© २०२३
बुटवल,१७ पुस । लुम्बिनी प्रदेशमा नवनिर्वाचित प्रदेश सांसदहरूको शपथ ग्रहण आज हुँदै छ ।
प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङमा नवनिर्मित प्रदेश सभा भवनमा सांसदलाई शपथ ग्रहण गराउन लागिएको हो । यहाँ पहिलो पटक औपचारिक कार्यक्रम गरिँदै छ ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । नवनिर्वाचित सांसदलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनेछन् ।
अन्य प्रदेशहरूमा ज्येष्ठ सांसदले शपथ गराउने भए पनि लुम्बिनीमा प्रदेश प्रमुखले नै सबै सांसदहरूलाई शपथ गराउने कार्यविधि बनाइएको छ । प्रदेश प्रमुखले शपथ ग्रहण गराएपछि सभामुख चयन नहुँदासम्म ज्येष्ठ सांसदले अध्यक्षता गर्नेछन् ।
अहिले निर्वाचित सांसदहरूमध्ये गुल्मीका डिल्लीराज भुसाल सबैभन्दा ज्येष्ठ सांसद हुन् । पहिलो अध्यक्षता उनैले गर्नेछन् । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिकबाट निर्वाचित भएका हुन ।
प्रदेश प्रमुखको कार्यालय स्थानान्तरण भई नसकेको र स्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय निर्माण नभएका कारण प्रदेश सभा भवनबाट शपथ ग्रहण गराउन लागिएको हो ।
४ जनाले मातृभाषामा शपथ लिने
प्रदेश सभा सचिवालयका अनुसार शनिबार रातीसम्म ४ जनाले मातृभाषामा शपथ लिने जानकारी दिएका छन् । जनमत पार्टीबाट निर्वाचित तीन जना मध्ये संसदीय दलका नेता चन्द्र केश सीके गुप्ता, समानुपातिक तर्फबाट निर्वाचित सुमन शर्मा रायमाझी र गीता गुरुङले मातृ भाषामा शपथ ग्रहण गर्ने तयारी गरेका छन् । त्यसै गरी सांसद राजकुमारी चौधरीले थारु भाषामा शपथ लिने जानकारी दिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसैवीच लुम्बिनी प्रदेशसभाको प्रथम अधिवेशन पुस १८ गतेका लागि आव्हान गरिएको छ । दाङमा निर्माण भएको नवनिर्मित भवनमा प्रदेशको पहिलो अधिवेशन बस्न लागेको हो ।
आइतबारको कार्यक्रमका लागि अधिकांश सांसदहरू शनिवार साँझ नै देउखुरी पुगेका छन् । प्रदेश सभाले प्रदेशमा रहेका सबै दलका नेताहरूलाई पनि शपथग्रहण कार्यक्रममा बोलाएको छ ।