© २०२३
विश्वका १८७ देशमा मनाईने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानले २६ औ वसन्त पार गर्दै छ । अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई लिङ्गका आधारमा हुने हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । यो बर्ष “सभ्य समाजको पहिचान ः लैंगिक हिंसा विरुद्धको अभियान” भन्ने नाराका साथ विभिन्न संघ संस्था, सरकारी निकायले आ–आफ्नै रफ्तारमा १६ दिने अभियान मनाईरहेका छन् ।
एकातिर अभियान निरन्तर चलिरहेका छन् भने अर्कातिर धमाधम हिंसाका घटना दिन रात नभनी बढेका छन्् । आइतबार मात्र विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीस्थित केटाको घरमा अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरिन् । मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको प्लास्टिकमा बोकेर प्रहरीकोमा पुगे । सुनसरीको धरान उपमहानगरपालिका–१३ मा एक समूहको कुटपिटबाट गम्भीर घाइते उषा राइको मङ्सिर १३ गते उपचारकै क्रममा मृत्यु भयो ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७, पिप्रहवा स्थित आफ्नै घरमा मृत फेला परेकी अफसरुला खाँलाई कुटपिट गरी मारिएको र सो पश्चात झुण्डाइएको अधिकारकर्मी दाबी गरिरहेका छन् । यस्तै बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली भारत भाग्नै लाग्दा समातिएका छन् । शिवनाथ गाउँपालिका–४ का २२ वर्षीय कोली आइतबार बिहान महेन्द्रनगरस्थित बसपार्कबाट पक्राउ परेका हुन् । मायाको बुधबार शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । उनकी १५ वर्षीया भदै नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर घाइते अवस्थामा भेटिएकी थिइन् ।
काठमाडौं चन्द्रागिरी–२ चिसापानी घर भएकी दीपा पराजुली थापा मंसिर १९ गते घर नजिकै जंगलमा नेलको रुखमा झुण्डिएको अवस्थामा उनको शव भेटियो । बैशाख अन्तिममा चिसापानी घर भएका ३० बर्षीय सुन्दर थापा संग बिहे भएको थियो । विहे भएको ७ महिनामै ज्यान गुमाएकी मायाको माईती पक्षले पैसाका लागि सुन्दरले मानसिक तनाव दिएर छोरीको हत्या गरेको दावी गरेका छन् । यी त केवल प्रतिनिधि घटनाका स्वरुप मात्र हुन् । यस्ता घटनाका फेहरिस्त लगाउने हो भने धेरै घटना उल्लेख हुने छन् । हिंसा विरुद्धको अभिययानकै क्रममा यस्ता जघन्य घटना सार्वजनिक भईरहँदा घरेलु हिंसा जो आफ्नो लोकलाज र इज्जत नरहने मनासायले घटना सहेरै बस्ने नेपाली महिलाको संख्या निकै बढ्दो छ । जसको परिणाम कालान्तरमा यस्तै जघन्य अपराधमा परिणत हुनेमा कुनै दुई मत देखिन्न ।
यस्ता घटना नहुन भन्नका लागि सरोकारवलाहरु आ–आफ्नो तवरबाट जागरण अभियान चलाईरहेकै छन् । जागरण अभियान अन्तर्गत वि.सं. २०५४ सालदेखि नेपालमा १६ दिनसम्म अभियानका रुपमा कार्यक्रम गर्दै यो हिंसा विरुद्ध अभियान निरन्तर चलिरहेको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात महिलाविरुद्धको हिंसा अन्त्यका लागि सन १९९१ मा सेन्टर फर ओमन्स ग्लोवल लिडर सीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्र्मी समूहले गरेको थियो ।
त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ । यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदीबहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन तानाशाही सरकारले सन १९६० नोभेम्बर २५ मा गरेको हत्यासंग जोडिएको छ । त्यसैले यसलाई ल्याटिन अमेरीकी देशमा महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । पछि, सन १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी नोभेम्बर २५ को दिनलाई संसारभर नै महिलाविरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरियो । अभियानको बीचमा अन्तर्राष्ट्रिय महिला मानव अधिकार रक्षक दिवस, विश्व एड्स दिवस, अन्तर्राष्ट्रिय दासता मोचन दिवस, अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस पर्छन् । डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवस मनाउनुपर्ने समेत आवाजहरु बाहिर प्रखर रुपमा उठिरहेका छन् । यो १६ दिने अभियानमा लैंगिक हिंसा विरुद्ध आवाज उठाउने त्यस्ता साहसी महिलाहरुलई सम्मान गर्ने, उनीहरुको हिंसा विरुद्धको प्रतिरोधलाई ऐक्यवद्धता जनाउने उत्सवका रुपमा लिने थलोको रुपमा समेत विकसित भएको छ । पहिले पहिले लैंगिक हिंसाका कुरा महिलाहरुले मात्र उठाउँथे । तर, पछिल्लो समयमा लैंगिक हिंसा विरुद्ध पुरुषहरुले पनि सहभागिता जनाउन थालेका छन् । यो सवल पक्ष हो । किनकी लैंगिक हिंसा भनेको लिंगका आधारमा महिला, पुरुष र लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारण हुने हिंसा हो ।
लैंगिक हिंसाबाट धेरै महिला पीडित छन् । तर, महिला मात्र होइन यसले पुरुषसँगै समाजलाई नै पीडित बनाउने क्रम बढेको छ । विकासको गति रोकिदिएको छ । यसैले व्यक्ति, समाज र देशको समृद्धिका लागि मानव चेतनाको स्तर उन्नती गराउँदै हिंसामुक्त समाजको परिकल्पना गर्नुपर्छ । त्यसका लागि लैंगिक हिंसा हुने लैंगिक असमानता, विभेद र असमानयुक्त प्रथा र संस्कार फेर्नुपर्छ । महिलालाई दोस्रो दर्जाको नागरिक मान्ने र पुरुषले आफ्नो कब्जामा राख्ने परम्परा तोड्नुपर्छ । महिलालाई छोरी, बुहारी, श्रीमती, आमा जे सुकै भएपनि स्वतन्त्र बांच्ने र जीवन जिउने अवसर दिनुपर्छ । जुन आजको आवश्यकता हो । मानव चेतना विनाको भौतिक विकासले समाज समृद्ध हुन सक्दैन । त्यसैले सरकारी तवरबाट पनि लक्षित वर्गसम्म मानवीय चेतनाको विकास गर्ने बजेट छुट्याउनुपर्छ । जहाँ अबको गन्तव्य भनेको लैंगिक हिंसा मुक्त समाज निर्माण गर्नुपर्छ । जुनसुकै लिंगी जन्मिएपनि उसले विभेद महसुस गर्नु नपर्ने बनाउनु पर्छ । यसका लागि विभेदकारी नीति र संस्कार परिवर्तनका लागि सबै नागरिक एक भएर अगाडि बढ्नुको विकल्प छैन ।