© 2026
जनकपुरधाम, २६ मंसिर ।
मधेश प्रदेशमा सरकार विस्तारबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेर टुंगिएको छ । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान ११ बजे मधेश भवनमा डाकिएको थियो । बैठकमा मन्त्रालय भागबण्डा, सभामुख नियुक्तिसहित विभिन्न प्रस्तावमा छलफल गर्ने तयारी थियो ।
तर जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव बाहिर रहेका कारण बैठकले ठोस निर्णय गर्न नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उनका अनुसार बैठकमा सरकारमा सहभागिता र मन्त्रालय भागबण्डाबारे सामान्य तहमा मात्र छलफल भएको थियो ।
सातदलीय गठबन्धनको समर्थनमा गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले २१ मंसिरमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
उनीहरूले सोही दिन कांग्रेसबाट जंगीलाल राय, जनमत पार्टीबाट संसदीय दलका नेता महेशप्रसाद यादव, र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेल लाई मन्त्री नियुक्त गरेका थिए ।
जनमत पार्टीका महेशप्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । तर सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा नमिलेकाले बाँकी दुई मन्त्रीको जिम्मेवारी भने अहिलेसम्म निर्धारण भएको छैन ।