© २०२३
काठमाडौं,१ असार । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।
सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।
लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।
आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको ४० औं दिनमा कार्की प्रधानन्यायाधीश बन्न सफल भए ।
कार्की नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो कार्यकालका लागि प्रधानन्यायाधीश बन्दैछन् । कार्कीले प्रधानन्यायाधीशका रुपमा जम्मा ५० दिन सेवा गर्न पाउने देखिएको छ । शैक्षिक प्रमाणपत्रमा कार्कीको जन्ममिति २०१५ साउन २० गते उल्लेख रहेका कारण उनी २०८० साउन २० गतेबाट ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने छन् ।
कार्कीले असार १ गते (आज) प्रधानन्यायाधीशका रुपमा शपथ लिएमा उनको कार्यकाल जम्मा ५० दिन रहनेछ । प्रधानन्यायाधीशका रुपमा ५० दिन पदमा रहने भए पनि कार्कीले इजलासमा भने २० दिनमात्र बिताउन पाउनेछन् । २० दिनमा पनि ३ दिन शनिबारको बिदा परेको कारण इजलासमा बस्न उनीसँग १७ दिनको मात्र समय रहनेछ ।
अवकाशमा जाने समयभन्दा कम्तीमा एक महिना पहिलेदेखि न्यायाधीश वा प्रधानन्यायाधीशले मुद्दा नहेर्ने चलन रहेका कारण कार्कीले असार २० गतेपछि इजलासमा बसेर मुद्दाको पुर्पक्ष गर्ने छैनन् ।