© २०२३
सामाजिक दिवसको अवसरमा देवदहका पूर्व पश्चिम लोकमार्गमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाको आयोजना एवं बिद्यालयका जुनियर रेडक्रस सर्कल, आमा समूह, टोल विकास संस्था लगायतको सहभागितामा उक्त कार्यक्रममा सम्पन्न भएको हो । सरसफाई कार्यक्रममा देवदहको कचरार नदीदेखि भलुही गौशालासम्म र दक्षिणको ६ नंं. चोकसम्म सरसफाई गरिएको हो ।
कार्यक्रममा देवदहका सामुदायिक तथा संस्थागत बिद्यालयका जुनियर रेडक्रस सर्कलका बिद्यार्थीहरूले व्यानर सहित एकताबद्ध रूपमा हाईवेको वरिपरि सरसफाई गरेका थिए । सरसफाई अभियानलाई साथ दिँदै देवदहकै बिभिन्न आमा समूह, टोल विकास संस्थाहरूले पनि साथ दिएका थिए । सामाजिक दिवसकै अवसर पारेर मायादेवी अनाथ आश्रम देवदहमा अनाथ बालवालिकाहरूलाई मिठाई, फलफुल तथा जुस वितरण कार्यक्रम पनि सम्पन्न भएको छ । रोटरी क्लब अफ देवदहको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा, उज्यालो लाल्टिन प्रतिष्ठानको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका सभापति कृष्णप्रसाद न्यौपाने सामाजिक सेवा गर्ने क्रममा च्याउ उम्रे जस्ता संस्थाहरूले स्वार्थको लागि मात्र कार्य गर्ने गरेको बताए । उनले सामाजिक सेवा गर्नको निरन्तर सेवा भावको भावना जागृत गराई अग्रसर भएमात्र सामाजिक कार्य गरेको ठहर हुने बताए । साथै उनले देखाउनको सामाजिक कार्यमा नलाग्न सबैलाई आग्रह समेत गरे । कार्यक्रम रोटरी क्लब अफ देवदहका चार्टर प्रेसिडेन्ट जयकिशन अधिकारी, उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष मुकेश ज्ञवाली, रोटरी क्लब अफ देवदहका चार्टर सेक्रेटरी गणेश डुम्रे लगायतले बोलेका थिए ।