© २०२३
अर्घाखाँची, चैत ।- धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा तीर्थालुको घुइँचोसँगै नरपानी, शितगंगा लगायतका अग्ला पहाड घुम्ने पर्यटक बढ्दो छन् । भारत र नेपालको तराइबाट दैनिकजसो पहाड चढेर सित्तल ताप्ने, बास बस्ने र पहाडका हरियाली मनोरम दृश्यावलोकन गरेर आनन्द लिने यतिबेला पहाड पर्यटकको रोजाई बनेको छ ।
भारतको सिद्धार्थ नगरबाट अर्घाखाँचीको नरपानी आएका अशोक महतो रुखको छहारीमा एकछिन आराम गरे । आहा, क्या सित्तल । त्यसपछि नरपानीमै एकरात बिताए । विहानै उठेर सफा मौसम, गाउँवस्ती, डाँडाकाँडा हेरेर मोवाइलबाट तस्बिर र भिडियो खिचे । फेसबुकमा रहेका साथीलाई भिडियो कल गरेर नरपानीको हरियाली पहाड देखाए । उनी परिवारसित घुम्न आएका थिए । ‘बिजनेस गर्दा व्यस्त भइन्छ, नेपालको नरपानीमा फ्रेस हुन आएका छौं,’ उनले भने, ‘हरियाली पहाड, चिसो मौसममा आनन्द लाग्यो ।’ उनी डाँडामा पुगेर केहीछिन बसे ।
दुई नर्तनाञ्चल पर्वत्को खोंचमा मन्दिर र त्यसबाट अलि माथि पहाडमा हरियाली जंगल, चिसो ठाउँबाट चारैतिर देखिने पहाडले यहाँ आएका तीर्थालु लोभ्भिन्छन् ।
भारतीय तीर्थालुका लागि धार्मिक पर्यटकीय स्थल सुपादेउराली पछिल्लो समय तीर्थस्थल बनेको छ । तराइसँग जोडिएको जिल्ला भएकाले पर्यटक पहाड चढ्द सहजै छ । नेपाल–भारत सीमा नाका कृष्णनगरबाट धेरै भारतीय पर्यटक गोरुसिंगे हुँदै सुपादेउराली मन्दिर दर्शन गर्न आउँछन् । आएका मध्ये केही नरपानीमा बास बस्छन् । मन्दिरमा दर्शनपछि प्रसाद ग्रहण गर्ने स्थल नरपानी पिकनिक स्टोस् हो । यहाँ प्रसाद ग्रहणको लागि आफन्त, साथीभाई र नातेदारलाई निमन्त्रणा गरेर रमाइलो गरिन्छ । गर्मीको बेला पनि चिसो भएकाले नाचगान गरेर रमाउँछन् ।
भारत सहित तराइका जिल्लाहरु र टाढाटाढाबाट पनि सुपादेउराली मन्दिरका लागि दर्शन गर्न आउनेको संख्या दैनिक एक सय जनाको हुने गर्छ ।
कोही मन्दिरमा दर्शन गर्न र खासगरी तराइबाट गर्मी छल्न आउँछन् । नवलपरासीबाट वासुदेव गिरी साता अघि गाडी रिर्जव गरेर नरपानी आए । उनले कपिलवस्तु र अर्घाखाँची पथ्थरकोटबाट उकालो चढेपछि सिरसिर हावा चल्दा आनन्द आएको बताए । पथ्थरकोटबाट उकाला लागेपछि जंगल यात्राबाट ठाडाको डमरु दहमा आइपुगिन्छ । ठाडा क्षेत्रबाट जंगल सहितको बस्तीका दृश्य देख्दा मन हर्षित भएको उनले बताए । ठाडा दह हरेपछि सुपादेउराली मन्दिरमा पगे । करिब दुई घण्टा लाइन लागेर मन्दिरमा दर्शन गरे । मन्दिर, नर्तनाञ्चल पर्वतका दुई पहाडमा तस्बिर खिचेर केही समय बिताए । त्यसपछि मन्दिर माथिपट्टीको झोलुंगे पुलमा पुगे । पर्यटकीय पुलमा उनी र उनको परिवारले टिकटक बनाए । फुलबाट मन्दिर तल देखिन्छ । यहाँ दुई ठँला पहाडको हरियाली, तल मन्दिर र खाँचीखोलाको दृश्य लिएर तस्बिर र टिकटक बनाउन करिब दुई घण्टा बिताएर नरपानीतिर लागेको उनले बताए । त्यहाँ पुगेर नर्तनाञ्चलपर्वतमा पुगेर चिसोमा रमाए । उनी त्यही रात बिताए र अर्काेदिन विहानको घाम झुल्केको हेरेर फर्किए ।
