Butwal Today

जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २६ मंसिर ।

जेनजी आन्दोलनको भदौ २४ को प्रदर्शनमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न गृह मन्त्रालयको निर्देशमा प्रहरी प्रधान कार्यालयले देशभरका सबै प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनअनुसार थुनामा रहेका व्यक्तिहरूलाई हाजिर–जमानीमा रिहा गर्न उल्लेख गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

भदौ २४ का घटनामा संलग्न रहेको आरोपमा हालसम्म ८७२ जना पक्राउ परेका छन् भने तिनविरुद्ध ३९५ मुद्दा दर्ता भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एक अधिकारीका अनुसार महाराजगञ्ज र कोटेश्वरमा प्रहरी हत्या प्रकरणमा संलग्न बाहेकका व्यक्तिलाई रिहा गर्न विशेष आदेश प्राप्त भएको छ ।

मंसिर २४ मा जेनजी अभियन्ता र सरकारले गरेको १० बुँदे सम्झौतामा, आन्दोलनमा सहभागिताका आधारमा पक्राउ परेकाहरूको उजुरी उच्चस्तरीय छानबिन आयोगमार्फत स्क्रिनिङ गरी, ज्यान मार्ने वा संगठित अपराधमा संलग्नता नदेखिएमा तत्काल थुनामुक्त गर्ने व्यवस्था राखिएको थियो । मुद्दा फिर्ता लिन सरकारलाई सिफारिस गर्ने प्रावधान पनि त्यसमै उल्लेख छ ।

सम्झौताका मस्यौदाकारमध्ये एक सरकारी अधिकारीका अनुसार, ढुड्गा प्रहार वा प्रतिरोधका क्रममा भएका सामान्य प्रकृतिका घटनामा फौजदारी कारबाही नचलाउने सहमति भएको थियो । तर स्क्रिनिङ प्रक्रिया सुरु हुनुअघि नै व्यापक रूपमा रिहा गर्ने सर्कुलर आएको भन्दै दण्डहीनता बढ्ने जोखिमबारे केही प्रहरी अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

यसअघि असोज ९ मा पनि जेनजी प्रदर्शनमा संलग्नहरूलाई स्क्रिनिङ गरेर रिहा गर्न गृह मन्त्रालयले निर्देशन दिएको थियो। जेनजीसँगको सम्झौतापछि गृह मन्त्रालयबाट यस्तो प्रकृतिको आदेश दोस्रो पटक जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?