© २०२३
तिनाउ–बुटवल सरसफाई अभियानमा जनसहभागिता बढ्दै गएको छ । अभियानको चौबिसौं साताको श्रृंखलासम्म पुग्दा स्वतःस्फूर्त रूपमा सहभागी हुने क्रम बढेको छ ।
बुटवल उपमहानगरपालिका अन्र्तगत विभिन्न सामाजिक संघ संस्थाहरूले अगाडि बढाएको यो अभियानले २४ औं श्रृंखला पूरा गरेको छ । यसैक्रममा शनिबार बुटवल बहुमुखी क्याम्पसदेखि ट्राफिक चोकसम्म सरसफाई गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले सुरु गरेको यस्तो महाअभियानमा मुख्यमन्त्री, मन्त्रीहरू, सांसदहरूदेखि यातायात मजदुरसम्मको सहभागिता जुटिसकेको छ । विहानै ७ बजे बुटवलमा एक हुल मान्छे सडकमा निस्कने र भेटेजतिको फोहर टिपेर लैजाने गर्दै सुरु भएको अभियानमा सार्वजनिक निजी दुबै क्षेत्रको उत्तिकै सहभागिता जुटेको उप–महानगरपालिकाले जनाएको छ ।
चौबिसौं श्रृंखलामा सरसफाई अभियानमा उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, वडा अध्यक्षहरू, सामाजिक महाशाखा प्रमुख भुवाप्रसाद लुईँटेललगायतको सहभागिता थियो ।
‘हाम्रो बुटवल हामी सफा गर्छौ’ भन्ने सन्देश प्रवाह गर्न बुटवले महाअभियानको सुरुवात गरेको प्रमुख शिबराज सुवेदीले बताए । उनले आफ्नो सहर आफै सफा राखौं भन्ने सुझाव जनस्तरबाटै आएकाले यस्तो अभियान सुरु गरिएको बताए ।
उपमहानगरको सरसफाईको नियमित कामका अतिरिक्त सार्वजनिक क्षेत्रहरूलाई लक्षित गरेर जनसहभागिताको यस्तो अभियान सुरु गरिएको उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
नेपाल स्वतन्त्र यातायात मजदुर संगठन प्रदेश नं ५ ले संयोजन गरिरहेको महाअभियानको सरसफाई कार्यक्रममा शनिबार तीन सय २५ जना भन्दा धेरैको स्वतः स्फुर्त सहभागिता रहेको अगुवा ठाकुर गैरेले बताए ।
शनिबार भएको सरसफाई कार्यक्रममा सिमिचौर सम्पर्क समाज, नेपाली सेना, शसस्त्र सेना, वडा नं ४ का वडासदस्यहरू लगायतको सहभागिता रहेको मजदुर संगठन, प्रदेश नं ५ का सह–संयोजक गैरेले बताए । संगठनमा आवद्ध मजदुरहरूको सक्रीयतामा संचालन भैरहेको महाअभियानलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), पहिलो पाईला, लायन्स क्लब, युवालगायत सुरक्षाकर्मीहरू स्वतस्फुर्तरूपमा सहभागी छन् ।
सरसफाई अभियानमा तिनाउ नदी, अस्पताल, मुख्य सडक र चोकहरू, स्कुल परिसर, पार्कहरूसम्मै पु¥याउने गरी योजना बनाइएको बुटवल उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए ।
यस्तो अभियानमा मुख्यमन्त्रीदेखि प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरूसमेत सरिक भइसकेका छन् । कुनै एउटा संस्थाको नभई बुटवलबासीको प्रतिष्ठासँग जोडीएको भन्दै संगठनका प्रदेश अध्यक्ष कृष्णप्रसाद कंडेलले सबैलाई महाभियानमा सामेल हुन अनुरोध गर्नुभएको छ । बुटवलका सबै क्षेत्रबाट स्वतः स्फुर्तरूपमा सरसफाईमा लाग्न उनले आह्वान गरे ।
‘हाम्रो बुटवल हामी सफा गर्छौ’ भन्ने सन्देश सहित गत असार ५ गतेबाट बुटवल उपमहानगरपालिकाले तिनाउ नदि तथा बुटवल सरसफाई महाअभियान सुरु गरेको थियो । सरसफाई प्रत्यक हप्ताको शनिबार विहान ७ बजे देखि ९ वजे सम्म संचालन भएका छन्. ।
बुटवल उपमहानगरको बस्ती र बाटोको क्षेत्रहरू सफा गरिसकेपछि तिनाउ नदिको सफाईमा जुट्ने उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिए । उनले बुटवलको विकास र समृद्धिमा बुटवलबासीकै योगदान अपरिहार्य रहने भन्दै सरसफाई महाअभियानमा जुट्न नगरबासी सबैलाई अपिल गरिएको बताए ।