© २०२३
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको जनसंख्या बृद्धिदरमा क्रमिकरुपमा कमी हुँदै गएको छ । यो नेपालका लागि चिन्ताको बिषय हो । तत्काल यसको असर र प्रभाव नदेखिएपनि कालान्तरमा यो ठूलो समस्याको रुपमा देखिने समाजशास्त्रीहरुको चिन्ता छ । २०५८ सालको जनगणनामा नेपालको वार्षिक जनसंख्या २ दशमलव २५ रहेकोमा सो दर घटेर २०६८ मा १ दशमलव ३५ र २०७८ सालको जनगणनाका ० दशमलव ९२ प्रतिशतमा झरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजामा उल्लेख गरिएको छ । राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । जसमध्ये पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ जना रहेको छ । समाजशास्त्रीहरुले जनसंख्या वृद्धिदर कम हुनु भनेको दीर्घकालीन रूपमा भने नेपाललाई ठूलो घाटा हुने अवस्था भनेका छन । जनसंख्या बृद्धिदरमै कमी आउनु, पहाडबाट बसाईसराई गरि तराई झर्ने क्रम झनै बढ्नु मूख्य चुनौति हुन । यही स्थिति कायम भए नेपालमा भविष्यमा जनसंख्या कम हुँदा देशलाई चाहिने दक्ष जनशक्तिको अभाव हुनेमा शंका गरिरहनु पर्दैन ।
जनगणनाका अनुसार कुल १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा रहेका छन् । उक्त संख्यामध्ये १७ लाख ९९ हजार ६७५ जना पुरुष र तीन लाख ९० हजार ९१७ जना महिला रहेका छन् । २०६८ सालको जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना विदेशमा बसोबास गरेका थिए । विदेशमा बसोबास गर्नेक्रम बढ्दै गएको देखिनुपनि नेपालका लागि चुनौति हो । नेपालमा नेपालीहरु नै बसोबास नगर्ने अर्थात विदेशमै गएर उतै बस्ने जुन प्रवृत्ति देखिएको छ त्यो नेपालको लागि ठूलो घाटा हो । त्यसबाट न नेपालमा रेमिटान्सको मात्रा बढी आउँछ न त बिदेश पुगेका नेपालीबाट नेपालको विकासमा योगदान नै पुग्छ । राष्ट्रिय जनगणनाले नेपालको अवस्थाको बिषयमा धेरै चिन्ता नै थपेको छ ।
अर्कोतर्फ नेपालका पहाडी जिल्लाबाट ठूलो संख्यामा बसाईसराई गरि तराई झनै क्रम बढेको देखिएको छ । यो अर्को ठूलो चिन्ताको बिषय हो । जनगणनाले देखाएको तथ्याँक अनुसार यही अवस्थामा बसाईसराई हुने हो भने नेपालका पहाड रित्तिने अवस्थामा पुग्नेछन । शहरी क्षेत्रमा जनसंख्या थपिँदो छ जुन मूख्य चुनौतिका रुपमा रहनेछ । यही लुम्विनी प्रदेशकै अवस्था समेत गंभीर देखिएको छ । पहाडमा जनसंख्या समेत घटेको देखिएको छ । यो नेपालका लागि अर्को चुनौति हो । गुल्मी, पाल्पा र अर्घाखाँचीको जनसंख्या बृद्धि विगतमा सुस्त थियो तर अहिले ऋणात्मक भएको अवस्था छ । यो भनेको पहाडी जिल्ला रित्तिदैछन भन्ने संकेत हो । यस विषयमा अव सम्वन्धित निकायको ध्यान जानु जरुरी छ । बसाईसराई रोक्नेतर्फ अव पहल नगर्ने हो भने जनगणनाले औंल्याए जस्तोगरि अव तराई भरिने र पहाड रित्तिने निश्चित छ । यसले नेपाललाई दूरगामी असर पु¥याउने निश्चित छ । तसर्थ जनगणनाले देखाएको बिहंगम अवस्थाप्रति अव समयमै सोच्नु जरुरी छ ।