© २०२३
सल्यानको एक विद्यालयले आफ्नै जमिनमा नौलो प्रविधिको प्रयोगबाट तरकारी खेती गर्दै आएको छ । जिल्लाकै नमुना विद्यालयको रूपमा आफूलाई स्थापित गर्न सफल बागचौर नगरपालिका दुईमा रहेको जनकल्याण माध्यमिक विद्यालय थारमारेमा नयाँ प्रविधिबाट लौकामा काँक्रो तथा तमाखुमा टमाटर फलाइएको छ । विद्यालयका प्रधानाध्यापक पूर्ण भण्डारी पंकजले भने, ‘हामीले आफ्नै ७० रोपनी जमीनमा तरकारी खेती गरिरहेका छौँ ।
तरकारीमा नयाँ खालको प्रविधिलाई भित्राउने प्रयास गरेका हौँ ।’ ग्राफ्टिङ प्रविधिबाट लौकामा काँक्रो, आलुमा टमाटर र तमाखुमा समेत टमाटर फलाएको जनकल्याण मावि थारमारे पछिल्लो समय चर्चामा आएको छ । कक्षा ९ देखि १२ कक्षामा कृषि विषय पढने विद्यार्थीलाई सैद्धान्तिक ज्ञानलाई ब्यवहारिक रूपमा सिप विकास गर्न ७० रोपनी जग्गामा तरकारी खेति हुँदै आएको विद्यालयले जनाएको छ ।
जसका लागि विद्यालयमा एक जना विषयविज्ञ शिक्षक पनि रहेका छन् । प्रशिक्षक तथा विषयविज्ञ लिलामान बस्नेतले जस्तोसुकै वातावरण र हावापानीमा पनि हुर्कन सक्ने तमाखुमा टमाटर फलाउन गरिएको प्रयास सफल भएको बताए ।
यस अलावा उनले विना इनर्जी पाँचसय मिटर तलबाट पानी ल्याएर तरकारीमा सिंचाई गरिरहेको पनि बताए । बस्नेतले भने, ‘हाम्रो विद्यालयको कृषि फर्ममा थोपा सिंचाई प्रविधि पनि अपनाएका छौँ ।’
अदुवा, बेसार, कर्कलो, घुइया, बदाम, खुर्सानी, भन्टा, रामतोरिया, भिन्डी, टमाटर, कोदो, मेवा, पाउलोनिया, करेला, लौका, काँक्रा, अनार, स्याउ लगायतका फलफूल तथा तरकारीका साथै माछा र विभिन्न प्रजातिका फूलहरूको पनि उत्पादन हुने गरेको विद्यालयले जनाएको छ ।
विद्यालयले विद्यार्थीलाई तरकारी खेतिमा सहयोग गर्ने गरी एक जना ज्यालादारी कर्मचारीको ब्यवस्था गरेको छ । ज्यालादारीमा काम गर्ने कर्मचारी अमर बुढाथोकीले तरकारीको रेखदेख गर्नुका साथै दैनिक आय ब्यय समेत राख्ने गरेका छन् । प्रधानाध्यापक भण्डारीले भने, ‘तरकारी बिक्रीबाट मासिक १२ देखि २० हजार रूपैयाँ सम्म विद्यालयलाई आम्दानी भइरहेको छ ।’
तरकारी स्थानीय बजारमा नै बिक्री हुने गरेको उनले जनाए । नमुना विद्यालयको नमुना कृषि फार्म तथा कृषि प्रदर्शनी स्थलको अवलोकनमा जिल्ला बाहिरबाट समेत मानिसहरू आउने गरेको प्रअ भण्डारीले जानकारी दिए । नयाँ प्रविधि अपनाएर तरकारि वा फलफूल खेती गरेमा कम लगानी र कम मिहेनत तथा थोरै जनशक्तिबाट पनि बढि भन्दा बढि उत्पादन तथा लाभ लिन सकिने विद्यालयले जनाएको छ । à