© २०२३
बुटवल, १९ पुस । बुटवलको औद्योगिक प्रदर्शनीमा आयोजित आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि कालिका मानवज्ञान माविकी विद्यार्थी रुपा रौतारले जितेकी छन् ।
३४ जना प्रतिस्पर्धीहरुमध्येबाट २४ जना हुदै भोटिङ राउण्डमा पुगेका १२ जनाबाट गायकी र दर्शक भोटका आधारमा रौतारले उपाधि जितेकी हुन् ।
रौतार कालिका मानवज्ञान माविमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छात्रा हुन् । यसअघि उनी दीप बोर्डिङ हाइ स्कुल बुटवलबाट एसईई उत्तिर्ण भएकी थिइन् ।
दीप बोर्डिङमा अध्ययनरत हुदै उनले गायनमा आफुलाई अब्बल बनाएकी थिइन् । घरमा करेन्ट लागेर रुपमाले सानै उमेरमा दुबै हात गुमाएकी छन् ।
कपिलवस्तु स्थायी घर भएकी रुपा २०६२ सालको भदौमा स्कुलबाट साथीको घरमा गएका बेला घरको माथिल्लो तल्लामा करेन्ट लागेर दुबै हात गुमाउन पुगेकी थिइन् ।
उनलाई बुटवलको बागेश्वरी संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले निशुल्क गायन कक्षामा भर्ना गरेर सिकाएका थिए ।
सोमबार भएको फाइनल प्रतिस्पर्धामा प्रदर्शनी आइडल सिजन ६ को उपाधी जित्दै रुपाले १ लाख ११ हजार १ सय ११ सहित विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छन् । आइडलको उपविजेता अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन् । उनले ५५ हजार ५ सय ५५ र तेस्रो भएकी एन्जिला क्षेत्री खत्रीले रु. ३३ हजार ३ सय ३३ पुरस्कार प्राप्त गरेकी छन् ।