© २०२३
काठमाडौं,११ असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । मुटुमा समस्या भएपछि १० दिनदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएर उपचार गराइरहेका अस्पतालले जनाएको छ।
सोमबार अस्पतालले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जनाएको हो। विज्ञप्तिमा भनिएको छ यस सेन्टरमा मिति २०८० असार २ गते देखि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको आवश्यक नियमित परीक्षण तथा चिकित्सकीय निगरानी भइरहेको र हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ।
यसअघि मुटुको चाल कम भएपछि असार ५ गते राष्ट्रपति पौडेको मुटुमा चिकित्सकले पेसमेकर जोडिदिएका थिए। त्यसयता उनी मनमोहन कार्डियो सेन्टरमा उपचार गराइरहेका छन्।
दुई सात अगाडि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा राष्ट्रपति पौडेलको मुटुको एन्जियोप्लास्टी गरिएको थियो।
त्यसपछि शीतल निवासमै आराम गरिरहेका राष्ट्रपति पौडेललाई थप समस्या भएपछि असार २ गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्ज लगिएको हो।
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल गत बैशाखमा पनि झन्डै दुई साता लामो समय भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्समा उपचार गराएर आएका थिए।