© २०२३
सल्यान, १८ चैत ।
खानेपानी योजनाहरूको आयु बढाउन सल्यानमा मर्मतसम्भारकर्तालाई तालिम प्रदान गरिएको छ । खानेपानीका योजनाहरू मर्मतसम्भारको अभावमा टिकाउ हुन नसकेको भन्दै जिल्लाको बागचौर नगरपालिकामा १७ जना ग्रामीण मर्मतसम्भार कार्यकर्तालाई तालिम प्रदान गरिएको हो । १२ दिनसम्म संचालन भएको तालिममा सहभागीहरूलाई फेरोस्मेन्ट टंकी निर्माण, प्लाष्टिक पाइप र जिआई पाइप जडान प्रक्रिया, धारामा निर्माण सामग्री फिटिङ, पानि शुद्धिकरण मेसिन जडान लगायतका सीप सिकाइएको नगरपालिकाले जनाएको छ ।
पानी सञ्चालन गर्दा मुहानदेखि धारा सम्मको आवश्यकता, खानेपानी शुद्धिकरणको तरिका जस्ता महत्वपूर्ण विषयमा जानकारी मिलेको तालिममा सहभागी टिकाराम गौतमले जनाए । सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना अन्तर्गत नगरपालिकाको वडा नं.२, ३, ७, ११ र १२ का मर्मतसम्भारकर्तालाई तालिम प्रदान गरिएको नगरपालिकाका वास संयोजक बिरेन्द्र प्रसाद जोसीले जानकारी दिए । बागचौर नगरपालिकाका उपप्रमुख सुम्निमा डिसी वलीले नगरपालिका भित्रका विभिन्न खानेपानी योजनालाई दिगो र प्रभावकारी बनाउनको लागी यसप्रकारको तालिम प्रदान गरिएको बताइन् । खानेपानी संरक्षणका लागी सक्षम जनशक्ति उत्पादन गर्ने कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ ।
साना गाडाकोट खानेपानी तथा सरसफाइ आयोजना बागचौर नगरपालिका ७ भुवनेश्वरी माध्यमिक विद्यालय गाँडाकोटमा तालिम संचालन भएको थियो । नगरपालिकाले तालिमका लागि पाँच लाख रूपैयाँ लगानी गरेको भन्दै वडा नं.७ का वडा अध्यक्ष प्रेम बहादुर डाँगीले सहभागीहरूलाई सिकेको सीप व्यवहारमा उतार्दै स्वरोजगार बन्न सुझाव दिए ।