© २०२३
इन्डियन आयल कर्पाेरेसन (आईओसी) ले डिसेम्बर १ अर्थात बुधबार पठाएको नयाँ मूल्य अनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । डिजेलमा प्रतिटिलर ११ रुपियाँ, पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रुपियाँ मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको बताइएको छ । पछिल्लोसमय विश्वमा लगातार तेलको मूल्यमा गिरावट आईरहेको छ । जस अनुसार पहिले मूल्य बढाएका देशहरुले समेत अहिले इन्धनको मूल्यमा भारी कमी गरेका छन । विश्वमै इन्धनको मूल्य घटिरहँदा नेपालमा भने नेपाल आयल निगमले मूल्य घटाउने कुनै सुरसार गरेको छैन । कामचलाउ हैसियतको सरकारले त्यसप्रति कुनै चासो दिएको छैन । उता निगम मानौं अहिले नाफा ओकलिरहेको छ र आम उपभोक्तालाई राहत दिने सवालमा अनेक बहानाबाजी गरेर बरु बढाउने तर घटाउनेतर्फ प्रयास नै गर्दैन । अहिले निगमलाई मूल्य घटेर आएकाले पेट्रोल प्रतिलिटरमा १३ रुपियाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा रहेको छ । यस्तै हवाई इन्धन आन्तरिकमा ४२ रुपियाँ र मट्टीतेल प्रतिलिटरमा ३५ रुपियाँ नाफा गरेको निगमले जनाएको छ । मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ । नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपियाँ नाफा हुने अनुमान गरिएको छ ।
नेपाल आयल निगम जहिलेपनि आम उपभोक्ताप्रति अनुदार देखिदै आएको छ । यो अवस्था अहिलेमात्र होइन निगमको नेतृत्वमा पुगेकाहरु आफूलाई सर्वेसर्वा ठान्छन । उनीहरुलाई आम उपभोक्ताप्रति परिरहेको मूल्यबृद्धिको भारप्रति कुनै चासो र चिन्ता हुँदैन । निगमलाई दुहुनो गाई बनाएको कुरा आजमात्र होइन इतिहासका करतुतहरुले पर्दाफास गरिरहेका छन । निगमले विज्ञप्ती नै जारी गरेर भन्छ– इन्धनको मूल्य घटेर आएपनि तत्काल बजारमा मूल्य घटाउँदैनौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भए अनुसारै मूल्य समायोजन गर्ने भनिएपनि निगमले त्यसो गर्दैन, उल्टै घाटामात्रै छ भनिरहन्छ । सरकार पनि नेपाली जनतामथि परिरहेको मूल्यबृद्धिको भारप्रति मानौं बेखबर छ । सरकार अहिले कामचलाउ भएको छ । छिटै नयाँ सरकार बन्दैछ । यस परिस्थितिमा कम्तीमा जनताको सहानुभूति पाउन पनि सरकारले जनतालाई राहत दिनेगरी मूल्य समायोजन गर्नुपथ्र्यो । तर, शेरवहादुर देउबा नेतृत्वको केयरटेकर सरकार फेरी सत्ता निरन्तरताको रागमा तल्लिन रहँदा जनताको राहतको कुरा उसका लागि गौण वनिरहेको छ । बिभागीय बाणिज्य मन्त्री निर्वाचनमा जितको खुसी मनाउँदैछन । जनताको मुद्दा उनका लागि प्राथमिकतामा परेको छैन । पेट्रोलियम पदार्थको भाउ निर्धारण सम्वन्धि उच्चस्तरीय आयोगले पेट्रोलियम पदार्थको भाउ अन्तर्राष्ट्रिय बजारमा बढ्दा बढाउने र घट्दा घटाउने गरी सरकारलाई पेस गरेको प्रतिवेदन मन्त्रालयको कुन कुनामा छ । त्यो पढ्ने फुर्सद पनि छैन । यसवीचमा निगमको सदाबहार एउटै भनाई छ– सधैं घाटा । खास घाटामा त उपभोक्ता छन् किनभने पेट्रोलियम पदार्थमा सरकारले अचाक्ली कर थोपरेको छ । निगम नाफामा गएपनि पहिलेको घाटा पूर्ति गर्न अहिले मूल्य घटाउन सकिदैन भन्छ । निगमको यो जवाफले जनतामा वितृष्णा नै पैदा गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भए अनुसार मूल्य समायोजन गर्ने भनिएपनि निगमले त्यसो गर्दैन, उल्टै घाटामात्रै छ भनिरहन्छ । अव कामचलाउ सरकारले भारतबाट घटेर आएको मूल्य अनुसार नेपालमा भाउ घटाएर जनताको सहानभूति पाउने यो महत्वपूर्ण अवसर नगुमाओस् । सत्ताको बागडोर छाड्दै गर्दा कम्तीमा पनि नेपाली जनताले सम्झन लायक मूल्य घटाउने काम तत्काल गरोस् ।