© २०२३
बिहान उठेपछि डोको नाम्लो बोक्ने । डोको बोकेर दिनको दुई पटक उकालो ओरालो गर्ने प्रेम पाण्डेको दैनिकी हो । उनले डोको घाँस, दाउरा र पानीका लागि भने बोक्ने गरेका होइनन् । तर उनी दैनिक डोको बोकिरहन्छन अनि उकालो ओरालो गरिरहन्छन् । यसरी उनले दैनिक रूपमा बोक्ने डोकोभित्र भने देउता रहन्छन् । जुन रम्भादेवी मन्दिरकी देउता हुन् । उनै रम्भादेवी र देवीको शिलालाई मन्दिरका पूजारी पाण्डेले दैनिक रूपमा बोकेर मन्दिर र घर गर्ने गर्दछन् । यसरी देवी डोकोमा बोकिन लागेको ४२ बर्ष पुगिसकेको छ । तर पूजारी पाण्डेले यसरी डोकोमा देवीलाई निरन्तर बोक्न लागेको २२ बर्ष पुगेको छ । त्यसअघि उनका बुबा मन्दिरका पूजारी भएका कारण उनैले मूर्ति डोकोमा बोक्ने गर्दथे । पूजारी पाण्डेका साथमा अर्का पूजारी टिकाराम बस्याल पनि रहने गर्दछन् । मन्दिरकी देवी मन्दिरमै राखी छाड्दा देवीको मूर्ति चोरी हुने हो कि भन्ने डरका कारण बोक्नु परेको पाण्डे बताउँछन् । मन्दिर व्यवस्थापन समितिले यस्तै निर्णय गरेको छ के गरुँ ? पाण्डे भन्छन् । जंगलको बीचमा रहेको रम्भादेवी मन्दिरमा २०२९ सालमा देवीको मूर्ति चोरी भएपछि मन्दिर व्यवस्थापनले यस्तो नियम बनाएको हो । दिनभर मन्दिरमा पूजाआजाका लागि देवीको मूर्ति मन्दिरमा राख्र्ने, साँझ डोकोमा बोकेर देवीलाई घरमा ल्याउने, अर्को दिन बोकेर देवीको मूर्तिलाई मन्दिर पु¥याउने । मूर्ति चोरी भएपछि २०३३ सालमा पित्तलको नयाँ मूर्ति बनाइएको पूजारी पाण्डेले बताए । घरबाट मन्दिरसम्म आउन साढे एक घण्टा लाग्ने उनले मूर्ति भने रम्भादेवी वन संरक्षण समितिका पूर्व अध्यक्ष छन्दप्रसाद श्रेष्ठको घरमा राख्ने गर्दछन् । मन्दिरको व्यवस्थापन यसै समितिले गर्ने गरेको छ । ताहुँ बजारमा श्रेष्ठको घर छ जहाँबाट मन्दिरसम्म पुग्न करिब २० मिनेट लाग्दछ । बिहान घरबाट ताहँु बजार पुगेपछि पाण्डेले बजारका ५२÷५३ घरमा अक्षता उठाउँछन् अनि मात्र अक्षता लिई डोकोमा देवीलाई बोकी मन्दिरको बाटो लाग्छन् । मन्दिर एकान्त ठाउँमा भएको हँुदा मूर्तिको सुरक्षाका लागि दुःख गर्नुपरेको पाण्डेले बताए । जाडोको समयमा बिहान ८ बजे र गर्मीको महिनामा ७ बजे मन्दिरमा देवीको मूर्ति र शिला बोकी आइपुग्ने पूजारी पाण्डेले बताए । पूर्णिमा, पञ्चमी जस्ता पूजाको साइत पर्ने दिनमा साँझ ५ बजेसम्म र अरूबेला १२ बजेतिर मूर्ति फर्काउने गरिएको छ । रम्भादेवी वन संरक्षण समितिका अध्यक्ष हुमबहादुर श्रेष्ठले पटक पटक मूर्ति चोरी भएपछि सुरक्षाका लागि घरमा ल्याउने गरिएको बताए । उनका अनुसार चोरी भएको मूर्ति सुनको थियो भने त्यतिबेला मन्दिर बनिसकेको थिएन भने तारबार पनि थिएन ।