© २०२३
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाले सूर्तिजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेर असल अभ्यासको संकेत गरेको छ । सिद्धार्थनगर नगरकार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सुर्तिजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि अहिले यो निर्णयको विषयलाई लिएर विभिन्न प्रतिकृया आईरहेका छन । यसअघि यस्तै प्रकृतिका निर्णय र अभ्यासको प्रयास स्थानीय पालिकाहरुले नगरेका होइनन् तर ती कार्यान्वयनमा आएनन् । निर्णयमै सीमित रहे । अहिले नवनिर्वाचित जनप्रतिनिधिले जुन सकारात्मक प्रयासको थालनी गरेका छन, यसको अनुसरण गर्नैपर्दछ । गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेको नगर कार्यपालिकाको निष्कर्ष छ । रुपन्देहीकै पालिकाहरुले यसअघि प्लाष्टिक झोलामाथि प्रतिवन्ध लगाएका थिए । ती झोला प्रयोगमा लगाएर असल अभ्यासको प्रयास नभएको होइन तर त्यो कार्यान्वयनमै आएन । तसर्थ निर्णय गरिहाल्न सहज छ तर त्यसलाई दिर्घकालीनरुपमै कार्यान्वयनमा लैजान जटिल र ग्राहो विषय हो । सिद्धार्थनगर नगरपालिकाले जुन निर्णय गरेको छ त्यो निर्णयको स्वागत गर्नैपर्दछ । किनकी असल अभ्यासको अनुसरण जसबाट गर्दा पनि हुन्छ । भैरहवाले एउटा सन्देश दिने प्रयास गरेको छ । त्यो प्रयासमा भैरहवावासीले साथ र सहयोग दि एभने यो अभियान निश्चय नै सफल हुने विश्वास गर्न सकिन्छ ।
नेपालमा अशिक्षा, चेतनाको अभाव, गरिवी, अस्वस्थ्यकर जीवनशैली आदीका कारण नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुको संख्या बढ्दो छ तर त्यसको सट्टा नियन्त्रण र सचेतनाको स्तर कम कम हुँदै गएको छ । जसका कारण जोखिम झनै बढ्दै छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा सरुवा रोगभन्दा नसर्ने रोगको जोखिम ६६ प्रतिशत छ । यसको प्रमुख कारण अस्वस्थकर जीवनशैली तथा सहरीकरण हो । नसर्ने रोग निम्त्याउनुमा सुर्तीजन्य पदार्थको ठूलो भूमिका रहेको छ । अर्थात् सुर्ती सेवनले क्यान्सर वनाउने जोखिम बढिरहेको छ । तर पनि नेपालमा सुर्ती सेवन गर्नेहरुको संख्या भने कम होइन बढ्दै गएको छ । अर्को जोखिमको कुरा के हो भने सुर्ती सेवनकर्ता कुनैपनि रोगको भाइरसद्वारा संक्रमित भएमा सामान्य रोगले पनि आक्रान्त पार्ने र त्यस्ता रोगले अत्यन्त जटिल अवस्थामा पु¥याउन सक्छन् । धूवाँ आउने, नआउने जुनसुकै सुर्तीबाट तयार गरिने चुरोट, बिँडी, तम्बाकु, खैनी, गुट्खा, जर्दा वा पानपराग नै सुर्तीजन्य पदार्थ हो । सुर्तीजन्य पदार्थमा कार्वन मोनोक्साइड, निकोटिन, टार, बेन्जोपाइरिन, एमोनियाजस्ता चार हजारभन्दा बढी रासायनिक तत्व रहने गरेको चिकित्सकहरु बताउँछन । त्यसैगरी सुर्ती सेवनले ४० जति क्यान्सर बेन्जोपाइरिन लगायतका क्यान्सरजन्य रोग उत्पन्न गर्ने गरेको छ । बर्सेनि सुर्तीजन्य पदार्थ सेवनकै कारण करिब आठ लाखजनाको मृत्यु हुन्छ । तीमध्ये सात लाखभन्दा बढीको प्रत्यक्ष सुर्ती सेवनबाट र एक लाखजति अप्रत्यक्ष सेवनका कारणले मृत्यु हुन्छ । नेपालकै कुरा गर्दा नेपालका २७ हजार जनाभन्दा बढी व्यक्तिको प्रत्येक वर्ष सुर्तीजन्य पदार्थ सेवनकै कारणले मृत्यु हुने गरेको छ ।
सिद्धार्थनगर नगरपालिकाले जुन प्रयास अघि बढाएको छ त्यसको सफलतामै भैरहवावासीको स्वास्थ्य सुनिश्चित छ । भैरहवापनि सुर्तिजन्य पदार्थ सेवन र प्रयोगका हिसावमा अघि देखिएको छ । तसर्थ यसको नियन्त्रणको अभियानमा भैरहवाका जनताको भविष्यपनि जोडिएको छ । सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई पाँच हजारका दरले जरिवानाले लिइने निर्णय पनि गरिएको छ । यसले सेवनमा मात्र होइन विक्रीमा समेत नियन्त्रणको प्रयास गरिएको छ जुन सकारात्मक हो । नगर कार्यपालिकाको बैठकले भैरहवाकै जनताको हितमा यो निर्णय गरेको छ । तसर्थ यो निर्णय सत प्रतिशत कार्यान्वयनमा जनताको साथ हुनुपर्दछ ।