© २०२३
ठूला ठूला कार्यक्रममा आइडल छनौट गर्दा एस.एम.एस. बाट भोट दिने व्यवस्था तपाईं हामीले नसुने, नदेखेको होइन । तर कुनै ठाउँमा लाग्ने मेला महोत्सवमा आइडल छनौटको लागि टिकटबाट भोट दिइने व्यवस्था भएपनि एस.एम.एस. बाट समेत भोट दिने व्यवस्था सायद चन्द्रौटा महोत्सवमा शुरुवात गरिएको पहिलो होला ।
सूचना संचार प्रविधिको विकाससँगै चन्द्रौटा महोत्सवलाई यसपटक प्रविधिमैत्री बनाइएको छ । डान्स आइडल छनौटको लागि जिल्लामै पहिलो पटक एस.एम.एस. मार्फत भोट दिने व्यवस्था गरिएको छ । आइडल छनौटलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउन भोटिङ पार्टनर्सको रूपमा स्प्यारो एस.एम.एस. ले सहयोग गरेको राजहंस इन्फोसिस एण्ड आइटी सोलुसन्सका प्रबन्धक एवं मेलाका प्रविधि संयोजक माधव घिमिरेले बताए ।
पाँचौ चन्द्रौटा डान्स आइडलका प्रतिष्पर्धीलाई छनौट गर्न म्यासेज बक्समा सीडीआई ९ऋम्क्ष्० टाइप गरी एक स्पेस दिई मन परेको प्रतियोगीको भोटिङ कोड राखी ३३००१ मा एस.एम.एस. गर्न सकिने व्यवस्था मिलाइएको क्यान कपिलवस्तुका जिल्ला अध्यक्ष समेत रहेका घिमिरेले जानकारी दिए ।
प्रथम अडिसनबाट छनौट भएका १२ जना प्रतियोगीहरूलाई ०१ देखि १२ सम्म कोड दिइएको प्रविधि संयोजक घिमिरेले बताए । आइडल छनौटका लागि नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल, यूटिएल सिमबाट एस.एम.एस. गरी मन परेकालाई भोट दिन सकिने घिमिरेले जनाए ।
यतिमात्र होइन चन्द्रौटा महोत्सवलाई शान्ति सुव्यवस्थालाई चुस्त, दुरुस्त र भरपर्दो बनाउन सूचना प्रविधिको प्रयोग गर्दै सिसी क्यामेरा जडान गरिएको छ । भिष्टा कम्पनीका फोर के टेक्नोलोजीको आईपी बेस क्यामेरा २४ स्थानमा जडान गरिएको छ ।
चन्द्रौटास्थित राजहंस इन्फोसिस एण्ड आइटी सोलुसन्स सीसी टिभी पार्टनर्सको रूपमा सो सहयोग गरेको हो । टिकट काउन्टर, स्टेज, बालउद्यान, पार्किङ, प्रमुखद्वार, निकासद्वार लगायतका सम्बेदनशील स्थानमा सिसी क्यामेरा लगाइएको प्रविधि संयोजक माधव घिमिरेले बताए । महोत्सवको हरेक स्थानको निगरानी सचिवालयमा बसेर महोत्सव संयोजक महादेव पोख्रेलले प्रत्यक्ष निगरानी गरेका छन् । यसका साथै संयोजक पोख्रेलले मोबाइलबाट समेत महोत्सवको प्रत्यक्ष निगरानी गर्ने व्यवस्था मिलाइएको प्रविधि संयोजक घिमिरेले जानकारी दिए ।
“सूचना प्रवाहलाई प्रभावकारी बनाउन महोत्सवका हरेक स्टलहरूमा अडियो म्यासेज सिस्टम जडान गरिएको छ । जसको कन्ट्रोलिङ सचिवालयबाट गरिएको छ ।” प्रविधि संयोजक घिमिरेले भने – कसैको सामान हरायो, बच्चा हरायो, साथी हरायो भने सचिवालयबाट हरेक स्टलसम्म चुस्त, दुरुस्त र छिटो छरितो सूचना प्रवाह गर्न सकिन्छ ।
यसैगरी समाचार संकलन गरी छिटो छरितो रूपमा सूचना प्रवाह गर्न तथा सचिवालयका पदाधिकारीलाई छिटो छरितो र तत्काल काम कारबाहीलाई अगाडि बढाउन फाइबर इन्टरनेटको व्यवस्था गरिएको छ । जसको लागि कनेक्ट नेपालले इन्टरनेटको व्यवस्था गरेको छ । यस्तै जनमानसको भिडभाडले मोबाइल नेटवर्कमा हुने समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकमले अस्थायी मोबाइल टावर बसको व्यवस्था गरिदिएको प्रविधि संयोजक घिमिरेले बताए । सचिवालय र स्टेजमा विद्युतीय उपकरणको बढी प्रयोग भएकाले भवितव्य घटना हुन नदिन फायर सर्ट मेसिनको समेत व्यवस्था गरिएको घिमिरेले जनाएका छन् ।
यसैबीच महोत्सवमा सूचना तथा प्रविधि सम्बन्धी विभिन्न स्टलहरू र परामर्श केन्द्रको समेत व्यवस्था गरिएको छ । क्यान कपिलवस्तुको सहयोगमा महोत्सवलाई प्रविधिमैत्री वातावरण बनाउन प्रोत्साहन गरेको क्यान कपिलवस्तुका सचिव अर्जुन थापाले बताएका छन् ।
à