© २०२३
उमेरले १२ पुग्दा यी बृद्ध पहिलो पटक बटौली झरेका थिए । अहिले उनको उमेर ८३ बर्ष पुगेको छ । नागरिकतामा भने उनले ८० बर्ष उमेर भएको बताउँछन् । बाग्लुङ थनथापबाट दर्जनौं पटक बटौली आएको अनुभव छ उनीसँग ।
त्यतिबेला आउँदा जाँदा यसरी हप्ता दिन भन्दा बढी भारी बोकेर हिँड्ने व्यक्तिलाई ढाक्रे भनिन्थ्यो । हिँड्नेहरू पनि ढाक्रे जाने भन्थे । गाउँबाट आउँदा घिउ बोकेर ल्याउने फर्किदा नुन, तेल, लत्ताकपडा बोक्ने चलन थियो । सानैदेखि चिटिक्क परेरे हिँड्ने गरेका उनलाई पाल्पाको अर्गेलीमा आउँदा ढाका टोपी लगाएकै कारण श्री ३ राणा सरकारबाट रोकिनु परेको नमिठो अनुभव छ । टिनको घिउमा नाम्लो, त्यही नाम्लो टाउकोमा लगाई नाम्लोलाई चिटिक्कको ढाका टोपीले छोपिएका उनलाई अर्गेलीको दरबारमा रहेका श्री ३ सरकारबाट रोक्न लगाइएको थियो । उनले ढाक्रे बनी बटौली आउँदा जाँदा श्री ३ जुद्दशम्शेर जबरा पाल्पाको अर्गेली दरबारमा रहेको नेपालको इतिहासमा भेटिन्छ ।
सर्वसाधारणले शिर बनाएको टोपी लगाउन नपाउने र उनको टोपीमा शिर भएको कारण राणाबाट रोकावट भएको दलबहादुर थापा बताउँछन् । ‘म घिउको टिन बोकेर अर्गेलीको दरबार अगाडि बाटोमा हिँड्दै थिएँ,’ उनले भने–त्यो शिर भएको ढाका टोपीवालालाई रोक भन्दै अर्डर आयो, म रोकिएँ । त्यसपछि राणाका चौकीदारले कहाँबाट आएको, कहाँ जाने भन्दै उनीबाट टोपीको बारेमा बयान लिए । यो चुच्चो किन राखेको ? निकाल्ने कि ठेडुको बस्ने ?’ उनीहरूले त्यसरी टाठो बोलीमा बोलेपछि आफूले टोपीको चुच्चो भाग (कुडी) उधारेको (फुकाएको) थापा बताउँछन् । थापाका अनुसार टोपीको चुच्चो भाग निकालेपछि जाउ, अबदेखि यस्तो टोपी नलगाउनु भन्दै राणाका चौकीदारले छाडेका थिए ।
थापाका अनुसार काठबाट बनाइएको ठेडुको कसैले बदमासी गरे, कसैलाई सजाय दिनुपरे दुबै खुट्टा छिराइदिइ हल न चल बनाउनका लागि बनाईएको साधन हो ।
बाग्लुङबाट बुटवल आउन चार दिन फर्किदा ६/७ दिन लाग्ने गरेको उनी बताउँछन् । ढाक्रे आउँदा जाँदा रातको समयमा रुखमुनि, खेतको आलीमा त कतै टौवामा बास बसेको थापा सुनाउँछन् । ढाक्रे आउँदा ठाउँ ठाउँमा चोर लाग्ने हँुदा रातभर नसुतेर बिताउने गरेको उनले बताए । मुख्यगरी लौंघा र साचामा बास बस्दा चोर लाग्ने गर्दथ्यो म रातभर गीत गाउँदै, नाँच्दै खुट्टाको घुघुरो बजाएर रात कटाउँथे त्यतिबेलाको ढाक्रेको अनुभव सुनाउँदै थापाले भने । चोरले ढाक्रेको हुललाई हेर्न शुरुमा एक दुई जनालाई पठाउने र लैनो हो, कि बकेर्नो ? भनि सोध्ने अनि बाँसका लठ्ठी सहित आएर लुट्ने गर्थे उनले भने । चोरले पल्टनमा भर्ति भएको लाहुरेलाई लैनो र ढाक्रेलाई बक्रेर्नो भन्ने संकेत गर्थे हाँस्दै दलबहादुरले सुनाए ।
पहाडी भेगमा सडक पुगेको थिएन, हिँडेरै बटौली आउनुपथ्र्यो जसरी दलबहादुर हिँडेर पटक पटक बि.सं. २०२९ सालसम्म बटौली आए । पश्चिम पहाडी जिल्लाबाट धेरै दिन हिँडेर बटौली आउथँे । मध्य पश्चिमसम्म पहाडका पनि किनमेल गर्न आउँथे । पहाडी साहुजीहरू भरिया लिएर सामान लिन बटौली झर्थे । यहाँ पहिले भारतका व्यापारी नुन तथा कपडा बेच्न आउँथे । पहाडका घिउ, मह, सुठो र जडीबुटी बेचेर नुन र कपडा किनेर लैजान्थे । त्यतिबेला बटौली चहल पहलयुक्त व्यापारिक केन्द्र थियो । भारत र बर्मा काम गर्न आउजाउ गर्ने लाहुरे यहीँ बास बस्थे । रातिमा दोहोरी घन्कन्थे ।
भारतीय सीमा बेलहियादेखि बुटवलसम्म १९९० देखि नै गाडी चल्थ्यो । त्यतिबेला दैनिक ४/५ वटा गाडी आउँथे । बयलगाडा लिएर भारतीयहरू तमाखु बेच्न आउँथे ।
पछि हालको अस्पताल लाइनबाट पुलचोकसम्म एक लाइन बारेका झुप्रे घर बनाइए । जुन लाहुरेले खाजा र मदिरा खाने भट्टी थिए । पहाडबाट घिउ बेच्न आएका साहुजीहरूको घिउ किन्ने मुख्य व्यापारी थिए माडबारी । त्यसबेला दिनमा २÷३ ट्रक घिउ वनारस निर्यात हुन्थ्यो । बटौलीमा न अहिले पहाडबाट घिउ आउँछ । न त्यहाँको नुन पहाड जान्छ । न यहाँ चहल पहल नै छ । ढाक्रे बनि हिँडेका ८३ बर्षको उमेरका दलबहादुर थापा बुढो भए झै बटौली बजार पनि बुढो भएको छ । कथा बोकेको बटौलीले बुटवलको चमकदमक बनेको खस्यौली (बुटवल) लाई भनिरहेको छ १६ बर्षे उमेरैमा मै पनि झिल्के हुदो हुँ, अहिले पो बुढो भएर । संघियताको अभ्याससँगै सिंहदरबार गाउँमा ल्याउन कस्सिएका जनप्रतिनिधिले बटौलीलाई फेरि तन्नेरी बनाउलान त ? बटौलीका जनता सोधिरहेछन् ।
तस्वीरमा : ८३ बर्षका दलबहादुर थापा