© २०२३
सरकारले डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन अनुरोध गरेको छ । सरकारसहित सम्पूर्ण नागरिक कोरोनाविरुद्ध संघर्ष गरिरहेकोबेला विभिन्न माग राखेर अनशन गर्नु उपयुक्त नरहेको सरकारको भनाइ छ ।
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको असमान्य अवस्थामा अनशन र सत्याग्रह गर्नु सुहाउँदो विषय नरहेको बताए ।
कोरोनाविरुद्ध जनतालाई जोगाउने अभियानमा खटिएका र चिकित्सक, सुरक्षाकर्मी कोभिड बिरुद्द लडिरहेको यो असमान्य अवस्थामा अनशन, सत्याग्रह, धर्ना गर्नु सुहाउँदो विषय होइन, ज्ञवालीले भने ।
डा.केसीले उठाएका मागहरूमध्ये ७५ प्रतिशत पूरा भइसकेको भन्दै ज्ञवालीले केही विषय बाँकी भए पछि पनि छलफल गर्न सकिने स्पष्ट पारेका छन् । अहिले अनशन गर्ने बेला होइन्, नेपाल सरकारको तर्फबाट उहाँलाई मेरो आग्रह छ, अनशन फिर्ता लिएर हामी सबै कोभिडविरुद्धको लडाइँमा जुटौँ, मन्त्री ज्ञवालीले भने ।
ज्ञवालीले डा. केसीले भने अनुसार धेरै मागहरू पूरा भएर कार्यान्वयनमा गइसकेको बताए । चिकित्सा शिक्षा अध्ययन गर्न ७५ प्रतिशत छात्रवृत्ति दिने विषय कार्यान्वयनमा आइसकेको उनले जिकिर गरे । यसैगरी सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज सञ्चालन गर्ने विषयपनि कार्यान्वयन भइसकेको समेत उनले बताए ।