© २०२३
बर्दघाट नगरपालिका वडा नम्बर १४ को चौपत्तामा अवस्थित अस्पताल अहिले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको दक्षिण भेगका जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । उक्त अस्पताल स्थानिय चिया पसल सामान्य कुराकानीले जन्मिएको अस्पताल हो । २०६४ असारमा स्थानीयले शहिद स्मृति सामुदायिक अस्पताल खोल्ने बिषयमा चिया पसलमा कुरा शुरु गरेका थिए ।
चिया पसलको कुराकानीलाई लक्ष्मण भण्डारी, टिकाराम भण्डारी, कृष्ण बहादुर जि.सि., ओम प्रकाश बश्याल लगायतको सक्रियतामा २०६४ असार ६ गते एक भेला आयोजना गरी अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । २०६७ साल बैशाख ११ गतेदेखि सँचालनमा आएको अस्पताल सुरुवाती दिनमा अस्पताल निर्माण गरी संचालन हुनेमा प्रायः कसैको विश्वास थिएन तर त्यस क्षेत्रका अगुवाहरुको सक्रियतामा अन्ततः अस्पताल स्थापना भइ अहिले २४ सै घण्टा सेवा दिइरहेको छ ।
अस्पताल निर्माणको लागि रकमको जोहो गर्न धनधान्यान्चल महायज्ञको आयोजना गरी सुरुवात गरिएको अस्पतालमा करिव १ हजार ४ सय आजिवन सदस्य रहेका छन । सामान्य एउटा टहरोबाट सुरु भएको अस्पतालले अहिले सुविधासम्पन्न भवनबाट विशेषज्ञ डाक्टर मार्फत ओ.पि.डी, दन्त सेवा, इमरजेन्सी सेवा, बर्थिङ्ग सेन्टर, अत्याधुनिक ल्याव, इ.सि.जि., डिजिटल एक्सरे, भिडियो एक्सरे लगायतका धेरै सुविधा प्रदान गर्दै आएको छ ।
नवलपरासी दक्षिण भेगका साविकका १८ गा.वि.स. का जनताहरु प्रत्यक्ष लाभान्वित हुने उद्देश्यले सँचालनमा आएको अस्पतालले भारत विहारका जनतालाई समेत निकै शुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । २ मेडिकल अफिसर, महिला तथा प्रशुती रोग विशेषज्ञ सहित ४२ जना स्टाफ रहेको यो अस्पताल नेपालका सफल सामुदायिक अस्पतालको सूचीमा पर्दछ । यस अस्पताललाई नेपाल सरकारले भौतिक सामाग्रीहरु र भवन निर्माणको लागि आर्थिक सहयोग पनि गरेको छ ।
अस्पताल सञ्चालनमा आएपछि उपचार अभावमा अकालमा ज्यान गुमाउनेहरुको संख्यामा कमि आएको अस्पताल स्थापनाको लागि महत्वपुर्ण भूमिका खेलेका तथा हालका सल्लाहकार लक्ष्मण भण्डारी बताउँछन । उनी भन्छन “सुरुमा अस्पताल संचालन गरौँ भन्दा अस्पताल सँचालनको सम्भावना छैन भन्नेहरु नै अहिले यहि अस्पतालबाट स्वास्थ्यसेवा लिइरहनु भएको छ, गम्भीर प्रकृतिका रोगहरु बाहेक धेरै रोगहरुको उपचार यहिँ सम्भव भएको छ ।” ग्रामीण भेगमा स्थापित सामुदायिक अस्पताल निकट भविष्यमा क्षेत्रिय अस्पतालको रुपमा विस्तार गर्ने लक्ष्य रहेको छ ।
स्वास्थ्यमा जनताको पहुँच पुर्याउने प्रयास हो
शहिद स्मृति सामुदायिक अस्पताल स्थापनाको मुख्य उद्देश्य नवलपरासीको दक्षिण भेगमा स्वास्थ्य सेवाको पँहुच नभएकोले यस क्षेत्रका जनतालाई सुलभ र स्तरिय स्वास्थ्य सेवा दिनु हो । यस क्षेत्रका जनता सामान्य स्वास्थ्य समस्या आउँदा पनि बुटवल वा भरतपुर जानुपर्ने बाध्यतालाई अन्त्य गर्नको लागि पनि धेरै मानिसको पायक पर्ने स्थानको रुपमा चौपत्तालाई रोजिएको हो ।
यस क्षेत्रका अधिकाँश मानिसहरु अशिक्षित, गरिवीको चपेटामा परेका, औषधि उपचारमा धेरै रकम खर्च गर्न नसक्ने स्तरका छन । अधिकाँश मानिस निजि अस्पतालमा गएर स्वास्थ्य परिक्षण गराउन असक्षम छन । ति सेवा नपाइरहेका मानिसहरुलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन, मेडिकल क्षेत्र ब्यवशायिकीकरण तर्फ गइरहँदा स्वास्थ्यमा सबैको पँहुच हुनुपर्छ भन्ने मान्यतालाई मनन गरी सबैको पहुँचमा स्वास्थ्य पु¥याउनको लागि यो अस्पताल सँचालन गरिएको हो । साथै ग्रामीण भेग र पिछडीएको क्षेत्रमा स्वास्थ्य शिविर सँचालन, अस्पतालको अगुवाइमा स्वास्थ्य शिविर सँचालन गर्ने उद्देश्यले यो अस्पतालको सँचालन गरिएको हो ।
