© २०२३
बुटवल उपमहानगरको वडा नं. ११, देवीनगर ,चौपारी ।
असोजको १९ गते, शुक्रबारको दिन ।
घडिको तीन वटा सुइको संयुक्त यात्राले घडीमा दिनको तीन बज्दै थियो । त्यसरी नै बुटवल क्षेत्रका साहित्यकार महिला हिंसा बिरुद्दको यात्रामा जुट्दै गरेका देखिए । उनीहरूको यात्रा महिला हिंसा बिरुद्दको यात्रामा लाग्ने अभियानका लागि साथ थियो । देशमा शान्ति, सुरक्षाको जिम्मेवारीमा रहेको व्यक्ति र सरकारको कार्यशैली बिरुद्दमा थियो ।
न राजनीति । न दल । न टुक्रे समूह । कार्यक्रमको लागि न प्रायोजक र आयोजक । न ठूलो तामझामको खर्च । एउटै मन बनाई साहित्यकारका कविताहरूले सरकारलाई सच्चिन र नागरिकलाई सचेत हुन भनिरहेका थिए ।
कसैले अति नै ग¥यो भने, कसैले केही गर्न नसक्ने भयो भने, साहित्यिक शब्दमा बाह्र बज्यो, बाह्र बजाइदियो भनिन्छ । यहाँ जम्मा भई कविता सुनाउने साहित्यकारहरूका कविताका शब्दका अर्थले सरकारका लागि बाह्र बजाइदिइरहेको थियो ।
एक कविले एक कविता सुनाउँदै जाँदा घडिको सुई बाह्र अंक नजिक पुगिरहे जस्तो लाग्थ्यो । कविता सँगै तालि बज्थ्यो । सुन्नेहरू कति बेजोड कविता भन्थे । सडकमा हिँडिरहेका रिक्सा रोकिन्थे । मोटरसाइकल रोकिन्थे । कविता सुन्थे अनि ऐ ! यो त कञ्चनपुरको बालिका बलात्कार बिरुद्द गरिएको कार्यक्रम रैछ भन्दै गन्तव्यतिर लाग्थे । सरकारका प्रतिनिधिले सुनेको भए भन्थे होलान् साहित्यकारले कविताबाटै हाम्रो बाह्र बजाइदिए ।
आजभोलि घडीले मात्र होइन मोबाइल, रेडियो, मोटरगाडी, तापमापन यन्त्र लगायतमा जडान गरिएका समय सूचक यन्त्रले पनि कति बजिरहेको छ भन्ने समयको सूचना दिन्छ । त्यस्तै आन्दोलन, बिरोध र सचेतनाका लागि बिबिध तरिका अपनाइरहेको पाइन्छ । साहित्यकारहरू त्यस मध्येको एउटा तरिकाले सडकमा कविता सुनाइरहेका थिए । उनीहरूको एउटै उद्देश्य थियो, बिरोध गरेर सरकार हटाउने होइन, सरकारको शासन गर्ने कार्यशैली बदलिनुपर्छ । अपराधीलाई पक्रनुपर्छ । अपराधीले सजाय पाउनुपर्छ । पीडितले कानूनी तरिकाले न्याय पाउनुपर्छ ।साहित्यमा फरक पहिचान बोकेका पाका पुस्ताका साहित्यकार डा. मुरारी पराजुली कविता बाचनमा भन्दै थिए–‘म ०४६ सालमा पनि सडकमा थिएँ ।
०६२/०६३ सालमा पनि सडकमा थिएँ । अहिले ०७५ सालमा पनि सडकमै छु । पहिले म सडकमा आउनुको उद्देश्य थियो व्यवस्था परिवर्तन हुनुपर्छ भन्ने । अहिले आउनुको उद्देश्य व्यवस्थाको कार्यशैली परिवर्तन हुनुपर्छ भन्ने । उनको प्रश्न थियो, कार्यशैली परिवर्तन नभएको अवस्थामा व्यवस्था परिवर्तन भएर के हुने रहेछ र ? यसरी हामी नागरिकहरू सडकमा बारम्बार आइरहनु पर्छ भने ।’
केही समय अघि सडकमा कविता लिई मौन प्रदर्शनमा उत्रिएका साहित्यकारहरू शुक्रबार भने कविता बाचन गरेर बिरोध जनाएका थिए । अबका दिनमा साहित्यकारहरू सडकमा उत्रिने वातावरण नबनाउने जिम्मा सरकार संचालककै हो । जनतालाई राम्रा, आशालाग्दा योजनाका काम गरेर र न्याय दिएर मात्र यो संभव छ र गर्नुपर्छ न की आफ्ना कार्यकर्तालाई सरकारको बिरोध गर्न हँुदैन भनेर । डा. मुरारीसहित देवीनगर चौपारीमा शुक्रबार जुटेका २४ जना साहित्यकारले कविताबाट पस्केका शब्दको अर्थ यही थियो ।