© २०२३
सुनवल, ३ बैशाख ।
जिल्लामा बजेट अभावमा झन्डै करिब पाँच दर्जन खानेपानी आयोजना वर्षाैंदेखि अलपत्र परेको छ । आयोजना सम्पन्न हुने टुंगो नलाग्दा सर्वसाधारण आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका छन् । लुम्बिनी प्रदेश सरकारले एक घर एक धारा अभियान अन्तर्गत घरघरमा शुद्ध पिउनेपानीको पहुँच विस्तार गर्न खानेपानी आयोजनाको निर्माण गर्ने योजना बनाएपनि बजेट अभावमा आयोजना पुरा हुन सकेका छैन ।
नवलपरासीमा प्रदेश सरकारको लगानी, संघीय शर्सत अनुदान र जलवायु अनुकुलित बृहद् खानेपानी आयोजना अन्तर्गत ७२ वटा खानेपानी आयोजना सञ्चालनमा छन् । जसमध्ये २० वटा मात्र सञ्चालनमा छन् ।
ती मध्ये पनि सबै आयोजना पूर्ण रूपमा सम्पन्न भएका छैनन् । प्रदेश सरकारले घरघरमा शुद्ध पिउने पानीको पहुँच बिस्तार गर्ने लक्ष्य अनुरूप सघन खानेपानी विकास आयोजना अन्तर्गत ४७ वटा खानेपानी आयोजना सूचिकृत छन् । ति मध्ये ८ वटाबाट मात्रै पानी वितरण भइरहेको छ । बाँकी धेरै आयोजना नाम मात्रैका छन्, काम सुरुनै भएको छैन् । प्रदेश सरकारले ४७ वटा खानेपानी आयोजनाको काम गर्न जम्मा ७ करोड ९१ लाख मात्र बजेट विनियोजन गरेको छ । ति मध्ये १२ वटा आयोजनाको लागि एक लाख भन्दा कम बजेट छ । एउटा आयोजना सम्पन्न गर्न लाखौ लागत लाग्ने निश्चित भएपनि प्रदेश सरकारले आयोजनाको सामान्य काम समेत हुन नसक्ने गरी बजेट विनियोजन गरेको छ ।
परासीमा चालु आर्थिक वर्षमा पुर्नस्थापित भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले दिएको जानकारी अनुसार एक लाख भन्दा कम बजेट भएका आयोजनाका सन्दर्भमा के काम गर्ने भन्ने नै अन्यौल छ । “बजेट कम छ, कतिपय आयोजनाको चालु आर्थिक वर्षमा कुनै पनि काम सुरु गर्न सक्ने अवस्था छैन्, गत वर्षको दायित्व समेत भुक्तानी गर्नुपर्ने गरी बजेट विनियोजन भएकाले बजेट अभावले काम गर्न कठिन भएको हो,” कार्यालयका प्रमुख इन्जिनियर प्रकाश न्यौपानेले भने । यसैगरी तराई मधेस खानेपानी सुधार कार्यक्रम अन्तरगत १६ वटा खानेपानी आयोजना सम्पन्न गर्न चालु आर्थिक वर्षमा जम्मा ५५ लाख ४४ हजार बजेट विनियोजन गरिएको छ । चार वटा मात्र योजना मार्फत पानी वितरण भएकोमा बाँकी आयोजना अलपत्र छन् तर बजेट विनियोजनको अवस्था दयनीय छ । ति आयोजना २०७५ साल अगाडि देखिनै निर्माण सुरुवात गरिएपनि बजेट खुम्चिँदै जाँदा आयोजना पुरा हुन सकेको छैन ।
त्यस्तै जलवायु अनुकुलित बृहद् खानेपानी आयोजना अन्तरगत संघिय सरकारको शर्सत अनुदानमा जिल्लामा ९ वटा आयोजना क्रमागत रूपमा सञ्चालित छन् । ती मध्ये ८ वटा आयोजना बाट भने खानेपानी वितरण भइरहेको छ । एउटा पुरा हुन बाँकी रहेको छ । सञ्चालनमा आएका आयोजनाको क्षमता विस्तार र बाँकी एउटा आयोजना पुरा गर्न १ करोड २२ लाख बजेट विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख न्यौपानेले बताए । उक्त आयोजना अन्तर्गत चार वटा खानेपानी आयोजना भने क्रमागत योजना बाटै हटाइएको पाइकाले समावेश गर्न आग्रह गरिएको उनले बताए ।
धेरै आर्सेनिकयुक्त क्षेत्र अन्र्तगत पर्ने रामग्राम वडा नम्बर १२ र १३ मा भने खानेपानी ट्याङ्कीं निर्माण सम्पन्न भएर पाइप विस्तारको क्रममा छ, खानेपानी वितरण हुन सकेको छैन् । उक्त खानेपानी आयोजना सम्पन्न गर्न नगरपालिकाले पनि स्थानीय तवरबाट सहयोग गरेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले बताए । प्रदेश सरकारका धेरै आयोजना अलपत्र हुदा स्थानिय तहलाई समेत अप्ठ्यारो भएको बताउदै मेयर यादवले सक्दो सहयोग गरेर खानेपानी आयोजना सञ्चालनको प्रयास गर्दे आएको बताए । चालु आर्थिक वर्ष भित्र सो खानेपानी आयोजनाबाट पानी वितरण हुने जनाईएको छ । लागत अनुमानको आधारमा बजेट विनियोजन नहुँदा खानेपानी आयोजना लामो समय देखि अलपत्र परेको डिभिजन कार्यालय परासीले जनाएको छ ।