© २०२३
आरम्भः
मानव जीवन आफै चलेको जस्तो देखिन्छ । चाहे अनुसार चलायमान बनाउँन आफै थप क्रियाशील हुनुपर्ने नै हुन्छ । घर्ती/भुजेलहरूले आफ्नो जातीय अस्तित्वका लागि विगतका वर्षहरूमा धेरै संघर्ष गरेको हामी पाउँछौ । जीवनलाई जीवन्त बनाउँन विभिन्न धारणा¸ मान्यता र सोचविचार आदिको महत्त्वपूर्ण भूमिका अवश्य रहन्छ । इतिहासमा प्रेरणादायी जीवन व्यतित गरेका ख्याती प्राप्त व्यक्तित्वहरूको आदर्शबाट थप उत्प्रेरित भएको देखिन्छ । उनीहरूका दर्शन¸ संस्कार¸ आचरण¸ नैतिकता आदिलाई शिरोधार्य गरिनु पर्दछ भन्ने मूल्य मान्यता यस जातिमा रहेको पाइन्छ । आदर्श जीवनका न्यूनत्तम आधारका रूपमा यिनै मान्यतालाई आत्मसात गरिएको अवस्था छ ।
धारणाः
सुक्ष्म ढंगबाट अध्ययन गरियो भने यस जातिमा पुराना धारणा राम्रै मात्रामा पाइन्छ । अरु जातिको जस्तै यस जातिको पनि धारणामा केही हदसम्म अन्तर अवश्य पाउन सकिन्छ । धेरै समय पहिलेदेखि धारण गर्दै आएको, पुस्तौपुस्तादेखि मान्दै आएको सबै कुरा नै धारणा हो भन्न सकिन्छ । यसमा सत्यता र कारणहरु पनि लुकेका हुन्छन् । आफ्नो जातिप्रतिको धारणा अत्यन्तै बलियो रहेर आएको देखिन्छ । बाहिर जेजस्तो भन्ने गरे तापनि खास खास कार्य जस्तैः विवाह वर्तन¸ जन्म मृत्यु¸ कूल पुजा आदिमा आफ्नै जातिको पुराना संस्कार अनुसार गर्ने गराउँने गरिएको छ । मागी विवाह गर्दा जति टाढा भए पनि आफ्नै जाति खोजेर गरिन्छ । जन्म मृत्यु संस्कार पनि अरुको अनुसार गरिदैन ।
आत्मा/परमात्मा:
हाम्रो आत्मा हुन्छ । आत्मालाई शुख र शान्त राखिनु पर्दछ । कसैको आत्मालाई दुखित तुल्याउनु हँदैन । उसको आत्मालाई रुवाउँने काम गरियो भने आफ्नो आत्माले शान्ति पाउँदैन । यस कार्यले आफ्ना भावी पिंढीलाई पनि नकारात्मक असर गर्दछ । त्यसैले कसैको पनि आत्मा रुवाउने काम गर्नु हुँदैन भन्ने मान्यता रहिआएको छ । हाम्रो आत्मा मरिसकेपछि परमात्मा बन्दछ अर्थात इश्वरसँग मिल्दछ¸ भगवानसरह हुन्छ । त्यो परमात्मा पनि हाम्रै आत्माबाट जाने भएकोले भगवानको नजिक हुनको लागि पनि आफ्नो र अरुको आत्मालाई सम्मान गर्ने काम गरिनु पर्दछ भन्ने मान्यता यस जातिमा बलियो बनेको पाइन्छ ।
पाप/पूण्य:
पाप धुरीबाट कराउँछ भन्ने आम मान्यता रही आएको छ । अरुलाई कुभलो चिताउने कुनै पनि कार्य गर्न गराउँनु हुँदैन । यसो गरियो भने महापाप लाग्छ । पाप लागेमा आफ्ना सन्तान दरसन्तालाई कहिल्लै राम्रो हुन सक्तैन । आफ्नो मात्र फाइदा हुँने कामहरू गर्दा अरुलाई अप्ठेरो पार्नु हुँदैन । अप्ठेरो पार्नु पनि पाप हो । कसैको चित्त दुख्ने गरी बोल्नु र व्यवहार गर्नु पनि पाप हो । यसो गर्नु राम्रो होइन । यसरी पापी काम गरियो भने अवश्य पनि पुण्य कमाउँन सकिदैन । पूण्य भनेको मान्छे मरेपछि सँगै लेजाने कर्म हो भने बाँचेका वा जन्मेकालाई छोड्ने सम्झनाको उपहार पनि हो । यसरी पाप गरिएन भने पूण्य कमाइन्छ भने पापी कर्ममा लागियो भने पूण्य आफै हराउँदै जान्छ भन्ने विश्वास रहदै आएको छ ।