यसरी भारत र तराइका पर्यटक नरपानी आएपछि स्थानीय आर्थिक रुपमा फाइदा लिन थालेका छन् । नरपानी, खाँचीकोटका बारीमा उत्पादन राम्रो हुन्छ । गाउँमा इस्कुस, करेला, गिठा, पिडालु, सख्खर, गुन्द्रुक, साग, मुला, कांक्रो उत्पादन गरेर बिक्री गर्न थालेका छन् । सुपादेउराली मन्दिर, नरपानी चौरमा बोरामा राखेर कृषकले तरकारी बेच्न बस्छन् । ‘चिसो ठाउँमा उत्पादन भएको तरकारी, खाद्यवस्तु खानलाई स्वादिलो र मिठो हुन्छ भन्दै किनेर लैजान्छन्,’ स्थानीय जुना विकले भनिन, ‘आलु, मकै, गहुँ पनि बिक्री हुन्छ । तराई र भारतकाले किन्छन्, यसबाट छोराछोरीको पढाई घरखर्च, लत्ताकपडा, नँनतेल किन्न पुगेको छ ।’ उनीसँगै नरपानीका कृषकले तरकारी, खाद्यवस्तु बिक्री गरेर घरखर्च चलाएका छन् । मन्दिरको दर्शन र गर्मी छल्न पर्यटक आएपछि व्यवसाय पनि बढ्दो छ । नरपानी रिसोर्टमा धेरै भारतीय पर्यटक आएर बस्ने गरेको सञ्चालक पदम केसी बताउँछन् । भारतीय पर्यटकले फोन गरेरै कोठा बुकिङ गर्छन् । यहाँको वातावरणमा रमाएर फर्किने गरेको उनले बताए ।
परिवारसित आएकाले छोराछोरीको आग्रहमा बसाई लम्ब्याउँछन् । यस क्षेत्रमा रिर्सोट र होटल खुल्नेक्रम बढदो छ । सुपादेउराली लाहुरे टाँसेको ठाउँमा सुवर्णखालका शान्तबहादुर शारुले होटल सञ्चालन गरेका छन । सुपादेउराली आउने तीर्थालु पर्यटकलाई लक्षित गरेर होटल खोलेको उनले बताए । भारतबाट आउने तीर्थालुले फोन गरेरै कोठा बुकिङ गर्छन । मन्दिरमा वली चढ्छ । चढाएको प्रसाद ग्रहण होटलमा बस्छन् । कोही विहान आएर मन्दिर दर्शनपछि खाना खाएर बेलुकापख फर्कने उनले बताए । अग्लो पहाडको बीचमा मन्दिर छ । यहाँमा बसेर पहाड हेर्दै रमाउने गर्छन । सुपादेउराली, खाँचीकोट दरबार, नरपानी, नर्तनाञ्चल पहाडका विभिन्न दृश्य अवलोकन र सदरमुकामसम्म पर्यटक पुग्छन् ।
सुपादेउराली र नरपानी आउने पर्यटकलाई जंगबहादुर जन्मेको मथुरादरबार, न्वारन गरेको बल्कोट पौवा, पाणिनि तपोभँमी, अर्घादरबार, मालारानी मन्दिर, नृसिंहस्थान लगायतका धार्मिक तथा ऐतिहासिक प्राकृतिक स्थलमा लगेर पर्यटनबाट युवालाई स्वरोजगार बनाउन सकिने प्रशस्त आधार भएको जिल्ला समन्यव समिति प्रमुख जीवनारायण कोइरालाले बताए । स्थानीय ओमबहादुर थापाले सुपादेउराली मन्दिर दर्शन गर्न र नरपानी आएका पर्यटकलाई भुलाउन पर्यटकीय संरचना निर्माण गर्नुपर्ने बताए । नेताले पर्यटकबाट स्वरोजगार बनाउँछौ भनेपनि दुईचार दिन भुल्ने खालका रमाउने, अध्ययनगर्ने लगायत स्थललाई व्यवस्थित गरेर संरचना बनाएमा मात्रै धेरै युवाले काम पाउने उनले बताए ।