© २०२३
कृष्णनगर भंसार कार्यालयले गत आर्थिक बर्ष २०७४÷७५ को अबधीमा निर्धारित लक्ष्यको डेढ गुणा बढि भंसार राजश्व असुली गरेको छ ।
भंसार कार्यालयको गत आर्थिक बर्षमा ४ अर्ब १३ करोड ५ लाख ४८ हजार भंसार राजश्व उठाउने लक्ष्य रहे पनि कार्यालयले लक्ष्यको तुलनामा १ सय ५३ प्रतिशत अर्थात ६ अर्ब ३१ करोड १८ लाख ८२ हजार रुपैया भंसार राजश्व असुल गरेको छ । कार्यालयले अघिल्लो आव २०७३÷७४ मा भने ३ अर्ब १ करोड ७४ लाख ९१२ हजार भंसार असुल गरेको थियो । गत आवमा पैठारी भएका मुख्य बस्तुमा सिमेन्ट क्लिकंर, खरानी स्लयाग, जिप्सम, पथ्थर कोईला, फलफुल, चामल तथा कनिका, पेट्रोलियम कोक, खसी बोका, भेनियर सिट, माल्ट, जर्दा र खैनी लगायत रहेको भंसार अधिकृत शोभाकान्त वाग्लेले जानकारी दिए । हालै नेपाल सरकारले मुल भंसार बनाउने निर्णय गरेको सुठौली छोटी भंसार कार्यालयले गत आवमा २५ करोड ५३ लाख ५७ हजार ३५ रुपैया भंसार असुली गरेको अधिकृत बाग्लेले जानकारी दिए । उद्योग खुल्ने क्रममा बृद्धि सगै औधोगिक कच्चा सामाग्रीको आयातमा बृद्धि, भंसारको नियमित गस्ती, सिमा क्षेत्रमा कडाई र नेपाल प्रहरी तथा शसस्त्र प्रहरीद्धारा भंसार चुहावट नियन्त्रणमा कडाईका कारण लक्ष्य भन्दा बढि भंसार राजश्व संकलन भएको प्रमुख भंसार अधिकृत पुष्यबिक्रम खड्काले जानकारी दिए । यर्थाथपरक बर्गिकरण र मूल्याङ्कन, चोरी निकासी पैठारी हुन सक्ने नाका, फर्म, ब्यक्ति, क्षेत्रको निगरानी तथा अनुगमन बढाई नियमित रुपमा गस्ति परिचालन, नतिजामुखी आन्तरिक लेखा परिक्षण र पिसिए, अन्तर भन्सार सूचना आदान—प्रदान, बेरुजु फछ्यौट, सरोकारवालाहरुसंगको नियमित छलफल, मुद्दाकोे निर्णय र लिलाम समयभित्रै सम्पन्न, प्रबिधिको अधिकतम प्रयोग, तथा छोटी भन्सारहरुको नियमित अनुगमन तथा कर्मचारी सदाचारिता र अनुशासन अभिबृद्विका कार्यले राजश्व असुलीमा बृद्धि हुन सहयोग पुगेको प्रमुख अधिकृत खड्काले बताए । भंसार चुहावटका गतिबिधीलाई पुर्ण रुपमा नियन्त्रण गर्न आफुहरु लागी परेको उनले बताए । नेपालको सिमानाबाट सबैभन्दा नजिकको ब्रोडगेज लाईन भएको भारतिय रेलवे स्टेसन र सो मार्फत भारतको विभिन्न औधोगिक तथा बन्दरगाह शहरहरु सम्मको सहज पहुंजले आयात निर्यात व्यापारमा भारी मात्रामा बृद्धि हुन सक्ने सम्भावना बिधमान रहनुका साथै औधोगिक र सिमेन्ट करिडोरको रुपमा कृष्णनगर क्षेत्रको बिकास हुनु तथा तेस्रो मुलुकको समेत कारोवार गर्न सक्ने क्षमता हुनु कृष्णनगर भंसारको भावी दिनका अवसरहरु भएको उनले तर्क दिए ।
यता भंसार चुहावट नियन्त्रणको कार्यक्रम तर्फ गत आवको अबधी भरी भंसारका कर्मचारीहरुबाट भएको गस्ती र निगरानीका क्रममा भंसार छलीका १२ मुद्दा दर्ता भई १६ लाख ६२ हजार ३ सय ७० रुपैया मुल्याङ्कनका सामाग्री बरामद भएका छन । सिमा क्षेत्रमा हुने भंसार छली र चुहावट रोक्नकै लागी खटाईएको शसस्त्र प्रहरीको सिमा सुरक्षा बल र शसस्त्र प्रहरीको तुलनामा नेपाल प्रहरीले ढाई गुणा बढि मुल्याङ्कनका सामाग्री भंसार चलान गरेको देखिएको छ । नेपाल प्रहरीले भंसार छलीका १ सय ५३ मुद्दा दर्ता गराई १ करोड २६ लाख ९४ हजार २ सय ६ मुल्याङ्कनका सामाग्री भंसार चलान र शसस्त्र प्रहरी बल र सिमा सुरक्षा बलले १ सय ०८ मुद्दा दर्ता गराई ५३ लाख ३१ हजार ३ सय ९० रुपैया मुल्याङ्कनका सामाग्री भंसार चलान गरेको छ । हाल जिल्लामा कृष्णनगर मुल भंसार कार्यालय सगै हालै मुल भंसार बनाउने निर्णय गरिएको सुठौली छोटी भंसार र चाकलचौडा भंसार सञ्चालनमा रहि भंसार राजश्व असुली हुने गरेको जनाईएको छ ।