© २०२३
बुटवल,२३ चैत । शान्ति र समृद्धिका लागि खेलकूद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगिता शुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले अन्तर्राष्ट्रिय खेलकूद दिवसको अवसरमा गरेको प्रतियोगिताको नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
प्रतियोगितामा देशभरका २ हजार ५ सय ५० महिला र पुरुष खेलाडी सहभागी छन् । लुम्बिनीस्थित शान्ति दीपमा एमाले अध्यक्ष ओलीले बालेको दीप ओलम्पिक कोच चन्द्रबहादुर घले, बिमला राना र मोहन घलेलाई दिएर प्रतियोगिता उद्घाटन भएको छ । प्रतियोगिता उद्घाटनमा अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहितका नेताहरु लुम्बिनी पुगेका छन् ।
मायादेवी मन्दिर अगाडिबाट सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २१ किलोमिटरको दूरी दौडने छन् । प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । महिलातर्फ प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउने छन् ।
दुबै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसँगै प्रमाणपत्र तथा मेडल प्रदान गरिने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
आजै नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषदको आयोजनामा लुम्बिनीमा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना गरेको छ । सो प्रतियोगितामा सहभागी कपिलवस्तुबाट लुम्बिनी आउनेछन् । यसमा विभिन्न देशका ५० धावकहरु सहभागी छन् ।