पुनर्जन्म:
विभिन्न धर्म शास्त्र अनुसार मान्छेको पुनर्जन्म हुन्छ भनिएको छ । कसरी हुन्छ भन्ने कुरा यकिन त छैन । पुनर्जन्म यही रुपमा हुँदैन र हुन पनि सक्तैन । राम्रो काम गरियो भने राम्रो कूलमा जन्म हुन्छ । त्यस्तै नराम्रो काम गरियो भने नराम्रै कूलमा जन्म हुन्छ भनिएको छ । अझ अर्को के मान्यता छ भने नराम्रै गरिएको छ भने पशुपंक्षी आदि भएर जन्म लिइन्छ र ज्यादै नराम्रो कर्म गरिएको रहेछ भने मानव होइन दानब भएर पनि जन्मिइन्छ भन्ने मान्यता राखेको सुनिन्छ । हाम्रो यो हाड र छालाको शरीर मरे पनि हाम्रो आत्माले अर्को जन्म लिन्छ र पटक पटक गरी चौरासी जुनी पार गर्दछ मान्छेले भनिएको छ । यसको निर्धारण उनै प्रभुले/भगवानले/इश्वरले गर्दछन् । मान्छेको जुनी पाएपछि अर्को जन्ममा कुन जुनी पाउँने भन्ने हामीलाई पनि थाहा हुँदैन । एक बारको मान्छेको जुनीमा अरु सबै प्राणी र प्राणी जगतलाई भलो हुने काम गर्नु र गराउँनु पनि पर्दछ भन्ने विश्वास दरिलो रुपमा यस जातिमा रहदै आएको छ ।
मूल्य मान्यताहरूः
आफ्नो कूल, धर्म र परम्परालाई मान्नु पर्दछ भन्ने कुरामा सत्यता रहेको छ । सबैभन्दा ठूलो आफ्नो कुल पूजा हो भनेर टाढाटाढाबाट आउने गरेका छन् । कूलका देवता रिसाए भने हामीलाई राम्रो हुँदैन । उनीहरूलाई खुशी पार्नु पर्दछ । पितृहरूको पनि सम्झना गरिनु पर्दछ भन्ने मान्यता रहिआएको छ । यसले आफ्नो जातीय संस्कारलाई जीवन्त तुल्याएको छ । जति टाढाको भए पनि कूलको पुजामा सामेल भई आफनो परम्परालाई धान्ने काम भएको छ भने पुरानो पुस्ताका जीवन दर्शनहरू तल्लो पुस्तामा पुस्तान्तरण गर्ने काम पनि यसै बेला हुने गर्दछ ।
नविन सोच विचारहरूः
आजभोलिको मान्छेहरूलाई नयाँ सोच विचारका साथ अगाडि बढ्नु पर्दछ र पुराना विचार त्याग्नु पर्दछ भन्ने मान्यता रहेको छ । यस्ता रुढीवादी सोच विचार राखेर केही अर्थ छैन । यसो गर्यो भने धेरै पछि परिन्छ भन्ने सोच पनि रहेको छ । पुजाआजा, रीतिस्थिति मान्नु हुँदैन भन्ने पनि छ भने नयाँ मध्येका केही मान्छेहरू पुराना कुरालाई परिष्कार गरिनु पर्दछ भन्दै आएको पनि पाइन्छ । त्यसको महत्त्वका सम्बन्धमा सबैलाई जानकारी गराउँनु पर्दछ भन्नेहरू पनि कमी छैनन् । नयाँ सोच मात्र सधै कामयावी नहुन सक्तछ भने पुरानो कुरा पनि पर्याप्त हुन सकेको कतै देखिदैन । यिनै विषयलाई मध्यनजर गर्दै पुर्खाले मान्दै आएका र नयाँले आवश्यक ठानेका मूल्य मान्यतालाई जातीय पहिचान कायम राख्दै परिष्कार गरी अवलम्वन गरिनु पर्दछ ।