँ ठगेको उजुरी परेको प्रहरीको भनाइ छ ।
सिंहले काठमाडौंको ज्ञानेश्वरमा सञ्चालन गरेको कार्यालयबाट प्रहरीले सरकारी छाप र बेलायतको नक्कली भिसा समेत बरामद गरेको छ ।