© २०२३
दाङ तुलसीपुरका एक युवाले विदेशबाट फर्किएर घरमै जाली बुन्न सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ हेरेवासका डिल्ली खड्का २ वर्षसम्म मलेसियामा बसेको र त्यहाँ आफूले गरेको दुःख अनुसारको कमाई गर्न नसकेपछि गाउँमै केही गरेर रोजगार बन्ने उद्देश्यका साथ एक लाखको लगानीमा कम्पाउण्ड तार जाली बुन्ने मेसीन खरीद गरी जाली बुन्दै आएको बताउँछन् । ज्यालामा जाली बुन्ने गरेका खड्काले छोटो समयमै दैनिक ३ हजार बढी कमाई हुने गरेको बताउँछन् ।
एक वर्ष अघिदेखि सुरु गरेको कामबाट लागत खर्च उठाइसकेको उनको भनाइ छ । आफूसहित एक जना कामदार राखेर सञ्चालन गरिएको काम गाउँमै पहिलो भएको खड्काले बताए । “बजारमा धेरै खुलेका छन् तर गाउँमा पहिलो पटक मैले खोलेर सेवा दिँदै आएको छु”–उनले भने । गाउँका बेरोजगार युवाहरूलाई कम लगानीमा पनि कमाई गर्न सकिन्छ भन्ने सन्देश खड्काले दिएको स्थानीय बताउँछन् । दैनिक ७० केजी देखि एक क्वीन्टल सम्मको तार बुन्ने गरेका खड्काले एक केजी तार बुने बापत ४५ रूपैयाँ लिने गरेको बताउँछन् ।
पछिल्लो समय गाउँघरमा पर्खालको रूपमा तारको जाली प्रयोग गर्नेको संख्या बढेकाले पनि कामको कमी नरहेको उनले बताए । तारको जाली प्रयोग गरेमा पर्खालको काम गर्ने र आवश्यक परेमा सजिलै एक ठाउँदेखि अर्को ठाउँमा सार्न सकिने एवं पर्खालको तुलनामा सस्तो पर्ने भएपछि जाली प्रयोग गर्नेको संख्यामा वृद्धि भएकै कारण कामको कमी नभएको खड्का बताउँछन् । विदेशमा अर्काको अडर अनुसार काम गर्दा पनि निश्चित कमाई हुने गरेको तर यहाँ आफ्नो ईच्छा अनुसारको काम गर्दा पनि दैनिक ३ हजार बढी कमाई हुने गरेको उनले बताए ।
गाउँघरमा तारजालीको प्रयोग गर्नेको संख्या बढेको र सवैले बजारबाट ल्याउने गर्दा केही महँगो पनि परिरहेका बेला आफुले गाउँमा उद्योग सञ्चालन गरेर आफू रोजगार हुनुका साथै गाउँलेहरूलाई पनि गाउँबाट नै सेवा दिएको खड्का बताउँछन् । उनले बेरोजगार युवाहरूलाई यी र यस्तै खाले कम लगानीका उद्योगहरू सञ्चालन गरेर स्वदेशमै रोजगारी बन्न सुझाव दिएका छन् । à