© २०२३
पूर्व माननिय स्वर्गिय भगवानदास गुप्तको २१ औं स्मृति दिवसको पुण्य तिथी समारोह तौलिहवामा सम्पन्न गरिएको छ । भगवानदास गुप्त स्मृति प्रतिष्ठानको आयोजनामा तौलिहवामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा आयोजित कार्यक्रममा बिभिन्न सामजिक क्षेत्रका अगुवाको सम्मान, २० जना दृष्टीबिहिनलाई सेतो छडी प्रदान, बाल गृहका अनाथ बालक र अस्पतालका बिरामीलाई फलफूल बितरणसँगै प्रशासन चौकमा रहेको स्वर्गिय गुप्तको सालिकमा माल्यार्पण गरिएको थियो । बि.सं. २०२१ देखी सक्रिय राजनीतिमा लागेर गाउँ बिकास समितिको सदस्य, जिल्ला पञ्चायत सभापति हँुदै माननिय भएका स्वर्गीय गुप्तको स्मृतीमा प्रत्येक बर्ष स्मृति दिवश मनाउने गरिएको छ ।
सो अवसरमा बोल्दै प्रतिष्ठान संरक्षक रामदास गुप्ता, प्रदेशसभा सदस्य दृघनारायण पाण्डेय, धर्मबहादुरलाल श्रीवास्तब, पुर्वमन्त्री ईश्वरदयाल मिश्र लगायतले स्वर्गिय गुप्ताको त्याग, निष्ठा र ईमान्दारिताको मार्गदर्शन लाई आत्मसात गर्न सकिए उनी प्रति सच्चा श्रद्धान्जली हुने बताए । पिता स्वर्गिय गुप्तासँग आफूले बाल्यकालमा खासै समय बिताउन नपाएको भन्दै स्वर्गिय गुप्ताका छोरा संघिय सभाका साँसद बृजेश कुमार गुप्ता भावुक बने ।
“बुवाको राजनीति प्रतिको लगाव र मेरो शिक्षाका कारण बुवासँग बाल्यकाल बिताउनै पाईन । बुवाको अल्पायुमा आजकै दिन निधन भएको स्मरण गर्दा मलाई बोल्न पनि गाहे हुने गरेको छ ।” आँखाभरी आशु बनाउँदै उनले भने । पिताको अल्पायुमै निधन भए पनि पिताका समकक्षी र शुभेच्छुकको प्रेम, सहयोग र सदासयताले पिताको कमीको अनुभुती कम गराउने गरेको उनको भनाइ थियो । स्वर्गिय पिताको पथमा हिँडे मात्रै पिता प्रतिको सच्चा श्रद्धान्जली हुने बताउँदै पिताको पथमा आफू हिँडेर उनको मार्गदर्शनलाई पछ्याउने गुप्ताले प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठानले बार्षिक कार्यक्रम मात्रै नभई सामाजिक उत्तरदायित्व बहनका कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएको जानकारी दिँदै आगामी दिनमा प्रतिष्ठानले सामाजिक सचेतनाका गतिबिधीलाई निरन्तरता दिने उनको भनाइ थियो