© २०२३
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि अहिले विद्यार्थीमाझ निर्वाचनको चहलपहल बढेको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन चैत ५ गते हुने भएकोले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विद्यार्थीको हितमा केन्द्रित गर्नुपर्ने दायित्व र चुनौति थपिएको छ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएपछि निर्वाचनमा वि.सं. २०५१ फागुन २८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् । यो व्यवस्थाले वास्तविक विद्यार्थी नै स्ववियू निर्वाचनमा उम्मेदवार हुने अवस्था देखिएको छ जुन स्वागतयोग्य कुरा हो । निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको छ । जस अनुसार स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । स्ववियू निर्वाचनले बिद्यार्थीमाझ तरंग सिर्जना गरेको छ । देशको राजनीतिक परिवर्तनमा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहँदै आएको सन्दर्भमा यो निर्वाचनले पनि देशको संघीय शासन व्यवस्थालाई अझै मजबुत गर्न सहयोग पुग्नेछ । युवा समृद्घ देशको आधारस्तम्भ हुन भने विद्यार्थी राजनीतिको आधारस्तम्भ हुन । अझ शिक्षा र युवा दुवैलाई समेटर हुने गतिविधिले धेरैको ध्यान तान्छ, स्ववियु चुनाव यस्तै एउटा मोड हो । विद्यार्थीको सरकार भनेर विश्वव्यापी मान्यता स्थापित गरेको यस्तो चुनाव शिक्षाका विभिन्न बेथितिहरूलाई सम्बोधन गर्दै विद्यार्थीको हकहित प्रत्याभूति गर्नेतर्फ केन्द्रित हुनुपर्दछ ।
देश संघीयतामा गएपनि हाम्रो शिक्षा प्रणालीमा रहेका विभेदहरु अझै अन्त्य भएको छैन । आम विद्यार्थी प्रताडित अवस्थामा छन् । शिक्षाले देशमा बस्ने र देशको सम्मान गर्ने नागरिक उत्पादन गरेको छैन । विश्वविद्यालयहरुले अझैपनि उच्चस्तरका जनशक्ति उत्पादन गर्न नसकेको गुनासो सुन्नमा आईरहन्छ । उच्च शिक्षामा भएका विविध बेथिती अन्त्यको प्रत्याभूति गर्न स्ववियूको भूमिका सकारात्मक हुन सक्छ । स्ववियू निर्वाचनकै क्रममा विगतमा विद्यार्थीहरुकै बीच झडप, बादबिबाद र अस्थीर अवस्था सिर्जना भएको इतिहास छ । चैतमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुन सकोस् । विगतमा हुँदै आएका मनोमालिन्यको अवस्था अन्त्य गर्दै स्ववियूलाई विद्यार्थीको हितमा केन्द्रित गरियोस् । यसमा सवैको भूमिका सकारात्मक हुन सकोस् । निश्चितरुपमा शिक्षा भनेको प्रमाणपत्रको थाक र सूचनाको भारी हैन, सोच र चेतनाको स्तर पनि हो । सत्कर्म, सदाचार र शिष्टाचार बढावा गर्ने कुरा हो । तर, विद्यार्थीको राजनीतिले शिक्षामा यस्तो विशेषता निर्माण गराउन सकेको छैन । अर्थात विद्यार्थीहरुको हितमा केन्द्रित योजना बनाउने भन्दा पनि द्वन्द्व बढाउने काम भएको छ । तसर्थ चैतमा हुने स्ववियू निर्वाचन अपबाद बनोस् । स्ववियू निर्वाचनकै सन्दर्भमा भन्नुपर्दा हाम्रा विद्यालयहरु पार्टीका प्रयोगशाला बन्ने गरेका छन् । अधिक राजनीतिका कारण सरकारी शिक्षाको गुणस्तर खस्कदै गएको छ । शिक्षाको सुधारका विषयमा कोहीपनि बोल्न तयार छैन । तर, अव स्ववियू निर्वाचनले त्यो ऐतिहासिक दायित्व ग्रहण गरोस् । स्ववियु निर्वाचनको जुन उद्देश्य र लक्ष्य छ त्यसको लक्ष्य हासिल गर्ने सवालमा यसलाई सफलता मिलोस् । स्ववियू दलहरुको शक्ति केन्द्र रिझाउने केन्द्र नबनोस् । क्याम्पस शिक्षाको गुणस्तर विकासमा यो निर्बाचन ऐतिहासिक बनोस् । अहिले जसरी विद्यार्थीमाझ स्ववियु निर्वाचनलाई लिएर उत्साह सिर्जना भएको छ, त्यो उत्साह नयाँ नेतृत्व चयन भएपछि पनि अझै सारगर्भित बनोस् ।