© २०२३
बुटवल,७ असार । उद्योग व्यापार संघ बुटवलले पांचौं स्थापना दिवस मनाएको छ । कालिकानगरस्थित संघको सचिवालयमा संघको कार्यसमिति र सल्लाहकारको सहभागितामा स्थापना दिवस मनाइएको हो । सो अवसरमा बोल्दै संघका पुर्व अध्यक्ष एवं उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण र ब्यापार विविधिकरणमा संघले भूमिका खेल्नुपर्ने बताए । बैंकहरुको कर्जाको ९० प्रतिशत हिस्सा सीमित व्यवसायिक घरानामा लगानी हुंदा मुलुकको अर्थतन्त्र संकटमा परेको भन्दै महासचिव पराजुलीले यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए । महासचिव पराजुलीले प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणले दुई देशबीच रहेका समस्या समाधान हुने आशा पलाएको जानकारी गराएका थिए ।
संघका कार्यवाहक अध्यक्ष विष्णु पाण्डेले साना, मझौला र ठूला सबै वर्गका उद्योगी व्यवसायीको साझा संस्थाको रुपमा उद्योग ब्यापार संघ बुटवलले पहिचान बनाएको बताए । संघले स्थानीय सरकारसंगको सहकार्यमा विभिन्न सामाजिक काम समेत गदैृ आएको र हालसम्म ४ वटा औद्योगिक ब्यापार मेला सम्पन्न गरेको स्मरण गरे ।
कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी,महासचिव पदम जीसी,कानुनी सल्लाहकार दामोदर घिमिरे लगायतले वर्तमान आर्थिक मन्दी,चर्को बैंक ब्याज दर र महंगी नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताएका थिए । यसैबीच संघले स्थापना दिवसको अवसरमा तिलोत्तमा ७ स्थित अनाथ असहायहरुलाई पालनपोषण गर्दै आएको सिर्जनशील संस्थाको भवन निर्माणमा संघका पुर्व अध्यक्ष एवं सल्लाहकार खेम श्रीस मगरको स्मृतिमा आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको महासचिव पदम जीसीले जानकारी दिए । संघमा ७ सय बढी उद्योगी व्यवसायी आवद्ध छन् ।