© 2026
काठमान्डौ, २६ मंसिर ।
जेनजी अभियन्ताहरुले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चित गर्न निर्वाचन आयोगका पदाधिकारीसमक्ष ध्यानाकर्षण गराएका छन् । शुक्रबार उनीहरुले विदेशमा रहेका २० लाखभन्दा बढी नेपालीले आफ्नो मत प्रयोग गर्न पाउनुपर्ने ग्यारेन्टी सरकारले दिनुपर्ने माग राखेका हुन् ।
जेनजी अभियन्ता शिरिष साहीले “एउटा राजनीतिक दलले पाउने मतभन्दा बढी नेपाली विदेशमा छन् । उनीहरुले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु आवश्यक छ । आम नागरिकको लडाईं हरेक नागरिकको मत सुनिश्चित गर्नुमा केन्द्रित छ,” बताए ।
अभियन्ता प्रकृति ढकालले भने, “नेपाल ठूलो छ, र नेपालीले आफ्नो मत दिन पाउने अधिकारबाट वञ्चित हुनुहुँदैन । स्रोत–साधनको अभाव देखाएर बारम्बार पन्छिन नमिल्छ । यदि विदेशमा रहेका नागरिकको मताधिकार सुनिश्चित गरिएन भने सडकमा आन्दोलन गर्न बाध्य हुनेछौं ।”
उनीहरुले संसारका ११५ भन्दा बढी देशले विदेशमा रहेका नागरिकको मत सुनिश्चित गरिसकेको उदाहरण प्रस्तुत गर्दै नेपालले गर्न नसक्ने कुनै कारण नभएको बताए ।
जेनजी अभियन्ताहरुले अन्तरजिल्ला मतदान र प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।