© २०२३
बुटवल,५ असार । बझाङमा भएको गाडी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको छ ।
डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । मन्त्रीसहित पाँच जना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये श्रीमती र भाउजूको मृत्यु भएको बझाङ केदारस्युँ गाउँपालिकाका १ का वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए ।
मन्त्री सिंह, उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकप्टरले उद्धार गरी नेपालगन्ज लगिएको वडाध्यक्ष भण्डारीले बताए ।
बझाङका सहायक सीडीओ सत्यकुमारी जोशीले पनि दुईजनाको मृत्यु भएको र मन्त्रीसहित तीन जनालाई हेलिकप्टरबाट उपचारका लागि लगिएको पुष्टि गरिन् ।
मन्त्री सिंह र पीएसओ भण्डारीको अवस्था गम्भीर छ । चालकको अवस्था भने मध्यम रहेको बताइएको छ ।