क्षेत्र बहादुर थापा क्षेत्री
पूर्व अध्यक्ष,
शहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्र
जमिनको भोगाधिकार पाउन सकेनौं
२०६७ सालको सुरुवातबाट संचालनमा आएको यो अस्पतालले विभिन्न आरोह अवरोह पार गर्दै करिव ८ वर्ष पार गरेको छ । सुरुवाती दिनमा अस्पतालले दिने सेवा प्रति आम मानिसलाई विश्वस्त पार्नु सबैभन्दा ठूलो चुनौती थियो, जुन अहिले करिव पुरा भएको छ । हामी अझै पनि अस्पतालको विस्तारकै क्रममा छौँ । नेपाल सरकारले आर्थिक रुपमा सहयोग गरेको छ तर अस्पताललाई सबैभन्दा आवश्यक पर्ने विशेषज्ञ डाक्टर नपाउनु सबैभन्दा ठूलो चुनौतीको विषय रहेको छ ।
यो अस्पताल ग्रामीण भेगमा रहनु र डाक्टरहरु शहरमुखी हुनु दुखद पक्ष हो । विशेषज्ञ डाक्टर ग्रामीण भेग जान नमान्नु, सरकारले ब्यवस्था गर्न नसक्नुले झन गाह्रो भएको छ । साथसाथै अस्पतालले भोगचलन गर्दै आएको र तारबार गरी ब्यवस्थित गरेको करीव ४ विगाहा जग्गा हालसम्म पनि भोगाधिकारको समेत स्वामित्व पाउन सकेको छैन । ग्रामीण भेगमा रहेको अस्पतालले जनचेतनाका कार्यक्रम संचालन गर्ने, विभिन्न रोगका लागि घुम्ती शिविर सँचालन गर्नु पनि यस अस्पतालका चुनौतीहरु रहेका छन ।
निमानन्द न्यौपाने,
अध्यक्ष
शहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्र
५५ शैयाको अस्पताल बनाउने योजना छ
१५ शैयाको अस्पताल संचालनको अनुमति पाएको यस अस्पताल विगत ८ वर्ष देखी सफल संचालनमा रहेको छ । १५ शैयाबाट ५५ शैयाको अनुमतिका लागि कागजी प्रकृया अघि बढि सकेको छ । अस्पताल सँचालक समितिले अस्पतालको पहुँचमा रहेका नगरपालिका र गाँउपालिकासँग समन्वय गरी यस अस्पताललाई क्षेत्रिय अस्पतालको रुपमा विकसित गर्ने लक्ष्य लिएको छ । यस्तै निकट भविष्यमा मध्यम खालको स्वास्थ्य जनशक्ति (एच ए, स्टाफ नर्श) उत्पादन गर्ने कलेज संचालन गर्ने उद्देश्य लिएको छ । हामी १५ बाट ५५ शैयाको अनुमतिको प्रकृयामा छौँ, ५५ शैयाको अनुमति पाए लगत्तै सेवा विस्तारको पनि योजना बनाएका छौँ ।
यस अस्पताल चौपत्तामा संचालन भइरहँदा मुख्य समस्या भनेको जमिनको हो । अहिले अस्पताल संचालित जमिन सामान्य कागज गरेर भोगचलन गरि आए पनि अस्पतालको नाममा स्वामित्व छैन, जग्गा स्वामित्व ग्रहणका लागि पहल भइरहेको छ र हामीले ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहँुच पु¥याउनको लागि ग्रामीण स्वास्थ्य शिविरको अवधारणा अघि सारेका छौँ ।
यो अस्पताल संचालन हुनुपुर्व यस क्षेत्रका जनता स्वास्थ्य उपचारका लागि बुटवल वा भरतपुर जानुपर्ने बाध्यतालाई न्युनिकरण गरिरहँदा यस क्षेत्रका जनता सबैखाले उपचार यहि अस्पतालमा हुनुपर्छ भन्ने खालका अपेक्षा रहेका छन । यसको लागि स्थानियस्तर देखी केन्द्रसम्म अस्पतालको लागि आवश्यक भौतिक सामाग्री, दक्ष जनशक्ति उपलब्धताको लागि सरकारसँग माग गरिएको छ । हामीले करिव ९ महिना अघिदेखी संचालनमा ल्याएको प्रशुती सेवा निकै सफल भएको छ । आगामी दिनमा सर्पदशं उपचार, रेविज भ्याक्सीन लगायत विभिन्न विभागहरु संचालनमा ल्याउने योजनाहरु अस्पतालले लिएको छ ।
टिकाराम भण्डारी
कोषाध्यक्ष
शहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्र
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी