© २०२३
नेपाल महिला संघ सल्यानले हत्याराको संरक्षणमा सिंगो राज्य नै लागेको भन्दै विरोध गरेको छ । साथै उसले जिल्ला प्रशासन मार्फत बलात्कारपछि हत्या गर्ने अपराधिलाइ पत्ता लगाइ कडा कारवाहिको माग गर्दै प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पनि बुझाएको छ । करिब दुई महिना अघि बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालीका निर्मला पन्तको हत्या बारेमा देशभर लगायत सल्यानमा पनि बिरोध प्रदर्शन गरिएको हो । नेपाल महिला संघको नेतृत्वमा सदरमुकाम खलंगामा आइतबार बिरोध प्रदर्शन गरिएको हो । यस्तै नेपाल महिला संघ सल्यानकी अध्यक्ष सुभद्रा बस्नेत र केन्द्रीय सदस्य पदमा शाहको नेतृत्व तथा महिला सदस्यहरुको उपस्थीतीमा प्रमुख जिल्ला अधिकारी कमल राज ढकाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको हो । निर्मलाको हत्यारा पत्ता लगाउनुको साटो हत्यारालाई बचाउने अभियानमा सिंगो राज्य नै लागेको र एउटा देशको सरकार नै अपराधीको संरक्षणमा जुटेपछि नागरीकले न्याय पाउन नसक्ने अवस्था रहेको ज्ञापनपत्रमा भनिएको छ ।
दुई तिहाईको आडमा बनेको सरकारले कालो बजारी तथा भ्रष्टहरुको साथमा मिलेर नाटक मन्चन गरिरहेको र ५ महिनाको अबधीमा पेट्रोलीय पर्दाथको मुल्य बढाएको, दैनिक उपभोग्य बस्तुहरुको मुल्य बढाएर गरिब निमुखा जनताको ढाड सेक्ने कार्य गरिरहेकोे ज्ञापनपत्रमा भनिएको छ । सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कारबाही गरोस् र देशभरी आतंक मच्चाई रहेको मुल्य बृद्धि लाई तत्काल रोक्न नेपाल महिला संघले माग गरेको छ ।