© २०२३
बुटवल, ३२ जेठ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपतिनाथ मन्दिरमा भ्रष्टाचारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संरक्षण गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको घ्याम्पे दानपेटिका चोरी गर्ने कोषका पदाधिकारीलाई विभागीय मन्त्रीले संरक्षण गरेको आरोप लगाएका हुन् ।
मूर्ति तथा बहुमूल्य सामग्री चोरिएको अवस्थामा कोषको अध्यक्ष, मन्त्री, पदाधिकारी मस्त निद्रामा रहेका, गोठाटारको ५ सय ३५ रोपनी जग्गामध्ये ५ सय ४ रोपनी मात्र हालसाबिक गरेर ३१ रोपनी जग्गा बिचौलियाहरूको मिलेमतोमा अपचलन गरी त्यही अपचलनमा मुछिएकालाई कोषको सदस्यमा नियुक्ति दिइएको भन्दै पुर्व मन्त्री आलेले गोठाटारको सार्वजनिक जग्गा हडपेको विरोध गर्ने कोषका सदस्यहरू विश्वकरण जैन, पूर्णबहादुर जेठारालाई पदबाट हटाउनका लागि यही जेठ २५ गते स्पष्टीकरण सोधिएको बताए ।
यस्तै सांसद आलेले नेपाल बायुसेवा निगम महालेखा परीक्षकको रिर्पोट अनुसार नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड रहेको र ऋण ५० अर्ब नाघिसकेको बताउँदै ३ महिनामा निगमले ४ अर्ब नाफा कमायो भनेर पर्यटनमन्त्रीले संचार ध्यममा झुट बोलेको बताए । उनले यसरी जनतालाई भ्रम छर्न नपाइने बताउँदै सदनमार्फत स्पष्ट पार्न माग गरे ।