© 2026
लमही, २६ मङ्सिर ।
दाङको राप्ती गाउँपालिका-२ पुन्यपुरमा रहेको फोहोर व्यवस्थापन तथा स्रोत केन्द्रमा भीषण आगलागी भएको छ । शुक्रबार बिहान देखि लागेको आगो अहिले नियन्त्रणमा आएको छ । आगलागीका कारण एउटा ट्रस्ट भवन सहित ठुला साना मेसिन र टायल तथा इन्टरलक जलेर पूर्ण रूपमा नष्ट हुँदा करोडौँको क्षति भएको छ ।
आगो नियन्त्रणका लागि गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजर प्रयोग गरिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरूद्वारा आगो नियन्त्रण परिचालन गरिएको थियो । आगो विद्युत सर्ट भएर हो या कसैले आगो लगाएको हो भन्ने विषयमा अहिले सम्म पुष्टि हुन नसकेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन् ।
`वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले खबर गरेपछि घटनाबारे सार्वजनिक गरेका थिए । आगलागी नियन्त्रणमा लिने काम भएको छ´ उनले भने-`फोहोर व्यवस्थापनका लागि बनाइको घर जलेको छ । कसरी आगाेलागि भयो भन्ने बारेमा अनुसन्धान भएपछि बल्ल कारण पत्ता लाग्छ प्रहरी निरीक्षक ऐरीले भने ।´
राप्ती गाउँपालिकाले उक्त स्थानमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । पछिल्लो समय फोहोर व्यवस्थापनमा स्थानीयहरूले अवरोध गर्दै आएका थिए । जसको कारणले गर्दा विवाद चुलिँदो थियो । व्यवस्थित रूपमा फोहोर व्यवस्थापन नगरेको स्थानीयको आरोप थियो ।
वार्ताबाट निकास निकाल्न प्रयास थालिएको थियो र केही हदसम्म सहमतिको वातावरण बनेको थियो ।