© 2026
काठमान्डौ, २६ मंसिर ।
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । २०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने निर्णय गरेपछि उनको नाम पार्टीले सिफारिस गरेको छैन ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहिसकेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णय गरेको बताएका छन् । उनले भने, “सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ । अब पार्टी सुदृढीकरणको काममा आफू लाग्ने छु ।”
पाण्डेका अनुसार उनी प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभा सदस्यको उम्मेदवारीका लागि इच्छुक छैनन् । जेनजी आन्दोलनको समयमा पाण्डे तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए । उनले बताए, “सरकारमा रहँदा आन्दोलनरत युवाहरूका मागहरूलाई समयमै र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकेको अनुभूति छ । यद्यपि मेरो प्रत्यक्ष भूमिका नभए पनि मन्त्रीको नाताले त्यसको नैतिक जिम्मेवारी लिन्छु ।”
पाण्डेले थपे, “यसपटक निर्वाचन प्रतिस्पर्धामा नउत्रिनु उचित ठानेको छु । पार्टीलाई वैचारिक रूपमा सुदृढ र सक्रिय बनाउने काम मेरो प्राथमिकता बनेको छ ।”