Butwal Today

काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस्

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामा ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन् । उनले दोलखाका पुराना नेता र कार्यकर्तालाई पछि हट्न र नयाँ पुस्तालाई नेतृत्वमा आउन अवसर दिन आफूले स्थान खाली गरेको बताएका छन् ।

लामाले जिल्लाका नेता–कार्यकर्तासँगको भेटमा भने, “यदि म लड्थेँ भने यो सिट पक्कै पनि जाओथ्यो । त्यसैले मैले तपाईंहरूलाई मौका दिएको हुँ । तपाईंहरूले मिलेर अघि बढ्नुपर्छ ।”

उनी दोलखाका कांग्रेस नेता भीमबहादुर तामाङ को योगदान र सपना स्मरण गर्दै जिल्लामा पार्टीको इज्जत र साख जोगाउन आवश्यक रहेको बताए । लामाले नेताहरू मात्र चुनाव लड्दा वा नेताको श्रीमती आउँदा कार्यकर्ताले अवसर पाउन नसकेको तितो यथार्थलाई औँल्याउँदै आफू पछि हट्ने निर्णयमा पुगेको स्पष्ट पारे ।

“नेता आफैँ मात्र लड्दा दुःख पाएका कार्यकर्ताको कहिल्यै पालो आएन । नेता नहुँदा नेताकी श्रीमती आउँदा झन् धेरै कार्यकर्ताले अवसर पाइनन् । त्यसैले म चुनाव लड्दिनँ, तपाईंहरू लड्नुहोस्,” लामाले भने । तर लामाको निर्वाचन नलड्ने निर्णयका बाबजुद, दोलखा कांग्रेस ले अझै प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गर्न सकेको छैन । जिल्लामा धेरै आकांक्षी रहेका कारण यो प्रक्रिया पेचिलो बनेको छ ।

दोलखाबाट लामासँगै केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटी पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?