© २०२३
बुटवल, ३ बैशाख ।
यातायात ब्यवसायी र मजदुरको हकहितमा अग्रसर रहेको यातायात मजदुर तथा ब्यावसायी भलाई कोषले आफनो ५१ औ स्थापना दिवस तथा ४७ औ वार्षिक साधारण सभाको अवसरमा रचनात्मक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरि मनाएको छ । कार्यालय परिसरमा बुधबार वृहत रक्तदान, स्वस्थ्य परिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि संस्थाले स्थापना दिवस मनाएको हो ।
एक समारोहका बिच कोषका पुर्वअध्यक्ष तथा भुमिहिन आयोग रुपन्देही जिल्लाका अध्यक्ष कुमार थापाले उद्घाटन गर्दै सवारी दुर्घटना र यसको कारण मजदुरहरुलाई पर्ने कानुनी र अन्य समस्याहरुलाई समाधान हुने गरि अग्रजहरुबाट यो स्थापना भएको बताए । मजदुरबाट चलाएको संस्था आफ्नो कार्यकालमा ब्यवसायीहरुलाई समेत समेट्ने गरि बिधान संसोधन गरिएको स्मरण उनले गरे। संस्थाको सदस्यता र नामाकरण समयसपेक्ष परिवर्तन हुदै आएको ईतिहास कोट्याउदै उनले भविष्यमा संस्थालाई चलायमान बनाउन परिवर्तन हुदै उत्कृष्ट संस्थाका रुपमा चिनिने गरि अघि बढ्ने बताए । सवारीको सिण्डिकेट र आलोपालोको विषयमा सरकार र यातायात ब्यवसायीहरु सहि ढंगबाट आम नागरिकलाई बुझाउनबाट चुकेको उनले बताए । संस्था आफनो स्वाभिमान र हैसियत अनुसार अघि बढेको उनले बताए ।
देशमा भैरहेको विकासको गति र सडक बिस्तारमा भएको ढिलाई बारे बताउदै सरोकारवाला निकायहरु दबाब दिन जरुरी रहेको बताए । भुमि आयोगको कार्यप्रगतिबारे प्रकाश पार्दै उनले देशकै ठुलो भुमिहिन र सुकुमबासी बसोबास रहेको जिल्ला रुपन्देहीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । ‘रुपन्देही जिल्लामा भुमिहिन र सुकुमबासी अन्य हुन्छ ।’–उनले भने । बुटवलको वडा नं ११ मा ६५ हजार जनसंख्या रहेको उनले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश फुल्लेलले मजदुर र ब्यवसायीहरुको हकहितमा संस्थाको महत्वपुर्ण योगदान रहेको बताए । नेपालगंज र पोखरामा शाखा कार्यालय स्थापना गरिएको छ । देशभर २८ वटा शाखा र ६८ जना कर्मचारी मार्फत कार्यसम्पादन भैरहेको छ । आव २०८१÷२०८२ मा विभिन्न प्रकृतिका जिवित २४० र निर्जिव ६५५ गरि ८९५ दुर्घटनामा सवारी साधनलाई आर्थिक, नैतिक र भौतिक सहयोग गरेको उनले बताए ।
कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले यातायात ब्यवसायीहरुको पिडा र समस्या समाधान सफलतापुर्वक गरेको हुदा नै संस्थाको गरिमा समुदायमा उच्च रहेको बताए । संस्थाका नेतृत्वबाट भएको खटान र जिम्मेवारीबाट कार्यसम्पादन महत्वपुर्ण रहने उनले बताए ।
कार्यक्रममा नेकपा एमाले पार्टीका जिल्ला अध्यक्ष यज्ञ गैरेले यातायात ब्यवसायीहरुमाझ आफ्नो योगदानकै कारण छुट्टै पहिचान बनाउन सफल संस्था भएको बताए । मजदुरको हितमा काम गर्ने गरि स्थापना भएको संस्था बिस्तारै ब्यवसायीहरुलाई समेत समेटेर विधान संसोधन गरि संस्था नया ढंगबाट अगाडी बढ्दा सफल भएको उनले बताए । सवारी दुर्घटना हुदा मजदुर, सवारी धनीको पक्षमा महत्वपुर्ण योगदान दिन सफल भएको उनले बताए ।
कार्यक्रममा पुर्वअध्यक्ष चीन बहादुर गुरुङले संस्थाको स्थापनामा संस्थापक अध्यक्ष स्वर्गिय राजेन्द्र श्रेष्ठको योगदानबारे चर्चा गर्दै यसलाई चलायमान बनाउन निरन्तर यातायात ब्यवसायी र मजदुरहरुको योगदान रहेको बताए । सिमित घेरामा रहेको संस्थाको क्षेत्र र सेवा बिस्तार गरेर सेवाग्राहीहरुको मन जित्न सफल भएको दाबी गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, पुर्वअध्यक्ष दिल बहादुर थापा, बुटवल उधोग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्ति अधिकारी, नेकपाका केन्द्रिय सदस्य शरद ओली, रुपन्देही उधोग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, नेपाली काग्रेस पार्टीका जिल्ला कोषाध्यक्ष तथा बुटवल उधोग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, पेट्रोलियम डिर्लस एशोसियनका हिमाल गैरे, रुपन्देही ब्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले सडक दुर्घटना न्युनिकरणका लागि संस्थागत रुपमा तालिम र अभिमुखिकरणलाई जोड्न आग्रह गरे ।
कार्यक्रममा सवारी साधनमा लामो सेवा गरि ५८ वर्ष उमेर हद पार गरेका चालक पशुपति खरेललाई आर्थिक सहयोग गरिएको छ। यसैगरि सवारी दुर्घटनामा मृत्यु भएका कृष्णलाल मरासिनीको परिवारलाई ५० हजार रुपैयाबाट सम्मान गरिएको छ ।
स्थापना दिवसको अवसरमा वृहत रक्तदान तथा स्वस्थ्य शिविर गरिएको छ । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ७६ युनिट रगत संकलन भएको महासचिव योग गुरुङले बताए । बुधबार सचिवालयमा मर्सि सिटी अस्पताल प्रालिको प्राविधिक सहयोगमा ब्यवसायीहरुको मधुमेहको परिक्षण गरिएको संस्थाका उपाध्यक्ष तथा संयोजक छबि थापाले बताए ।